१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

त्रिवि उपकुलपतिका लागि दौडधुप सुरु

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएसँगै नयाँ नियुक्तिका लागि राजनीतिक जोडघटाउ सुरु भएको छ। यही कात्तिक १६ गते उपकुलपति धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यकाल सकिसँगै नयाँ उपकुलपतिको दौडधुप सुरु भएको हो। विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री रहने व्यवस्था छ।

चार दलीय गठबन्धन सरकारले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)लाई उपकुलपति दिने प्रवल सम्भावना रहेको त्रिविमा चर्चा छ। यसको एउटै आधार यसअघि त्रिवि सेवा आयोगको अध्यक्षमा भएको नियुक्ति रहेको नेकपा एसनिकट एकीकृत प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष गोविन्द सुवेदीले बताए।

त्रिविका पूर्वप्रिन्सिपलसमेत रहेका उनका अनुसार सेवा आयोगको अध्यक्षमा गठन गरेको छनोट समितिले प्राध्यापक विजय सिलवालको नाम सिफारिस गरेको थियो तर कांग्रेसले उपकुलपति नेकपा एसलाई दिने सहमति दिएपछि नेकपा एसले आयोगको अध्यक्ष पद त्यागेको थियो।

‘राजनीतिक भागबन्डा नमिलेरै सेवा आयोगको अध्यक्ष एक वर्षभन्दा बढी रिक्त रहेको थियो। गठबन्धन सरकारका शिक्षामन्त्री एवं सहकुलपति अशोककुमार राईले नेकपा एसका प्राध्यापक विजय सिलवालको नाम सिफारिस गर्नुभएको थियो,’ अध्यक्ष सुवेदीले भने, ‘तर कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल तथा हाम्रो पार्टी अध्यक्षबीच त्रिविको उपकुलपति पद हाम्रो पार्टीलाई दिने सहमतिपछि हामीले सेवा आयोग छाड्यौं। हाल चार दलको गठबन्धन छ र त्रिविमा चारवटै पद रिक्त हँुदैछ। सबै दललाई मिलाएर लाने सहमति भइरहेको छ।’

हाल सरकारमा नेकपा माओवादी, नेपाली काग्रेस, नेकपा एस र लोकतान्त्रिक समाजवादीको गठबन्धन छ। त्रिविमा मंसिर ५ गते सेवा आयोग सदस्य पद रिक्त हुँदैछ। पुस १० गते रजिष्ट्रार, चैत्रमा रेक्टर रिक्त हुँदैछ।

‘हाम्रो पार्टीको दाबी र अडान नै उपकुलपतिका लागि हो,’ अध्यक्ष सुवेदीले दलबीच भएको सहमतिबारे बताए, ‘हामीले उपकुलतिमा विशुद्ध प्राज्ञिक र योग्यता र दक्षता हासिल गरेकै प्राध्यापक सिफारिस गर्ने तयारीमा जुटेका छौं।’

रिक्त हुने अन्य पदमा बाँकी गठबन्धनका दलले सहमति जुटाउने उनको भनाइ छ। अन्य पदमा हाल दलगत भागबन्डा मिलाउनकै लागि ‘उपकुलपति सिफारिस’ समितिसमेत गठन हुन सकेको छैन। यति संवेदनशील पदका लागि उतिच कदम नउठाउनुले राजनीतिक नेतृत्वले उच्च शिक्षालाई प्राथमिकतामा नराखेको टिप्यणी प्राध्यापक तथा पूर्वउपकुलपतिको रहेको छ।

निवर्तमान उपकुलपति धर्मकान्त बाँस्कोटाले आफ्नो पदावधि सकिन तीन महिनाअघि नै कुलपति एवं प्रधानमन्त्री दाहाल र सहकुलपति तथा शिक्षामन्त्री अशोककुमार राईलाई नियुक्ति प्रक्रिया अगाडि बढाउन लिखित जानकारी गराए पनि बेवास्ता गरेकोमा आक्रोश पोखे।

‘विश्वविद्यालयलाई बुझ्न महिनौं दिन लाग्ने भएका साउनमै कुलपति र सहकुलपतिलाई साउन १६ गते नै मेरो कार्यकाल कात्तिक १६ गते सकिने लिखित जानकारी गराएको हुँ,’ बाँस्कोटाले भने, ‘तर राजनीतिक दलकै कुलपति र सहकुलपति भएकाले उहाँहरूले भागबन्डा मिलाउन लाग्दा विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक गुणस्तरतिर ध्यानै दिनु भएन।’

निमित्त उपकुलपतिमा भुसाल

यसैबीच, त्रिविका कुललपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक १७ गतेबाट लागु हुनेगरी शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसाललाई तीन महिनाका निम्ति उपकुलपतिको जिम्मेवारी दिएका छन्। उनले अर्को पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्ने अधिकार पाउनेछन्।

प्रकाशित: २० कार्तिक २०८० ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App