प्रविधिको विकाससँगै यसका अप्ठ्यारा पक्ष सँगै आउँछन्। भनिन्छ– नयाँ जुत्ता लगाउँदा दुख्छ। एकातिर, नयाँ प्रविधि आएपछि त्यससँगै तादात्म्य राख्न आफूलाई तत्पर गराउनुपर्ने हुन्छ। अर्कातिर, यस्तो प्रविधिले खराब काम गर्नेहरूलाई थप हौस्याउँछ। केही समयका निम्ति यसको दुरूपयोग गरी फाइदा उठाउँछन्। सूचना प्रविधिको विकाससँगै यसलाई ठगी र धोकाका निम्ति प्रयोग भइरहेको छ। यसको दुरूपयोग गरेर कैयन्लाई अप्ठ्यारोमा पार्ने काम पनि भएको छ। हामीकहाँ पनि केही वर्षयता प्रविधि दुरूपयोग गरी ठगी गर्ने प्रवृत्ति बढ्दो छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतकै नाममा पनि ठगी गर्नेहरू तत्पर भएपछि यसको गाम्भीर्य बुझ्नु जरुरी भएको छ। उनका नाममा खोलिएको एक्स अकाउन्टबाट समेत सर्वसाधारणलाई ठगी गर्न लागिएको जानकारी सर्वोच्च अदालत स्वयंले दिएको छ। प्रधानन्यायाधीशको तस्बिर आदि प्रयोग गरी आधिकारिकजस्तो बनाएर नेपालमा गैरकानुनी रहेको क्रिप्टो मुद्रा कारोबारका निम्ति प्रविधिको दुरूपयोग गर्न खोजिएको यसबाट देखिएको छ। यो अवस्थालाई बुझेर सर्वोच्चले सर्वसाधारणलाई नझुक्किन आग्रह गरेको छ।
प्रविधिको तीव्र गतिमा विकास भइरहेको छ। सन् २००० यता पछिल्ला केही वर्षमा यसले अपत्यारिलो ढंगले विकास गरेको छ। यस क्षेत्रमा झन्झन् अनुसन्धान र खोज भइरहेका छन्। अझ भोलि ‘क्वान्टम कम्प्युटिङ’सम्म पुग्दा मानिस कति आत्तिने अवस्था आउने हो। सूचना प्रविधिको विकासका कारण आज प्रत्येक व्यक्तिलाई विश्व सञ्जालमा जोडिन सहज भएको छ। संसारको कुनै कुनामा भएको व्यक्तिले अर्को ठाउँमा रहेका व्यक्तिसँग संवाद गर्न मात्र होइन, काम र अन्य व्यवहार गर्न सक्ने गरी विकास भइरहेको छ।
कुनै एउटा ठाउँमा भएका विकासले संसारलाई प्रभाव पार्छ। विश्वव्यापीकरणको योभन्दा अनुपम उदाहरण अरू के हुन सक्छ?
प्रविधिले हामीलाई सकारात्मक कार्यका निम्ति जति सहज तुल्याउँछ, त्यति नै नकारात्मकताका निम्ति पनि प्रेरित गर्छ। सधैं उज्यालो मात्रै हुँदैन, अँध्यारो पनि त्यसैसँग जोडिएर आउँछ। आजको दिनमा प्रत्येक व्यक्तिको लोकतन्त्रीकरणका निम्ति योगदान गरिरहेको सामाजिक सञ्जालकै दुरूपयोगको कुरा गर्ने हो पनि यो पुष्टि हुन्छ। कुनै बेला ‘भिडको विवेक’का रूपमा लिइने यी माध्यम आज सीमित रूपमा प्रयोग गर्नुपर्ने अवस्था आइसकेको छ। सामाजिक सञ्जालमा रहेको ‘विषाक्त’ स्थितिबाट आफूलाई जोगाउन ‘स्क्रिन टाइम’ घटाउनुपर्ने सुझावसमेत विशेषज्ञले दिइरहेका छन्।
सामाजिक सञ्जालले मानसिक समस्या बढाउने अध्ययनहरूले देखाएका छन्। यसले व्यक्तिमा चिन्ता र अवसाद बढाउने तथा आत्मविश्वास घटाउन सक्छ। यसले व्यक्तिलाई अरूसँग तुलना गर्ने अवस्थामा पु¥याउँछ। अरूलाई चिढ्याउनकै निम्ति पनि सामाजिक सञ्जालमा सामग्री राख्ने गरेको पनि देखिन्छ। अरूलाई अनलाइनमा एकदम राम्रो अवस्थामा देखिन्छ। त्यसले मानिसमा आफू कमजोर भएको ठान्ने अवस्था आउँछ। त्यति मात्र होइन ‘साइबर बुलिङ’को सिकार बन्ने अवस्था आउँछ। यसकारण अनलाइनमा रहनु भनेको आफूलाई ‘स्मार्ट’ बनाउनु पनि हो। त्यसैले कस्ता सामग्री अनलाइनमा राख्ने र आफूलाई अनलाइनमा कसरी सुरक्षित तुल्याउने भन्ने पनि ध्यान पुग्नु आवश्यक छ।
सामाजिक सञ्जालको प्रयोग व्यापार व्यवसाय बढाउनदेखि संवाद गर्नसमेत सजिलो भएको छ। तर, यसलाई दुरूपयोग गर्नेहरू उत्तिकै सक्रिय छन्। त्यसकारण यसबाट सर्वसाधारणलाई बचाउनु अहिले ठुलो चुनौती बन्न पुगेको छ। अनलाइनलाई सदुपयोग गर्न नजान्दा कुसूचनाको सिकार हुनसक्ने खतरा पनि उत्तिकै छ। नक्कली घटना र व्यक्तिलाई समेत सक्कलीकै रूपमा प्रस्तुत गर्न सकिने गरी प्रविधिको विकास भएको छ। यो ‘डिप फेक’को जमाना पनि हो। भर्खरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काठमाडौंका मेयर बालेन (बालेन्द्र) साहको प्रशंसा गरेको भन्ने श्रव्यदृश्य सामग्री सार्वजनिक भएको छ। यस्तो सामग्री बनाउन गाह्रो छैन।
प्रविधिमा सामान्य जानकारी भएका व्यक्तिले यस्ता काम गर्न सक्छन्। भारतमै कैयन् नायिकाहरू सार्वजनिक ‘ट्रोल’को सिकार भएका छन्। पछिल्ला दिनमा कतिपय सामग्री हुँदै नभए पनि भएको भनी सार्वजनिक बेइज्जती गर्ने काम समेत भइरहेको छ।
नेपाल भर्खर सूचना प्रविधितर्फ अग्रसर भएको हो। अझ यसले कृत्रिम बौद्धिकता (एआई) को पूर्ण उपयोगिता हासिल गर्ने सोच बनाइसकेको छैन। चिकित्सादेखि सामान्य काममा समेत यसको प्रयोग हुने अवस्था आउँदैछ। यस्तो अवस्थामा यसको आचारयुक्त प्रयोगबारे सोच बनाउने बेला भइसकेको छ।
सरकारले गत असारमा एआईका निम्ति सामान्य अवधारणासम्म सार्वजनिक गरेको छ। सूचना प्रविधि कम्पनीहरूले अबका वर्षहरूमा शासन गर्ने अवस्था आइरहेको छ। यस्तो अवस्थामा हाम्रोजस्तो मुलुकले कसरी फाइदा उठाउने भन्ने प्रश्न गम्भीर छ। त्यसैगरी सर्वसाधारणको हितमा यसको प्रयोग हुनसक्ने अवस्था आउनु आवश्यक छ। अतः सूचना प्रविधिको अहिलेको अवस्थाको यथोचित उपयोग गर्न सक्ने गरी सरकारको तयारी आवश्यक छ। सर्वसाधारणमा पनि यससम्बन्धी साक्षरता आवश्यक छ। जति अप्ठ्यारो भए पनि सूचना प्रविधि अहिलेको यथार्थ हो। यससँगै बाँच्न र प्रगति गर्न सिक्नु नितान्त आवश्यक छ।
प्रकाशित: १३ फाल्गुन २०८१ १०:३६ मंगलबार