२७ चैत्र २०८१ बुधबार
image/svg+xml १५:२४ अपराह्न
कला/संस्कृति

राजावादी प्रदर्शनको रापतापमा पर्दा

अनुभूति

शुक्रबार अर्थात् चैत १५ गतेको मेरो भोगाइ अविस्मरणीय बन्यो। राजधानीमा राजावादी, रास्वपा र समाजवादी मोर्चालगायतको आआफ्नो कार्यक्रम थियो। त्यो कार्यक्रमस्थल भएर म  कार्यालय जानुपर्थ्याे। प्रदर्शनका कारण सडक अवरुद्ध हुने जानकारी मलाई थाहा थियो। पछिल्लो समयका अक्सर आन्दोलन साँझ ढल्केपछि साम्य भइहाल्थे। राजवादीको आन्दोलनलाई पनि मनमनै त्यसरी नै लिएकी थिएँ।

शुक्रबार दिउँसो आन्दोलन साम्य भएपछि  कार्यालय जाने निधो गरेँ। यसअघि पनि यस्तै तरिका अपनाउँथे। त्यहीअनुसार एकपटक सामाजिक सञ्जाल हेरेँ। सहकर्मी साथी टपेन्द्र कार्कीले सामाजिक सञ्जालमा राजावादीको विषयलाई लिएर स्टाटस पोस्ट गर्नुभएको थियो। उहाँले लेख्नुभएको थियो, ‘आज हुने दुई प्रदर्शनले काठमाडौंमा केही घण्टा ट्राफिक जामबाहेक अर्को उपलब्धि हुँदैन।’

टपेन्द्रजी राजनीति र अपराधबिटमा समाचार लेख्ने भएकाले मलाई उहाँको विश्लेषण ठिकै होला भन्ने लाग्यो। त्यो कुराले पनि प्रदर्शनलाई सामान्य रूपमा लिएँ। आन्दोलन साम्य भएपछि कार्यालय जाने निधो गरेँ। दिनभरि समाचार हेर्दै थिएँ, सामाजिक सञ्जाल पनि। सामाजिक सञ्जाल हेर्दाहेर्दै अन्नपूर्ण पोस्टमा ढुंगामुढा प्रहार भएको थाहा पाएँ।

सामान्य ढुंगामुढा होला, केहीछिनमा आन्दोलन साम्य होला भन्ने लाग्यो। म दिनको तीन बजेतिर घरबाट निस्केँ। सार्वजनिक यातायात चलेको थिएन। इनड्राइभ अर्डर गरेँ। त्यो दिन खोकीको औषधी खाएकाले हुनुपर्छ, अलिक निन्द्रा लागेको थियो। म कोटेश्वरको भित्री भागबाट शंखमूल हुँदै सुन्धारा जाने निधो गरेँ। यो कुरा इनड्राइभलाई भनेको थिएँ।

इनड्राइभले भित्री बाटो हुँदै आलोकनगर नजिक पुर्‍यायो। त्यहाँ ढुंगामुढा हानहान थियो। म हतपत इनड्राइभबाट झरेँ। इनड्राइभ कता गयो, थाहा भएन। एकतले घरको ढोका अलिकति खुलेको थियो। त्यहींभित्र पसेँ। घरकी महिला पनि भित्रै थिइन्। उनी घरी बाहिर घरी भित्र गर्दै आन्दोलन हेरिरहेकी थिइन्। अब केही हुँदैन होला भन्दै ती महिलाले मलाई आफ्नो घरबाहिर पठाइन्। म अलिक परसम्म पुगेँ। बाटो उल्टो परेछ। म अलमलिएँ। ढुंगा र सिसा भएको बाटो पार गरेँ। केही पर पुगेपछि कता जाने भन्नेबारे अलमलमा परेँ।

म ओर्लेको ठाउँमा घरको सिसा फुटेर बाटैभरि फैलिएको थियो। जता गए पनि ढुंगामुढा थियो। करिब आधा घण्टापछि घरबाट निस्किएँ। एक महिलाले घुमेर पुलपारि जान भनिन्। म सानो कच्चीपुल तरेर पारि गएँ। पारि पुगेपछि म चढेकै इनड्राइभरको फोन आयो। उसको उद्देश्य थियो– इनड्राइभ शुल्क लिनु।

मलाई कार्यालयसम्म पुग्नु थियो। चालक आउन ढिला गर्‍यो। कार्यालयमा फोन गरेर ढिलो हुने जानकारी गराएँ। बालकृष्ण अधिकारीजीले सुरक्षित घर जानू, घरबाटै समाचार पठाउनू, कर्फ्यु लाग्दैछ भन्नुभयो। यति भनेपछि म घर जाने तरखरमा हिँडेँ। इनड्राइभरले फेरि सम्पर्क गर्दै थियो। म पुल तरेर पुनः तीनकुने कोरिडोर हुँदै कोटेश्वरको तल्लो बाटो निस्कने सोच्दै थिएँ।

कर्फ्यु लागेपछि भोलिसम्मका लागि होला भन्ने सोचेँ। म सक्दो छिटो घरतिर जाने तर्खरमा थिएँ। सबै छिटो घर फर्कने तयारीमा थिए। मोटरसाइकल चालकलाई परसम्म पुर्‍याउन आग्रह गरेँ। उनले पर पुगेपछि त्यो बाटो जान दिँदैन, हानाहान छ, प्रहरीले गोली चलाउन सक्छ भने। यसो भनेपछि म रोकिएँ।

म चढेको मोटरसाइकल कता गयो थाहा भएन। करिब पाँच मिनेट हिँडे। बाटोमा एकजना युवक मोटरसाइकल चढेर आएका थिए। मैले उनलाई ‘म पनि उतै जाने हो, प्लिज मलार्ई परसम्म लैजानुहोस्’ भनेँ।

उनलाई गट्ठाघर जानु रहेछ। उनी सहयोग गर्न तयार भए। म उनको मोटरसाइकल चढेँ। अलिक पर पुगेपछि दाहिनेतिर गयौैं। सकेसम्म कोटेश्वरको चोक छलेर हामीलाई जानु थियो। भित्री बाटो जाँदै गर्दा हामी माधवकुमार नेपालको घरतिर पुगेछौ।

त्यहाँ पनि ढुंगामुढा चलेको रहेछ। प्रहरीले गोली चलाएको आवाज आयो। घर–पसलका सबै गेट बन्द थिए। भिड दौडेर आफैंतिर आउन थालेपछि म मोटरसाइकलबाट ओर्लें र आधा खुलेको चियापसलभित्र पसेँ। अब हुल गयो, निस्केर बिस्तारै जानुस् भने पसलेले। पसलभित्र पस्दा मन आत्तिएको थियो। कतै हुल सटरभित्र पस्लान् र प्रहरीले त्यतै गोली चलाउलान् भन्ने डर लाग्यो। बाहिर निस्कौं प्रहरी र आन्दोलनकारीको भागदौड, भित्र बसौं भित्रै गोली लाग्ला कि भन्ने त्रास। म चियापसलको टेबुलमुनि लुकेर करिब पच्चिस मिनेट बसेँ। मुख सुकेको थियो। मैले पानी माग्दा पसलेले जुस दिए।

मनभरि कर्फ्यु लाग्यो। पसलको सटर बन्द गरेपछि निस्सासिने अवस्था थियो। पसलमा न शौचालय न झ्याल, त्यहाँ बस्ने कुनै उपाय थिएन। केही साम्य भएपछि पसलेहरू पनि आफ्नो डेरा फर्कने तयारीमा थिए। त्यहाँ बस्ने उपाय नदेखेपछि बाहिर निस्केर हेरेँ। बाहिर उभिएका केही मान्छे आन्दोलनकारीजस्ता देखिन्थे।

मलाई उनीहरू देखेर डर लागिरहेको थियो। मैले साधारण महिला देखिन टाउकोमा सल लगाएँ र साधारण कुरा गरेँ। कुनै कुरा नबुझेको मान्छे जस्तो गरी उनीहरूसँग प्रस्तुत भएँ। उनीहरूले बिस्तारै भित्री बाटो जानुस् भने। उताबाट एक हुल आयो। हुलबिचमा एक जना घाइते पनि ल्याइएका थिए। उनको हातका सबैजसो औंला काटिएका थिए। उनीहरू साधारण चालकलाई गोली लागेछ भन्दै थिए।

मलाई त्यहाँ धेरै बेर बस्न उचित लागेन। भित्री बाटोबाट बाहिरिने कोसिस गरेँ। केही पाइला हिँड्नेबित्तिकै भित्री चोकमा भागदौड मच्चिइराखेको देखियो। चोकमा रगत पोतिएको थियो। रगत ताजा देखिन्थ्यो। अलिकति आँट गरेर हिँडेँ। चोकमा निस्कौं कर्फु लागेकाले प्रहरीले गोली हान्ला भन्ने डर, भित्र बसौं मनमा हुटहुटी मच्चिइरहेको थियो। मलाई दुवै पक्षबाट डर लागिरहेको थियो। कतै मेरो झोला खोलेर परिचयपत्र हेर्लान् र उल्टै हान्लान् भन्ने पनि डर थियो।

यस्ता अनेक कुराले एक छिन पनि मन शान्त थिएन। म पुनः भित्री सहरमै फर्किएँ। एउटा मोटरसाइकल वर्कसपको गेट खुला देखेँ। त्यहाँ एक पुरुष र महिला थिए। महिला कम्प्युटर चलाउँदै थिइन्। मैले उनीहरूसँग केही समय बस्न दिनुस् है भनेर अनुरोध गरेँ। मुख सुकेकै थियो। पानी पिएँ। उनले ‘समाचारमा अब दुई जना मानिसलाई हिँड्न दिएको छ, जानुस् पारि, केही गर्दैन’ भनिन्।

त्यसपछि आँट गरेर दुई पाइला अघि बढेँ। सर्वसाधारण र आन्दोलनकारी दुवै ठाउँठाउँमा थिए। उनीहरू भागदौडमै थिए। म मूल सडकमा निस्किएँ। सडक छेउमा हिँडिरहेको थिएँ। आन्दोलनकारीबाट सक्दो एक्लिने प्रयास गरेँ।

त्यतिबेला कर्फ्यु लागिसकेको थियो। मूल सकडबाट भाटभटेनीतिर प्रहरीहरू दौडिरहेका थिए। म सडकमा हिँडिरहेकै बेला दुई वटा ट्याङ्कमा सेना आए। कतै मलाई आन्दोलनकारी भनेर हतियार उठाउलान् कि भनेर मैले हतपत परिचयपत्र भिरेर हात उठाएँ। सेनाका ट्याङ्क कोटेश्वर चोकतिर गए। एकजोडी महिला–पुरुषसँगै कोटेश्वरको आकाशे पुल काटेँ। पुल काटेपछि मलाई सास आयो। फटाफट मूल सडक काटेर भित्र पसेँ। त्यहाँ पनि मानिसहरू जम्मा भएका थिए।

आन्दोलनकारीजस्तै देखिन्थे। जडीबुटी चोकतिरबाट जाने निधो गरेँ। धुवाँको मुस्लो थियो। धुवाँ देखेपछि बाटो मोडेँ। तल्लो सडक हुँदै हिँड्ने क्रममा एक जना अधबैसे पुरुष भेटिए। उनीसँगै अर्का झोला बोकेका पुरुष थिए। उनी अलपत्र परेका रहेछन्। उनलाई ती पुरुषले एक होटेलसम्म पुर्‍याए। अलिक तल टीकाथली छेउतिर पनि टायर बालेको धुवाँ उडिरहेको थियो। मनमा फेरि डर पस्यो। उनै पुरुषको मोटरसाइकल चढेँ र बालकोट चोकसम्म आइपुगेँ। त्यसपछि मलाई बालकोट शीतल लाग्यो। बालकोट चोकमा प्रहरी तैनाथ थिए। प्रधानमन्त्री ओेलीको घर पनि आन्दोलनकारीको निसानामा हुन सक्छ भनेर प्रहरी त्यहाँ थुप्रिएका रहेछन्।

साँझ घर पुगेपछि अघि सुकेको ओंठमा पानी रसायो। मानौ मृत्युको मुखवाट बचेर आएको  जस्तो महसुस भइरहेको थियो। घर फर्केपछि कुनै  समाचार लेख्न मन लागेन। अफिसमा सुरक्षित घर पुगेको जानकारी गराएँ। त्यसपछि समाचार हेरें। तीनकुनेमा आगजनी भएको भवनभित्रै एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजक र कीर्तिपुरका महर्जनको मृत्यु भएको समाचार आयो। भर्खरै आफू भीड छिचोलेर घर पुगेको पल शान्तिपूर्ण भनिएको आन्दोलनमा दुइ जनाको मृत्यु। धेरै जना घाइते भएको समाचार। मृत्य हुनेमा एकजना मेरै पेशाका सञ्चारकर्मी। उनको मृत्युको कुराले मनभरि प्रश्न उठे। उनले किन सुरक्षित भएर काम गर्न सकेनन? किन आफैलार्ई जोखिममा राखेर काम गरे? यस्तो आन्दोलनमा हुने सम्भावित जोखिममको आकलन किन गर्न सकेनन? विपद या द्वन्द्वग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्दा आफू जोगिंदै पनि रिर्पोटिङ गर्ने सीप उनले पाएका थिए कि? यी थुप्रै प्रश्न उठे। मनमा एउटा निष्कर्ष आयो प्रदर्शनको नाममा हुने कुनै पनि प्रदर्शन या भीड संंधै  जोखिमपूर्ण हुन्छन्। सञ्चारकर्मी  जोखिमबाट बचेर मात्र काम गर्नुपर्छ। द्वन्द्वग्रत या विपदपूर्ण क्षेत्रमा रिपोर्टिङबारे जानकारी या तालिम अनिवार्य दिनुपर्छ। स्वर्गीय पत्रकार रजकप्रति हार्दिक श्रद्धान्जली!

प्रकाशित: २३ चैत्र २०८१ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App