८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटनमा ओमिक्रोन त्रासः आन्तरिक पाहुना पनि रोकिने डर

पर्यटनको गति १० किलोमिटरमा ओलिर्ने चिन्ता

पोखरा सडक महोत्सवको अवसरमा डेढसाता अघि पोखरा आएका आन्तरिक पाहुनाको भीड। फाइल तस्बिरः उमेश पुन/नागरिक

पछिल्लो तीनमहिना (अक्टोवर, नोभेम्बर र डिसेम्बर) मा मात्र हवाई माध्यमबाट पोखरा भित्रिएका आन्तरिक यात्रुको संख्या दुईलाख १० हजार बढी थियो। विभिन्न गन्तव्यबाट पोखरा भित्रिएका उनीहरुमध्ये अधिकांश घुमघामका लागि आएका पाहुना थिए। उनै आन्तरिक पाहुनाका कारणले पोखरा र आसपासका पर्यटकीय क्षेत्रमा चलहपहल बढ्यो।  

तीनमहिनाको यो समय पर्यटकीय क्षेत्र आन्तरिक पर्यटनमय बनेको व्यावसायीले बताउँदै आएका छन्। पोखरा विमानस्थलका अनुसार तीनमहिना अवधिमा भित्रिएका आन्तरिक हवाईयात्रुको संख्या अहिलेसम्मकै बढी हो। कोरोना भाइरस संक्रमणले पर्यटन व्यवसायलाई मार परेको बेला यिनै आन्तरिक पाहुनाको भरमा पर्यटन क्षेत्र चलायमान बनिरहेको थियो। पछिल्लो समय झनै बढी आन्तरिक पाहुना आउन थाल्दा व्यवसायी निकै नै उत्साही पनि थिए।  

तर, कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले गर्दा सरकारले हिडडुलमा कडाई गर्ने संकेत गरेसँगै पर्यटन क्षेत्र पुनः त्रसित बनेको छ। आन्तरिक पाहुना आउजाउका कारण पर्यटनले ७०–८० किलोमिटरको गति लिएकोमा अब खुम्चिएर १० किलोमिटरको गतिमा झर्ने चिन्ता पलाएको व्यावसायीले बताएका छन्। विदेशी पाहुना आउन नसक्दा आन्तरिकको भरमा धानिएको पर्यटन क्षेत्र अब उनै आन्तरिक पाहुना पनि गुमाउनुपर्ने पो हो की भन्नेमा त्रसित बनेको छ। व्यवसायीले अब आन्तरिक पाहुना पनि आउन नसक्ने अवस्था निम्तिन सक्ने भन्दै चिन्ता जनाएका छन्।  

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले सरकारलाई सिफारिस गर्दै होटल, रेस्टुरेन्टमा प्रवेश गर्दा कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्न भनेको छ। त्यस्तै माघ ३ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोपकार्ड अनिवार्य गर्ने लगायतका सिफारिस गरेको छ। २५ जना भन्दा बढी हिडडुल गर्न नपाउने गरि सरकारले निर्देशन पनि दिएको छ। त्यस्तै माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय कार्यन्वयनमा आइसकेको छ। गृह मन्त्रालयले स्थानीय प्रशासनमार्फत संक्रमण नियन्त्रणका लागि निर्देशन पनि गरेको छ।  

सरकारका निर्देशन र संक्रमणको बढ्दो गतिसँगै पुन लकडाउन हुने हो की भन्ने त्रास जनमानसमा बढ्दा त्यसको प्रभाव पर्यटनमा पर्ने व्यवसायी बताउँछन्। माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई भन्छन, ‘अब अर्काे सेप्टेम्बरसम्म विदेशीको अनुहार देख्न नपाइने भयो। फेब्रुअरीदेखि अलिअलि बुकिङ आउन थालेको थियो। यूरोपियनको त्यो सिमित बुकिङ पनि अब रद्द हुन थाल्यो। यसको मार आन्तरिक पाहुनामा पनि पर्ने पक्का छ।’  

विदेशी नभएको अवस्थामा पनि आन्तरिकको भरमा व्यवसाय धानिएकोमा अब आन्तरिक पाहुना पनि घुमघाममा निस्किन नपाउने अवस्था आउने पक्का भएको उनले बताए। ‘त्रासकै कारणले आन्तरिक पाहुना पनि रोकिने पक्का छ। कुनैपनि बेला अप्ठेरोमा पर्ने त्रास भएकोले पाहुना घुमफिरमा निस्कदैनन,’ भट्टराइले भने, ‘आन्तरिक पाहुना हुँदा पर्यटन व्यवसायले केही गति लिएको थियो, तर पुन शुन्यको अवस्थामा झर्ने देखिएको छ।’ आन्तरिक पर्यटक पनि आउन नसक्ने अवस्था रहेमा त्यसले पर्यटन क्षेत्रमा ठुलो धक्का पुग्ने उनले बताए।  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी पनि ओमिक्रोनको यो त्रासका कारण आन्तरिक पर्यटन पनि प्रभावित हुने पक्का भएको बताउँछन्। ‘आन्तरिक पाहुना पनि त्रसित हुने अवस्था आएको छ। पछिल्लो साताकै अवस्था हेर्दा आन्तरिक पाहुना कम भएका छन। यतिबेला सबै खाले पाहुना कम हुने बेला हो,’ सुवेदीले भने, ‘तर, अब घुम्न आउने आन्तरिक पाहुना प्रभावित हुने पक्का भएको छ ।’ नयाँ भाइरसको त्रास र सरकारी कडाईले गर्दा घुमघामको माहोल रोकिने सम्भावना बढेको उनले बताए।  

सुवेदीका अनुसार राजनीतिक दलका गतिविधि, संघसंस्थाका विभिन्न भेला, गोष्ठि, अधिवेशन, विद्यार्थीको घुमघामका कारणले पोखराले पर्याप्त आन्तरिक पाहुना पाएकोमा अब त्यसमा अवरोध आउने संकेत देखिएको उनले बताए। ‘ओमिक्रोनको त्रासले विद्यालय बन्द भईसक्दा अभिभावकमा एकखालको डर पैदा भएको छ। यो बेला घुमघाम सहज नहुन पनि सक्छ,’ उनले भने, ‘बल्लतल्ल आन्तरिक पाहुना ढुक्कले घुमघाममा निस्कन पाएका थिए। त्यही आगमनमा पनि फेरि अवरोध सिर्जना हुने देखिएको छ। त्यसले व्यवसायीलाई खिन्न बनाएको छ।’ व्यवसायीले कल्पना गरे भन्दा बढी आकारमा आन्तरिक पाहुना पोखरा आउँदा आफुहरुलाई व्यवसाय धान्न सहज भएको उनले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराई पनि भारतमा तिब्रगतिमा ओमिक्रोन बढ्दा त्यसको प्रभाव नेपालमा पर्नु स्वभाविक रहेको बताउँछन्। त्यही प्रभावका कारण आन्तरिक पर्यटनमा पनि अप्ठेरो पर्ने उनले बताए। ‘यो बीचको अवधिमा आन्तरिक पाहुना आउँदा व्यवसायी उत्साही थिए। पछिल्लो समय त विदेशी पाहुना पनि थपिन थाल्दा व्यवसायमा उत्साह पलाएको थियो,’ भट्टराईले भने, ‘तर, पाहुनाका घुमघामका ती सबै योजना रोकिए। आन्तरिक पाहुना पनि प्रभावित हुने पक्का छ।’

पाहुनाको आगमन रोकिने सम्भावना बढेसँगै व्यवसायीमा तनाव बढाएको उनले बताए। ‘कर्मचारी, आर्थिक, जनशक्ति व्यवस्थापनमा पुनः चूनौती थपिने संकेत देखिएको छ। आन्तरिक पाहुनाका कारण राहत मिलेको थियो, त्यसैमा पनि अप्ठेरो आउने देखियो,’ उनले भने, ‘घुमघाममा जाने भनेको रमाउन हो, त्रसित अवस्थामा घुमघाम कसैको पनि हुन सक्दैन।’ अत्यावश्यक कामले बाहेक अब आन्तरिक पाहुना घरबाहिर निस्कन नसक्ने उनले बताए। 

प्रकाशित: २७ पुस २०७८ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App