१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दुई पटक शिलान्यास भयो, काम सुरु भएन

सडक शिलान्यासका क्रममा निर्माण कम्पनीले निर्माणस्थलमा ल्याएको स्काभेटर। तस्बिरः ललित विष्ट/कालिकोट

सुर्खेत, कर्णाली करिडोरको शान्तिघाटदेखि रास्कोट नगरपालिका जोड्ने सडकको स्तरोन्नति र कालोपत्रेका लागि कर्णाली प्रदेश सरकारले दुई वर्षअघि साढे ३८ करोड रुपैयाँ बजेट छुट्यायो। अघिल्लो वर्षको असारमा १२ किलोमिटर सडक कालोपत्रेका लागि ठक्का संझौता पनि भयो। संझौताको एक वर्षमा दुईपटक सडकको शिलान्यासबाहेक केही काम भएको छैन।

शान्तिघाटदेखि बडीमालीकासम्मको उक्त सडक कालोपत्रे गर्नका लागि केएस शनीदेव जेभीले पूर्वाधार विकास कार्यालयसँग २०७८ असार ३ गते ठेक्का संझौता गरेको थियो। ठेक्का संझौताको एक वर्षको अवधिमा निर्माण कम्पनीले रास्कोट नगरपालिकाका तत्कालीन उपप्रमुख मिमसरा बम र तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट छुट्टाछुट्टै शिलान्यास गरेको थियो। ‘दुई–दुई पटक सडक शिलान्यास भएपनि अहिलेसम्म काम हुन सकेको छैन,’ स्थानीय देवेन्द्र मल्लले भने, ‘ठेक्का संझौताको एक वर्षमा कुनै पनि काम भएको छैन।’

स्थानीयका अनुसार चुनाव नजिक आएका बेला मात्रै सडक कालोपत्रे गर्ने विषयमा आवाज उठ्छ। नेताहरु आएर तत्कालै काम सुरु गर्ने भाषण गर्छन्। चुनाव सकिन्छ अनि सडक कालोपत्रेको विषय पनि हराउँछ। यो पटकको स्थानीय तहको चुनावमा विशेष गरेर माओवादी केन्द्रले सडक कालोपत्रेको विषयलाई फेरि ब्यूँतायो। पूर्व मुख्यमन्त्री शाहीले चुनावको केही समयअघि रास्कोट पुगेर फेरि सडकको शिलान्यास गरे।

निर्माण कम्पनीले चार करोड ४० लाख पेश्की लगेको छ। 

पूर्वाधार विकास कार्यालय कालिकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा पनि काम सुरु नभएको बताए। ‘असारमा ठेक्का संझौता भएको थियो, त्यसको सात महिनापछि शिलान्यास गरियो,’ उनले भने, ‘शिलान्याससँगै ठेकेदार सम्पर्कविहीन भए।’ उनले त्यसपछि पनि दोस्रोपटक सडक शिलान्यास गरिएको आफूहरुले सुनेको बताए। इन्जिनियर पाण्डेका अनुसार निर्माण कम्पनीलाई काम सुरु गर्न पटक–पटक ताकेता गरिएको बताए।

‘जेठ ३ गते पनि पत्राचार गरेर काम सुरु गर्न भनेका छौं,’ उनले भने, ‘अहिलेसम्म कोही पनि सम्पर्कमा आएका छैनन्।’ कर्णाली करिडोर (खुलालु–हिल्सा सडक) अन्तर्गत शान्तिघाटदेखि रास्कोट नगरपालिकाको केन्द्र जाने उक्त १२ किलोमिटर सडक फाराकिलो बनाउन र कालोपत्रे गर्न चार वर्ष समय लाग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ। ‘संझौतामा चार वर्षमा के–के कामहरु सम्पन्न गर्ने उल्लेख छ,’ उनले भने, ‘एक वर्ष कामै नगरेर निर्माण कम्पनीले समय गुजार्‍यो।’

३८ करोड ४९ लाख ५७ हजार ७७६ रुपैयाँको ठेक्का निर्माण कम्पनीले घटेर २५ करोड ५५ हजार ५१२ रुपैयाँमा संझौता गरेको थियो। इन्जिनियर पाण्डेका अनुसार पहिलो पटक निर्माण कम्पनीले सडक चौडा गर्ने काम सम्पन्न गर्नुपर्ने थियो। ‘अहिलेसम्म शिलान्यास गरेको ठाउँमा स्काभेटरले खन्नेबाहेक काम भएको छैन,’ उनले भने, ‘यस्तै हो भने बाँकी तीन वर्षमा पनि काम सम्पन्न हुने अवस्था छैन।’ पाण्डेका अनुसार सडक फराकिलो बनाउने, ग्याविन भर्ने, पक्की नाला निर्माण गर्नेलगायतका प्रारम्भिक कामहरु पनि भएका छैनन्।

निर्माण व्यवसायी देवीदत्त भट्टले केही समयभित्रै काम सुरु गर्ने बताए। नागरिकको सम्पर्कमा आएका भट्टले खुलालुमा पुल नहुँदा निर्माण सामग्री र ठूला उपकरणहरु लिन समस्या भएकाले काम गर्न नसकेको बताए। ‘अब खुलालुको पुल सञ्चालनमा आएको छ,’ उनले भने, ‘तत्कालै निर्माण सामग्री, उपकरण र जनशक्ति पठाएर काम सुरु गर्छु।’ भट्टले एक वर्षसम्म काम सुरु हुन नसकेपनि बाँकी रहेका तीन वर्षमा निर्माण सम्पन्न गर्ने जनाए।

‘पहिले पुल नभएकाले निर्माण सामग्री पुर्‍याउन महंगो हुन्थ्यो, ठूला उपकरणहरु लिन सक्ने अवस्था पनि थिएन,’ उनले भने, ‘पुल सञ्चालनमा आएसँगै निर्माण समाग्री र ठूला उपकरणहरु लिन सहज भएको छ, बाँकी रहेको तीन वर्षमा सडक निर्माण सम्पन्न गछौं।’

प्रकाशित: २४ जेष्ठ २०७९ ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App