२२ मंसिर २०७९ बिहीबार
अर्थ

खाद्यले दसैंमा दुई हजार खसीबोका किन्ने, च्याङ्ग्राबारे टुंगो छैन

दशैंमा बिक्री गर्न पोखरा ल्याइएका मुस्ताङी च्याङ्ग्रा। तस्बिर : नागरिक

कोरोना भाइरस संक्रमण सुरु भएपछि कोरला नाकामा मेला लागेको छैन। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको माथिल्लो भेग लोमान्थाङ गाउँपालिकाको सीमामा पर्ने कोरलामा कोरोना संक्रमण सुरु भएपछि मेला रोकिएको थियो। मेला नलाग्दा नाका हुँदै वर्षेनी भित्रिने हजारौं भेडाच्यांग्राको आयात योवर्ष पनि रोकिएको छ।  

यो नाकामा वर्षमा दुई पटक मेला लाग्ने गरेको थियो तर कोरोना संक्रमणले गर्दा मेला लाग्न नपाएपछि यो पटकको दसैंका लागि पनि तिब्बतबाट हुने भेडा च्यांग्राको आयात पनि रोकिएको छ। भेडाच्यांग्रा आयात हुन नपाएपछि खाद्य संस्थानले पनि हिमाली भेगका च्यांग्रा किन्ने वा नकिन्ने भन्ने निर्णय गर्न सकेको छैन। अघिल्लो वर्ष पनि खाद्यले च्यांग्रा किनेको थिएन तर कोरोना संक्रमण सुरु हुनुअघि भने खाद्यले मुस्ताङबाट च्यांग्रा किनेर राजधानीमा लगेर बेच्दै आएको थियो।  

‘दसैका लागि मुस्ताङबाट च्यांग्रा किन्ने योजना हो तर किन्ने वा नकिन्ने भन्ने निर्णय भने भइसकेको छैन,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रवक्ता शर्मीला सुवेदीले भनिन्– ‘मुस्ताङस्थित खाद्यको शाखा कार्यालयले स्थलगत रिपोर्ट पनि दिएको छ तर यो पटक च्यांग्राको मूल्य अधिक बढेको जानकारी पाएकाले किन्ने वा नकिन्ने भन्ने अझै टुंगो लागेको छैन।’

सुवेदीका अनुसार यो पटकको दसैंका लागि खाद्यले दुई हजारवटा खसीबोका र एकहजार च्यांग्रा किन्ने गरी बजेट छुट्याएको छ। ६ करोड ४० लाख रूपैयाँ खसीबोका र च्यांग्रा किन्नका लागि छुट्याएपछि च्यांग्राबारे भने अझै निर्णय नभएको उनले बताइन। ‘खरिद गर्नका लागि अझै हतार भएको त छैन तर किन्ने नै भएमा केही दिनमा निर्णय भइहाल्छ तर यो पटक च्यांग्राको मूल्य अधिक बढेकाले के गर्ने भन्ने यकिन हुन सकेको छैन,’ उनले भनिन्– ‘केही गरी च्यांग्रा किन्न नपाए त्यो बजेट खसीबोकामा खर्च हुनेछ।

खसीबोका भने मकवानपुर र दाङ क्षेत्रबाट भिœयाउने तयारी छ।’ खरिद भएका खसिबोका घटस्थापनाको दिनसम्म काठमाडौं भित्रिने उनले बताइन। ‘साह्रै महँगो भएमा पनि बेच्न गाह्रो हुन्छ। हामीले नाफा लिने होइन, खरिद मूल्यमा ढुवानी र केही प्रशासनिक खर्च थपेर मूल्य तोकिन्छ,’ उनले भनिन्– ‘मुस्ताङमा च्यांग्राको मूल्य यो पटक निकै नै बढेको थाहा पाएका छौं। त्यसैले अन्योल भएको हो।’ कोरोना संक्रमण सुरु हुन अघिल्ला वर्ष खाद्यले हरेक दसैंमा एक हजार वटाका दरले हिमाली च्यांग्रा किनेर राजधानी लगेर बेच्दै आएको थियो तर कोरोनापछि स्थानीय च्यांग्राको मूल्य बढेको भन्दै खाद्यले किन्न छाडेको थियो।

कोरला नाकामा वर्षमा दुइपटक मेला लाग्थ्यो। असार–साउनमा एकपटक र भदौ–असोजमा अर्काेपटक गरेर वर्षमा १० देखि १५ दिनसम्मका लागि व्यापार मेला लाग्ने गरेको थियो। अन्तरदेशीय त्यो व्यापार मेलाको समन्वय दुई देशका प्रशासन तथा सुरक्षा निकायको समन्वयमा नाकाबाट १० किलोमिटर पर चीनतर्फ लाग्ने गरेको थियो तर कोरोना संक्रमण सुरु भएपछि विगत तीनवर्षदेखि त्यो मेला लागेको छैन। त्यो व्यापार मेलामा स्थानीयले च्यांग्रा भित्याएर त्यो बापत स्वदेशी वस्तु निर्यात गर्दै आएका थिए तर मेला लाग्न छाड्दा व्यापार नै हुन पाएको छैन। वर्षमा दुई पटक लाग्ने मेलाबाट भन्सार बापत करिब १५ लाख रूपैयाँ राजस्व सरकारले पाउँथ्यो। मेला रोकिएपछि त्यो राजस्व पनि गुमेको छ।  

खाद्यले मुस्ताङको माथिल्लो भेगमा पुगेर च्यांग्राको भाउसमेत बुझिसकेको छ। खाद्यको जोमसोमस्थित शाखा प्रमुख ललित यादवका अनुसार किसानले जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो १५ सय रूपैयाँ मागेका छन्। उनका अनुसार त्यो मूल्यमा किन्दा उपभोक्तालाई धेरै नै महँगो पर्न जान्छ। अहिले मुस्ताङका गाउँगाउँमा च्यांग्रा किन्न व्यवसायी पुगेका छन्। ती व्यवसायीले किसानसँग प्रतिगोटाको हिसाबले च्यांग्रा किन्छन्, मूल्य पनि आफैं तोक्छन् तर खाद्यले किलोका हिसाबले मात्र खरिद गर्छ, तोकिएको भन्दा मूल्य बढाउन सक्दैन। तौलेर मात्र किन्ने भएकाले पनि किसानले हत्तपत्ति खाद्यलाई च्यांग्रा बेच्न चाहँदैनन्।  

त्यसबाहेक किसानले ती च्यांग्रा सदरमुकाम जोमसोम नझारी खोरबाटै सिधै व्यवसायीलाई बेच्छन्। जोमसोम झार्नुपरे त्यो बापतको थप खर्च माग्छन्। जसले गर्दा जिउँदो च्यांग्राको मूल्य नै महंगो पर्न जाने यादवले बताए। ‘अरू व्यवसायी गाउँगाउँमा पुगेर किनेर लैजान्छन तर हामी गाउँगाउँ चहारेर किन्न सक्दैनौ। किनकी खाद्यसँग जनशक्ति कम छ। गाउँगाउँ चहारेर किन्न कठिन हुन्छ, गाउँलेले सदरमुकाम ल्याइदिन्नन्,’ उनले भने– ‘सकेसम्म तौलेर पनि बेच्न नमान्ने र सदरमुकाम ल्याउन नमान्दा खाद्यलाई समस्या हुन्छ। खोरमै पुगेका व्यवसायीले भने प्रतिगोटाका हिसाबले किनेर एकैठाउँ जम्मा गरेर तल झार्छन्।’  

खोरमै पुगेर किन्दा किसानले दिन चाहे पनि व्यवस्थापनमा खाद्यलाई झन्झट रहेको उनले बताए। ‘एकहजार च्यांग्रा किन्नुपरे दर्जन गाउँ चहार्नुपर्छ। सबैतिरबाट भेला गराएर पठाउन समस्या हुन्छ,’ उनले भने– ‘किसानसँग किनेर तल झारेका च्यांग्रा अरू व्यवसायीसँग किन्दा झनै महँगो पर्छ।’

उनका अनुसार तिब्बतबाट च्यांग्रा आउँदा मूल्य सस्तो हुन्थ्यो। पर्याप्त च्यांग्रा भएपछि स्थानीले पनि मूल्य बढाउन पाउँदैनथे तर अहिले द्विपक्षीय व्यापार रोकिएपछि किसानले आफूखुसी मूल्य तोकेका छन्। जुन अधिक महँगो भएको यादवले बताए। उनले हिमाली च्यांग्राबारे खाद्यको केन्द्रीय कार्यालयमा जानकारी दिइसकेको भए पनि किन्ने वा नकिन्ने भन्ने निर्णय नभइसकेको बताए।  

खाद्यका पोखरास्थित प्रमुख नवीन बस्नेतले यो पटक च्यांग्राको मूल्य महँगो परेकोले किन्ने वा नकिन्ने भन्ने निर्णय नभइसकेको बताए। ‘जिल्लाबाट स्थलगत रूपमा संकलन गरिएको विवरण केन्द्रीय कार्यालयमा पठाएका छौं। अहिलेसम्म किन्ने वा नकिन्ने भन्ने निर्णय भएको छैन,’ बस्नेतले भने– ‘केहीदिनमा यो बारेमा टुंगो लाग्नेछ।’ व्यवसायीले जथाभावि मूल्य तोकेर दशैंमा उपभोक्तालाई महंगोमा च्यांग्रा बेच्न सक्ने भएकाले त्यो नियन्त्रणका लागि पनि खाद्यले पछिल्लो केहीवर्षदेखि च्यांग्रा बेच्न थालेको थियो तर कोरोना संक्रमणपछि भने खाद्यले च्यांग्रा खरिद गर्न छाडेको थियो।  

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका किसानले च्यांग्रा पाल्छन्। तिनै च्यांग्रा किसानसँग किनेर अरू व्यावसायीले पोखरामा बेच्न झार्छन्। व्यावसायीले च्यांग्रालाई मुस्ताङदेखि हिँडाएरै पोखरा ल्याउँछन्। पोखरामा दशैंको बेला च्यांग्राको मेला नै लाग्ने गर्छ।  

हिमाली क्षेत्रको जडिबुटी खाएर हुर्किएका च्यांग्रा पोखरा र आसपास क्षेत्रका उपभोक्ताले निकै रुचाउँदै आएका छन्। चिसो हावापानीमा हुर्केकाले च्यांग्राको मासु बढी स्वादिलो हुने भन्दै चितवन, रूपन्देही, पाल्पा, स्याङजा, तनहुँ, गोरखा लगायत कास्की आसपासका जिल्लाबाट समेत ग्राहक च्यांग्रा किन्न ग्राहक पोखरासम्म आउने गर्छन्। 

प्रकाशित: ७ आश्विन २०७९ ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App