१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

शिक्षकलाई तलब खुवाउन ओखर खेती

जुम्लाको गुठीचौरस्थित शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयपरिसरमा रोपिएका ओखरका बिरुवा। तस्बिर : नागरिक

‘मेरो एउटै सपना छ, विद्यालय राम्रो बनाउने, गुणस्तरीय शिक्षा प्रदान गर्ने। जसका लागि मैले आफ्नो जीवनलाई विद्यालयको भविष्य निर्माणमा समर्पित गरिसकेको छु,’ शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालय, गुठीचौर, जुम्लाका प्रधानाध्यापक तिलबहादुर भण्डारीको भनाइ हो यो।

उनले यहाँका बालबालिकाको शिक्षा अवस्थाले अहिले पनि आफूलाई बस्न नदिएको प्रधानाध्यापक भण्डारी बताउँछन्। शंकर माध्यमिक विद्यालयमा मावि दरबन्दीमा उनी एक मात्र शिक्षक र आफैं प्रधानाध्यापक हुन्।  

कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा तीन सय ३० विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीको संख्याअनुसार शिक्षकको दरबन्दी नहुँदा पढाइ व्यवस्थापनमा ठुलो चुनौती देखिएको उनले बताए। उनका अनुसार १० वटा दरबन्दी कोटा खाली छ।

प्राविमा चारवटा दरबन्दीका शिक्षक छन्। निमावि र माविमा पाँच पाँच दरबन्दी शिक्षक हुनुपर्ने हो, पूरै रिक्त छन्। उनले भने, ‘शिक्षक दरबन्दी छैन भनेर विद्यार्थीको भविष्यमाथि लापरबाही गर्नुभएन। विद्यालयकै पहलमा दशजना निजी शिक्षक राखेर विद्यालय सञ्चालन गरेका छौं।

तलब बेलैमा पाउन नसक्दा निजी शिक्षकको पीडा पनि त्यस्तै छ।’ विद्यालयलाई आर्थिक हिसाबले हम्मेहम्मे छ। अब निजी शिक्षकलाई कहाँबाट तलब खुवाउने हो भन्ने चिन्ताले पिरोलिरहेको छ। अहिलेसम्म जेनतेन तलब खुवाइएको छ,’ उनले भने, ‘यो समस्या बर्सेनि बल्झिरहन्छ।’

नेपालको संविधान २०७२ को मौलिक हकले निःशुल्क शिक्षा, स्वास्थ्यको व्यवस्था गरे पनि तीनै तहका सरकारबाट त्यसको कार्यान्वयन हुन नसक्दा अभिभावक, बालबालिका र शिक्षक सबैले समस्या बेहोर्नुपरेको उनले टिपप्णी गरे। विद्यार्थीको पढाइलाई प्रभावित हुन नदिन शंकर माध्यमिक विद्यालयले ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमबाट ओखरका विरुवा रोपेको छ।

जिल्ला कृषि विकास कार्यालय, जुम्लाले ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमबाट आठ लाख रकम सहयोग भएको हो,’ प्रधानाध्यापक तिलबहादुरले भने, ‘२५० वटा दाँते ओखरका विरुवा रोपिएका छन्। उक्त ओखरले विद्यालयको आयस्रोत बढ्ने र आर्थिक रूपमा बलियो हुने अपेक्षा छ।’ विरुवाले दुई वर्षभित्र फल दिने कृषि विज्ञहरू बताउँछन्।

विद्यार्थीको चाप बढेपछि दशजना निजी शिक्षक राखिएको र उनीहरूको तलबको आर्थिक स्रोत नभएपछि विकल्पका रूपमा ओखर खेती सुरु गरिएको विद्यालयले जनाएको छ। निजी शिक्षकको तलबका लागि दीर्घकालीन स्रोत नभएकाले विद्यालयको नाममा रहेको करिब नौ सय वर्गमिटर जमिनमा ओखर बगैंचा निर्माण गर्ने योजना लिइएको प्रअ भण्डारीले बताए।

‘बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न हामीले ओखर बगैंचा निर्माणको तयारी गर्दैछौं, जुन आर्थिक आम्दानीको दीर्घकालीन स्रोत बनेर शिक्षकलाई तलब खुवाउन सहज हुनेछ,’ उनले भने। यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बुढाका अनुसार विद्यालय चलाउनका लागि ओखर खेती गरेर नयाँ प्रयोग र सन्देश दिन खोजिएको बताए।

उनले पछिल्ला दिनमा विद्यालय सञ्चालन गर्न बाह्य सहयोग लिनु नपर्ने दाबीसमेत गरे। विरुवा जोगाउन घेराबार गरेको छ। एक जना चौकीदार राखिएको छ भने रेखदेख र सिँचाइ गर्ने दुईजना कर्मचारीको व्यवस्थापन गरिएको छ। विद्यालय २०२४ सालमा स्थापना भएको हो।

यस्तो कार्य गर्ने यो जुम्लाकै पहिलो विद्यालय बनेको छ। अझैसम्म ग्रामीण क्षेत्रमा सञ्चालित सरकारी तथा सामुदायिक विद्यालयको शिक्षक दरबन्दी अभाव गुणस्तरीय शिक्षा प्राप्तिको ठुलो बाधक बनेको शिक्षकहरू बताउँछन्। आर्थिक रूपले विपन्न, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले पछाडि परेका अभिभावकका बालबालिका सामुदायिक विद्यालयमा पढ्छन्।

शिक्षा मन्त्रालयले ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ जारी गरेर ‘एक विद्यालय एक बगैंचा’ कार्यक्रम अघि सारेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नीतिअनुरूप मन्त्रालयले हरित विद्यालय कार्यक्रम घोषणा गरेको हो। प्रत्येक सामुदायिक र निजी विद्यालयले बगैंचा निर्माण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

प्रकाशित: १५ चैत्र २०८० ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App