३० चैत्र २०८१ शनिबार
image/svg+xml १८:४२ अपराह्न
सम्पादकीय

कांग्रेस नसच्चिने संकेत

काठमाडौँमा साउन २ गते सुरु भएको नेपाली कांग्रेसको कार्यसमिति बैठक एक साता चलेर सकिएको छ। यो प्रतिनिधि सभामा प्राप्त सिटका आधारमा नेपालको सबै भन्दा ठूलो दल हो। सबैभन्दा ठूलो दल भएकै कारण यसका प्रत्येक गतिविधिमा सर्वसाधारणको निगरानी रहनु स्वाभाविक हुन्छ। त्यसैले पनि कांग्रेसको कार्यसमितिले तय गर्ने आगामी दिशा आमनेपालीका लागि जिज्ञासाको विषय बन्दै आएको हो।

मुलुकमा यतिबेला भ्रष्टाचारले सीमा नाघेको छ। सर्वसाधारणका पेटी र जुत्तासमेत फुकाल्न लगाउने विमानस्थलहरू टनका टन सुन र लागु पदार्थ भने दिनदहाडै छाडिरहेका छन्। जसमा सामान्य कर्मचारीदेखि उच्चपदस्थ कर्मचारी र मन्त्री/नेताको समेत संलग्नता देखिएको छ। अर्कोतर्फ सरकारी अड्डा घूसबिना माखो पनि नमार्ने अवस्थामा छन्। जताततै भिडतन्त्रले कानुन हातमा लिएर शासन गरिरहेका छन्। सुरक्षाकर्मी र इमानदार कर्मचारीको मनोबल गिराउने कार्य भइरहेको छ। एकातिर राजस्व लक्ष्य भेट्न सकिरहेको छैन अर्कोतर्फ जनप्रतिनिधि र कर्मचारीबीच सुविधा बढाउने होड चलिरहेको छ। कर्मचारीलाई तलव र सामाजिक सुरक्षा भत्ता वितरणमा समेत संकट आउने अड्कलबाजीलाई तथ्यांकहरूले साथ दिइरहेका छन्।

मुलुककै सबै भन्दा ठूलो र सबै भन्दा बढी प्रजातान्त्रिक दाबी गर्ने दलको कार्यसमिति बैठक भने मोसो दल्नेलाई कारबाही गर्ने निर्णय गर्छ। वागी उम्मेदवारको कारबाही फुकुवा गर्छ। त्यति मात्र हैन, नेताका विरुद्ध सामाजिक सञ्जालमा लेख्नेलाई दण्डित गर्ने फरमान जारी गर्छ। मानौँ, अहिले मुलुकका जल्दाबल्दा समस्या यिनै हुन् र जे/जति विकृति झांगिरहेका छन् ती सबैका मुहान पनि यिनै हुन्। त्यसैले यिनलाई नछिमोलेसम्म मुलुक अघि बढ्दैन।

बिहीबार मात्र कोसी प्रदेश सरकार अवैधानिक ढंगले गठन भएको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको छ। संविधानमै सरकार गठनमा सभामुखको प्रत्यक्ष संलग्नता नहुने प्रष्ट लेखिएको प्रावधानलाई चुनौती दिँदै तिनै सभामुखको हस्ताक्षरमा आफ्नै दलको व्यक्तिलाई मुख्य मन्त्री बनाउने काममा लाग्यो कांग्रेस। तर यो विषयमा कार्यसमिति बैठक मौन रह्यो। जस्तासुकै आपराधिक क्रियाकलापमा संलग्न भए पनि सरकारले उन्मुक्ति दिन सक्ने विधेयक तयार पारियो। त्यो पनि कांग्रेसकै कानुन मन्त्रीमार्फत। यो विषयमा बैठक प्रवेश नै गर्न चाहेन। अर्कोतर्फ नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागार जीवन व्यतीत गरिरहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राख्ने नेताहरू धम्की खान बाध्य भए। यी केही प्रतिनिधिमूलक घटना काफी छन् कि कांग्रेस कार्यसमिति बैठक कर्मकाण्डबाट माथि उठ्न सकेन।

कांग्रेस मुलुकमा इतिहास बोकेको दल हो। यसका गतिविधि हेरेर प्रेरणा लिनुपर्ने हो। तर, कांग्रेसमा यसपटक जस्ता विषयमा छलफल भयो, त्यसले यसको उचाइ बढाएको छैन। सैद्धान्तिक विषयमा छलफल गरेर कांग्रेसले अहिले मुलुकमा विद्यमान समस्या समाधानको बाटोमा आफूलाई लगाउन सक्नु पर्ने हो। देशले यतिबेला राजनीतिक नेतृत्वप्रति आशापूर्ण नजरले हेरिरहेको छ। कांग्रेस बैठक वहुमतको बलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको हुर्मत लिन सक्रिय रहेको देखिएको छ। यो दलले आफ्नो बैठक लाइभ गर्नुको अर्थ आफ्ना महामन्त्रीको आलोचना गरेर आच्छुआच्छु पार्नु पो रहेछ भन्ने निष्कर्ष निस्किएको छ।

मुलुकको बाटो बिराएको राजनीतिक कोर्सलाई अब कसरी सुधार्ने? यसमा कांग्रेसको भूमिका के हुने? कार्यसमिति बैठक सकिएको दिनदेखि यसले अंगाल्ने नयाँ र आशावादी मार्ग के हो? यस्ता प्रश्नको उत्तर खोजिरहेका थिए आममानिस। तर यो बैठकले यी आममानिसको आशामाथि तुषारापात गर्‍यो। ऊ आफैँ कुहिरोको कागमा परिणत भयो अर्थात न कुनै मार्ग तय गर्न सक्यो न त गन्तव्य नै।

उल्टै दलमा वनमाराझैँ झांगिँदै गएको गुटीय शक्ति प्रदर्शन गर्ने थलो बन्यो कांग्रेस कार्यसमिति बैठक। एउटाले फायर खोल्ने अनि अरूले ब्याकफायर, प्रतिफायर प्रहार गर्ने सिलसिला बैठकभर चल्यो। संस्थापन पक्षले विशेषगरी महामन्त्रीद्वयका धारणा र विचारलाई निस्तेज तुल्याउन भरमग्दुर प्रयास गरे। कुनै पनि दलमा महामन्त्रीको भूमिका निकै महत्वको हुने गर्छ तर कांग्रेस प्रवक्ताले नै महामन्त्रीको धारणालाई व्यक्तिगत भनेर भुत्ते बनाइदिन खोजे। यसबाट पनि थाहा हुन्छ कि कांग्रेस अझै पनि कतिपयले आरोप लगाए जस्तै दल हुन बाँकी नै छ। तर अझै पनि उसले यो वास्तविकता चाल पाएको देखिएन।

एकले अर्कालाई पखाल्ने र नंग्याउने दोहोरीमै बित्यो धेरै समय। अनि को बढी भन्दा बढी सभापति शेरबहादुर देउवा र उनका किचेन क्याबिनेटप्रति बफादार बन्ने भन्ने होड देखियो। सभापतिकै कारण सत्ताको तर मार्न पाएकाहरूले विधि र विधान तथा सिद्धान्त र इमानदारीलाई भन्दा पनि वर्तमान सत्तालाई जसरी पनि कायम राख्नुपर्नेमा जोड दिए। जसले यो अवसर पाएका थिएनन् उनीहरू पनि तिनै सत्तासीनको प्रहारको सिकार भए। यसैगरी ‘हात्ती आयो हात्ती आयो फुस्सा...’ गरेर सकियो कङ्ग्रेसको बैठक।

जबसम्म दलका बैठकमा विचार र गन्तव्यबारे बहस हुन्न, जबसम्म मुलुकलाई अघि बढाउने ढाँचा र प्रारूपबारे छलफल हुन्न, जबसम्म विकास र समृद्धिको खाका प्रस्तुत हुन्न, जबसम्म निश्चित समयावधि तोकेर हासिल हुने उपलब्धि प्रक्षेपण गरिन्न, त्यस्ता बैठक यस्तै तीतो पोख्ने र एकअर्काविरुद्ध विष वमन गर्दैमा सकिनु अस्वाभाविक हैन। त्यसैले अहिले कांग्रेस कार्यसमिति बैठक जे/जस्ता गतिविधि र निर्णय गरेर टुंगिएको छ, यसबाट प्रष्ट भन्न सकिन्छ कि कांग्रेस अझै पनि सुध्रन तयार छैन। जुन आमनेपालीका लागि चिन्ताको विषय हो।

प्रकाशित: १२ श्रावण २०८० ००:४० शुक्रबार

Download Nagarik App
Download Nagarik App