१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

विद्यालय हातामा दलीय गतिविधि रोक्दै सिरिजंगा

ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पालिकाका विद्यालय हाताभित्र तथा विद्यालयको सम्पत्ति प्रयोग गरी कुनै पनि राजनीतिक दल तथा दलसँग सम्बन्धित संगठन निर्माण गर्न रोक लगाएको छ।

यस्तै पालिकाभित्रका विद्यालय हातामा तथा विद्यालयको सम्पत्ति प्रयोग गरी कुनै पनि राजनीतिक दलगत आमसभा, गोष्ठी, अभिमुखीकरण, सम्मेलन तथा जुलुस गर्ने, विद्यालयपरिसरमा कुनै पनि राजनीतिक दलको नारा तथा प्रचार सामग्री लेखेर टाँस्नेसहितका कार्य गर्न रोक लगाएको पालिकाले जनाएको छ।

पालिका अध्यक्ष लालकृष्ण चौहान, प्रमुख प्रशासकीय अधिकृत मधुर नेपाली तथा शिक्षा शाखाका विनोद सिटौलाद्वारा जारी सूचनामा यस्ता गतिविधि नगर्न–नगराउन सम्बन्धित सरोकारवाला सबैलाई आग्रह गरिएको छ।

विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ लाई पूर्ण रूपमा कार्यान्वयन गर्ने सम्बन्धमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत प्रस्ट व्यवस्था गरिएको गाउँपालिकाले बताएको छ।

सोहीअनुसार गाउँ शिक्षा समितिको गत पुस १० मा बसेको बैठकको निर्णयअनुसार विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ मा भएको व्यवस्थाअनुरूपका कार्य नगर्न–नगराउन अनुरोध गरिएको छ।

कुनै पनि समूहद्वारा विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिलाई प्रभाव पार्ने गरी हातहतियार देखाउने, त्रास फैलाउने, कुटपिट, विद्यालय बन्द, बल प्रयोग, धम्की र जबर्जस्ती चन्दा आतंक आदि कार्य गर्नसमेत रोक लगाइएको पालिकाले जनाएको छ।

प्रकाशित: २५ पुस २०८० ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App