नेपाल पूरै बिग्रिएको छैन। चारैतिर भत्केको मात्र छैन। सबै विदेशिएर देशै रित्तिन लागेको कुरा पनि सही होइन। त्यसैगरी यहाँ बस्नेहरू सबै अक्षम, कामै नलाग्ने पनि हैनन्। यहाँ बस्नेहरूले निकै उत्कृष्ट कार्य गरिरहेका छन्। त्यसलाई हेर्न र मनन गर्नसक्ने मनको अहिले आवश्यकता छ। धेरैले इमान र जमान बचाएर आफ्नो प्रतिष्ठा आर्जन गरेका छन्। विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागेका कैयन विशेषज्ञ र व्यक्तिहरू छन्, जसले उल्लेख्य परिवर्तन ल्याइरहेका छन्।
गंगालाल राष्ट्रिय हृदय केन्द्र यसको जिउँदोजाग्दो प्रमाण हो। जसले एक वर्ष अवधिमा एक हजार नौ सय ८२ जनाको मुटुको शल्यक्रिया सम्पन्न गरेको छ। त्यति मात्र हैन, बहिरंग सेवामार्फत मात्र एक लाख ९९ हजार नौ सय ७२ जनालाई सेवा उपलब्ध गराएको छ भने एक लाख २४ हजार दुई सय ४७ जनालाई इसिजी सेवा दिएको छ। त्यसबाहेक पनि आकस्मिक कक्ष, इको, इकोकार्डियोग्राम, कोरोनरी एन्जिओप्लास्टीजस्ता सेवामार्फ अन्य लाखौँको उपचार सम्भव भएको छ।
नेपालमा मृत्युको मुख्य कारण मुटुसम्बन्धी रोगलाई मानिन्छ। यस्तो स्थितिमा सीमित स्रोतसाधन प्रयोग गरेर यस रूपमा दिइएको सेवालाई उल्लेख्य मान्नु पर्छ। अघिल्ला वर्षहरूमा मुस्किलले १२ सयजनाको शल्यक्रिया हुने गरेकामा पछिल्लो वर्ष यस्तो संख्या डेढीले बढ्नु निःसन्देह चर्चायोग्य उपलब्धि हौ। भौतिक पूर्वाधार र आवश्यक जनशक्ति उपलब्ध हुने हो भने यो संख्या अझै बढाउन सक्ने आँट उनीहरूमा देखिएको छ। नागरिकको स्वास्थ्य सेवाप्रति जागरुक सरकारका निम्ति यो अनुभव अन्यत्र पुर्याउनेसमेतको अवसर हो।
त्यसो त सबै मानव अंगको आफ्नै महत्व छ। तैपनि मुटुको हेरचाह विशेष मानिन्छ। शरीरमा शुद्ध रक्त प्रवाहमा यसको विशेष भूमिका छ। यो अत्यन्त महत्वको अंगलाई पुनर्जीवन दिएर बचाउन खोज्नु आफैंमा उल्लेख्य कार्य हो। यो महान् कर्मलाई प्रत्येक वर्ष संख्यात्मक मात्र नभई गुणात्मकरूपमा समेत वृद्धि गर्दै लगेर गंगालाल राष्ट्रिय हृदय केन्द्रका चिकित्सकहरूले जुन प्रशंसनीय भूमिका निर्वाह गरेका छन्, त्यसले हृदयमा समस्या भएकाको मात्र हैन, नभएकाको समेत हृदय जितिरहेको छ। यस पुनित कार्यका लागि उनीहरूलाई खुला मनले धन्यवाद ज्ञापन गर्नु हामी सबैको कर्तव्य हो। यसले उनीहरूलाई थप कार्यका निम्ति प्रोत्साहित गर्नेछ।
एक त भौतिक पूर्वाधार तथा अत्यावश्यकीय उपकरणहरू अभाव, त्यसमाथि पर्याप्त जनशक्ति पनि नभएको अवस्थामा यो केन्द्रका चिकित्सकले गरेका कामको उचित मूल्यांकन हुनै पर्छ। केही अघिसम्म मुटुको शल्यक्रिया गर्न ६ महिनापछि मात्र पालो आउँथ्यो। कतिपय बिरामी त पालो आउने बेलासम्म मृत्युको मुखमा परिसक्थे पनि। त्यो पालो अवधिलाई घटाएर यहाँका चिकित्कले दुई महिनामा ल्याउनु निकै राम्रो काम हो। मुटु अस्पतालको सीमितता र बिरामीको चापबीच तुलना गर्दा यही पालो अवधि घटाउनु पनि ठूलै उपलब्धि मान्नुपर्छ। यस्तो समयलाई अझ घटाउन प्रयासरत रहेको केन्द्रका चिकित्सकको भनाइले पालो पर्खिरहेका धेरैलाई खुस खबर प्रदान गरेको छ।
केन्द्रले मुटुको शल्यक्रिया र अन्य उपचारमार्फत हृदय जित्न सक्नुमा चिकित्सक र अन्य सहयोग स्वास्थ्यकर्मीको त भूमिका मुख्य छ नै, त्यसबाहेक यस कार्यमा ती मनकारीको पनि ठूलो योगदान छ जसले स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक पर्ने भवनलगायत भौतिक पूर्वाधार र अन्य क्षेत्र निर्माणका लागि सहयोग गरिरहेका छन्। उपकरण मर्मत गरिदिने राष्ट्रिय आविष्कार केन्द्रदेखि विभिन्नतवरले सहयोग पुर्याउँदै आएका धेरै महानुभावका कारण केन्द्रले यस्तो उपलब्धि हासिल गर्न सकेको पक्ष पनि छायामा पारिनु उचित हुन्न।
यो केन्द्रको अर्को स्तुत्य काम हो–१५ वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकका लागि मुटुको उपचार निःशुल्क गरिदिनु। त्यसबाहेक विपन्नलाई पनि उपचारमा राहत प्रदान गर्दै आएको छ। अब केन्द्रले बालबालिकाको मात्र उपचार गर्ने गरी दुई सय शैया रहने बाल मुटु रोग भवन बनाउँदै गरेको जानकारी पनि प्राप्त भएको छ। यस्तो प्रयास सार्थक हुँदा भविष्यका कर्णधारले मुटु समस्याकै कारण ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुनेछ। यसका लागि पनि केन्द्रको पहलकदमीको सराहना गर्नैपर्छ। बहिरंग विभागको भिड नियन्त्रणका लागि चार वटा काउन्टर सञ्चालनमा ल्याउनु र प्रयोगशाला नमुना संकलन १५ मिनेटभित्र गरिसक्ने व्यवस्था यस केन्द्रको अर्को आभारयोग्य कदम हो।
यो अस्पतालले विपन्नको मुटु उपचार गरेबापत सरकारले शोधभर्ना दिने गर्छ। अस्पतालले मंगलबार आफ्नो २९औँ वार्षिकोत्सवमा प्रमुख अतिथिका रूपमा निम्त्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यस्तो बक्यौता चाँडै निकासा गर्ने आश्वासन दिएबाट बुझिन्छ कि सरकार यस्तो मानवीय कार्यका लागि भएको खर्च पनि तत्काल शोधभर्ना गर्न अक्षम छ। त्यसैले मानवलाई पुनर्जीवन दिने यस्तो कार्यमा सर्वसाधारण, धन र मन दुवै भएकादेखि सरकारसम्मले सघाउनैपर्छ। यसो भएमा मात्र सहिद गंगालालको नाममा खोलिएको गंगालाल अस्पतालका चिकित्सकको कर्म सहिदको शुभभावनाअनुसार अघि बढ्न सक्छ।
प्रकाशित: १७ माघ २०८१ ०५:५७ बिहीबार