नागरिक लगानी कोषमा आठ लाखभन्दा बढी नागरिक आवद्ध भएका छन् । २०४८ माघदेखि २०८२ पुस मसान्तसम्ममा लगानी कोष उक्त संख्यामा नागरिकहरू आवद्ध भएका हुन् ।
नागरिक लगानी कोषका सूचना अधिकारी उद्धवराज सिलवालका अनुसार लगानी कोषमा हालसम्म आठ लाख चार हजार पाँच सय जना नागरिक आवद्धता भएको छ ।
कोषमा हालसम्म कोषको कुल कोष मौज्दात दुई खर्ब ९६ अर्ब रुपैयाँ रहेकोमा कुल लगानी दुई खर्ब ९५ अर्ब रुपैयाँ रहेको सूचना अधिकारी सिलवाल बताउँछन् ।
कोषले सातवटा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । कोषले सञ्चालन गरेको कर्मचारी बचत वृद्धि अवकाश कोषमा सहभागी संख्या तीन लाख ७३ हजार जना, उत्पादन तथा पेन्सन योजनामा सहभागी संख्या ३७ हजार जना, लगानीकर्ता तथा अवकाश कोष योजनामा सहभागी संख्या साढे १३ हजार जना र नागरिक पेन्सन योजनामा सहभागी संख्या १४ हजार जना आवद्ध रहेको लगानीको कोषको तथ्यांकमा उल्लेख छ ।
यस्तै निजामती कर्मचारी बिमामा सहयोगी संख्या एक लाख चार हजार जना, शिक्षक बिमामा सहभागी संख्या ८४ हजार जना, नेपाली सेना बिमामा सहभागी संख्या ५८ हजार जना, नेपाली प्रहरी बिमामा सहभागी संख्या ५७ हजार जना र सशस्त्र प्रहरी बिमामा सहभागी संख्या २८ हजार जना आवद्धता रहेको लगानी कोषले जनाएको छ ।
देश आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पुँजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसरहरू बढाउन तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य राखेर नागरिक लगानी कोषको स्थापना गरिएको हो । यो कोष नागरिक लगानी कोष ऐन, २०४७ अनुसार २०४७ साल चैत ४ गते स्थापना गरिएको हो । २०४८ साल माघ १ गतेदेखि कोषले औपचारिक रूपमा कारोबार सञ्चालनमा ल्याएको हो ।
कोषले आफ्ना उद्देश्य प्राप्तिका लागि सर्वसाधारण, विभिन्न संगठित संघ–संस्थामा कार्यरत कर्मचारी/ कामदार तथा संगठित संघ–संस्थाहरूबाट समेत विभिन्न कार्यक्रमअन्तर्गत बचत संकलन गरी त्यसरी संकलित बचत रकमलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी प्रबन्ध गर्दै आएको छ ।
नागरिक लगानी कोषद्वारा प्रदान गरिने सहभागी सापटी तथा कर्जासमेत दिँदै आइरहेको छ । विशेष सापटीअन्तर्गत कर्मचारी बचत वृद्धि अवकाश कोषमा सहभागीहरूलाई कोष कट्टी जम्मा रकमको बढीमा ९० प्रतिशतसम्म, नागरिक पेन्सन योजना र उत्पादन तथा लगानीकर्ता हिसाब योजनामा सहभागीहरूलाई कोष कट्टी जम्मा रकमको बढीमा ८० प्रतिशतसम्म पाउने ।
धितोमा आधारित कर्जाहरूमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा लगानीकर्ता हिसाब योजना र नागरिक पेन्सन योजनाका सहभागीहरूलाई अवकाश कर्जा, सरल कर्जा र सवारी कर्जा प्रदान गर्दै आइरहेको छ ।
यस्तै लगानी कोषले नागरिक पेन्सन योजना अन्तर्गत सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले कोषको बचत कार्यक्रमको दायरामा नसमेटिएका नेपाली नागरिकलाई आबद्ध गराइ बृहत् रूपमा ‘नागरिक पेन्सन योजना’ सञ्चालनमा ल्याइएको लगानी कोषले जनाएको छ ।
पेन्सनमा सहभागिता सम्बन्धी व्यवस्थामध्ये यस योजनाअन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था एंव प्रतिष्ठानमा कार्यरत श्रमिक/ कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् ।
पेन्सन योजनामा बचतकर्ताहरूले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् ।
बचतकर्ताको आम्दानीको आधारमा मासिक/ त्रैमासिक/ अर्धवार्षिक/ वार्षिकरूपमा रकम जम्मा गर्न सकिने विशेषतासमेत रहेको लगानी कोषले जनाएको छ । यस्तो किस्ता बुझाउँदा मासिक पाँच सय रुपैयाँभन्दा कम नहुने गरी बुझाउनुपर्ने छ ।
सूचना अधिकारी सिलवालका अनुसार नागरिक लगानी कोषमा आवद्धता हुन आउने नागरिकको संख्या बढ्दोक्रममा रहेको छ । निजामती कर्मचारीहरूको नयाँ दरबन्दीहरू थपिँदै जाने भएकाले गर्दा पनि लगानी कोषमा आवद्धताको संख्या बढ्दै गएको सूचना अधिकारी सिलवाल बताउँछन् ।
कोषमा मात्रै नभई नागरिक पेन्सन योजनामा पनि आवद्धताको संख्या बढ्दै जान थालेको छ । पेन्सन योजनामा पनि नागरिकहरू आवद्ध हुन आउने संख्या क्रमशः बढ्दै जान थालेको सूचना अधिकारी सिलवालको भनाइ छ ।
केन्द्रीय कार्यालयदेखि प्रादेशिक कार्यालयहरूले कोष र पेन्सन योजना सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । नागरिक कोष सम्बन्धी जनचेतना दिने उद्देश्यका साथ संघ संस्थालगायत विद्यालयहरूमा महिनाको दुई/तीन पटक अन्तरक्रिया कार्यक्रमहरू गर्दै आइरहेको सूचना अधिकारी सिलवाल बताउँछन् ।
विभिन्न सोसल मिडियाको माध्यममार्फत पनि लगानी कोष सम्बन्धी जनचेतना मुलक सन्देशहरू प्रकाशन प्रकाशरण गर्दै आइरहेको सूचना अधिकारी सिलवालको भनाइ छ ।
प्रकाशित: ६ माघ २०८२ २२:११ मंगलबार




