२० दशकको अन्त्यतिर राजनीतिमा उदाएका शेरबहादुर देउवाको संसदीय राजनीतिमा पूर्ण बिराम लागेको छ । कोइराला परिवारबाहिरबाट कांग्रेस सभापति बन्ने पाँचौं नेता देउवा २००४ जेठ ३० गते डडेल्धुरा, असिग्राममा जन्मेका हुन् । जुझारु राजनीतिक छविकै कारण ३० दशकको सुरुमै युवा पुस्ताबीच लोकप्रिय बनेका देउवा बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीति अघि बढाउने मौका पाएका थिए । २०४६ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालासमेतको साथले राष्ट्रिय राजनीतिमा स्थान सुरक्षित गर्न देउवा सफल भए । त्यसअघि २०३६ को जनमत संग्रहमा पूर्व–पश्चिसम्मका सभा–समारोहमा बिपी कोइरालासँगै खटेका थिए । पञ्चायतविरुद्धको संघर्षमा भारत प्रवास नगई नेपालभित्रै विद्यार्थी आन्दोलनमा सक्रिय देउवाले पटकपटक गरी १० वर्ष जेलजीवन बिताएका थिए ।
२०४६ को परिवर्तनसँगै खुला राजनीतिक परिवेशमा पार्टी संस्थापक कृष्णप्रसाद भट्टराईसहित नेताको सहयोग लिँदै अघि बढेका देउवाले पछि तिनै गिरिजाप्रसादलाई पार्टी नेतृत्वमा चुनौती दिए । संस्थापक नेता भट्टराईको ‘लिगेसी’ बिस्तारै देउवामा सरिरहेका बेला मुलुकमा संकटकाल लगाउने विषयमा २०५९ मा पार्टीभित्र विवाद चर्कियो । यो प्रकरण लम्बिँदै जाँदा पार्टी विभाजन हुन पुग्यो । भट्टराईको संरक्षण तथा गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रलाई साथ लिएर देउवाले ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ नाममा छुट्टै पार्टी गठन गरेका थिए ।
पार्टी नेतृत्वका लागि तेस्रोपटक मैदानमा उत्रिएका देउवा १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र १२औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए । पश्चिमा मुलुकसँग सुमधुर सम्बन्ध भएको मानिने देउवा एक दशकअघि नै प्रधानमन्त्री र विपक्षी दलको नेता भइसकेका व्यक्ति हुन् । २०४८ यताका संसदीय निर्वाचन र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट निर्वाचित हुँदै आएका थिए । २०४८मा एमालेका गोविन्द कलाउनी, २०५१मा जनवादी मोर्चाका खेमराज भट्ट ‘मायालु’, २०५६ बागेश्वरीदत्त चटौत, २०६४, २०७०, २०७४मा माओवादीका खगराज भट्ट र २०७९मा सागर ढकाल (स्वतन्त्र) उम्मेदवारलाई उनले पराजित गरेका थिए । तर, भदौ २३ गतेको हिंसा र २४ गतेको विध्वशंपछि फेरिएको मुलुकको राजनीतिमा यतिबेला दलबिहीन जस्तो बनेका देउवा फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बनेनन् ।
त्यससँगै देउवाको संसदीय राजनीतिमा पूर्णबिराम लागेको छ । सोमबार मध्यराति उनका स्वकीय सचिव भानु देउवाले देउवा उम्मेदवार नहुने जानकारी सञ्चार माध्यमलाई गराएका थिए । पहिलो पटक २०४८ को आमनिर्वाचनमा निर्वाचित भएपछि गृहमन्त्री बनेका देउवा २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा गरी पाँचपटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।
सुदूरपश्चिमको सामान्य परिवारबाट आएर राजनीतिक उचाइ बनाएका देउवाले मन्त्री, प्रधानमन्त्री, विपक्षी दल नेता, पार्टी सभापतिको जिम्मेवारी सम्हाले पनि मुलुक र पार्टीलाई युवापुस्ताले आशा गरेअनुसार अघि बढ्न नसकेको आरोप पार्टीकै नेताले लगाउने गरेका छन् । देउवाले सामाजिक कुरीतिको रुपमा रहेको कमैया मुक्ति, छुवाछुतमुक्त सामाजिक रुपान्तरण, भ्रष्टाचार निवारण ऐन, भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य, सम्पत्तिमा महिलाहरुको स्वामित्व स्थापित, दलित, महिला, जनजातिलगायत समुदायको उत्थानका लागि आफ्नै कार्यकालमा संरचनागत सुधार गरेको जनाएका छन् । तर संसदीय शासन व्यवस्थालाई नै कुरुप बनाउने गरी सुरासुन्दरी तथा प्राडो र पजेरो संस्कृति भित्राएको आरोप देउवामाथि छ ।
पश्चिमा मुलुकसँग सुमधुर सम्बन्ध भएको नेता मानिने देउवा पार्टीको १०औँ महाधिवेशनमा सभापति पदमा गिरिजाप्रसाद कोइराला र १२औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए । २०५२ मा सर्वसम्मत र २०५८ मा सुशील कोइरालालाई पराजित गर्दै संसदीय दलको नेता बनेका थिए । तर २०७० मा दोस्रो संविधानसभा निर्वाचनपछिको संसदीय दल निर्वाचनमा भने उनी सुशीलसँगै पराजित भए । त्यसअघि २०६४ को संविधानसभा निर्वाचनपछि भएको संसदीय दल निर्वाचनमा पनि उनी रामचन्द्र पौडेलसँग पराजित भएका थिए । निकटहरुको साथ नपाउँदा पौडेलसँग दलको नेतामा पराजित देउवा पछि उनै पौडेल, प्रकाशमान सिंह र गगनकुमार थापालाई पराजित गर्दै दलको नेताको जिम्मेवारीमा पुगेका थिए ।
पार्टी निर्देशनविपरीत मुलुकमा संकटकाल लगाउने निर्णयसँगै २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटनपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी देउवा निष्कासनमा परेका थिए । त्यसलगत्तै नेता भट्टराईलाई संरक्षक र पौडेललाई सभापति बनाउने गरी देउवासहितका नेताहरुले पार्टी विभाजनको तयारी गरे । तर अन्तिम समयमा पौडेल सहभागी नभएपछि देउवा आफैं नयाँ पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति बने । २०६४ असोजमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबिच एकीकरण भयो, देउवा मर्यादाक्रममा दोस्रो बने ।
देउवा २०७२ फागुन २४ गते नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भए । तर कांग्रेसभित्रको एउटा समूह देउवाको नेतृत्व स्विकार गर्न हिचकिचाइरह्यो । २०७८ पुसमा भएको १४औं महाधिवेशन निकट नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंहले नै देउवालाई चुनौती दिए । दोस्रो चरणमा गएको निर्वाचनबाट देउवा पुनः सभापतिमा निर्वाचित भए ।
कांग्रेसभित्रको विवाद पेचिलो बन्दै गएका बेला भदौ २३ गतेको हिंसा र २४ गतेको विध्वशंका क्रममा देउवामाथि नै भौतिक आक्रमण भयो । देउवाले पछिल्लो समय विश्वास गरेका नेताहरू नै तत्काल पार्टी नेतृत्वबाट उनलाई विस्थापित गर्ने अभियानमा सक्रिय हुँदा पुस २७ गतेबाट काठमाडौंमा भएको विशेष महाधिवेशनबाट देउवा कांग्रेस नेतृत्वबिहीन बन्न पुगेका छन् । पुस ३० गते विशेष महाधिवेशनले गगनकुमार थापालाई निर्वाचित गरेको थियो । त्यसविरुद्ध देउवा पक्षीय नेता सर्वोच्च अदालत गएका थिए । तर, अदालतले पनि उनीहरूको पक्षमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । त्यससँगै संसदीय राजनीतिमा देउवा अलग भएका छन् । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा उनले उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । २०४८ सालदेखि अनवरत निर्वाचित देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ ।
प्रकाशित: ६ माघ २०८२ २१:५८ मंगलबार





