नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले इनिशा बिकको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गर्न माग गरेका छन्।
उनले सामाजिक सञ्जाल मार्फत घटनाको छानबिन गरेर दोषीलाई कानुनी कारबाही गर्न माग गरेका हुन्। उनले इनिशाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
'सुर्खेतमा सोह्र वर्षीया बालिका इनिशा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको आपराधिक घटनाले मलाई मर्माहत बनाएको छ। मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,' उनले थपे, 'घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न म सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछु।'
गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भएकी र हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशा गत फागुन २३ गते सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। अस्पताल पुर्याउँदा उनलाई मृत घोषणा गरिएको थियो। प्रहरीले बलात्कारपछि हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
प्रकाशित: २८ फाल्गुन २०८२ १४:५० बिहीबार





