उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधारका कार्यक्रम अघि बढाएको बताएका छन् ।
समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी छलफलका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकको मृत्यु, स्वास्थ्य सेवा, श्रमिक संरक्षण, श्रम कूटनीति तथा विभिन्न गन्तव्य मुलुकमा रोजगारी व्यवस्थापनका विषयमा मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिए ।
उनले वैदेशिक रोजगारीका क्रममा वार्षिक करिब ७०० नेपाली श्रमिकको प्राकृतिक कारणले मृत्यु हुने र थप तीनदेखि चार सयजना मिर्गौला फेललगायत स्वास्थ्य समस्याका कारण फर्किने गरेको बताए। दुर्घटनाका घटनासमेत हुने भएकाले श्रमिकको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
उनले भने,‘वार्षिक करिब ७०० जना श्रमिक प्राकृतिक कारणले मृत्यु भएर फर्किने गरेका छन् । थप तीनदेखि चार सयजना मिर्गौला फेललगायत स्वास्थ्य समस्याका कारण स्वदेश फर्किने गरेका छन् । दुर्घटनाका घटनासमेत भइरहेका छन् । त्यसैले श्रमिकको स्वास्थ्य सुरक्षा सुधार गर्न प्रभावकारी टेलिमेडिसिन सेवा, नियमित स्वास्थ्य परीक्षण र अन्य सुधारका कार्यक्रम अघि बढाउन आवश्यक छ ।’
मन्त्री यादवले हाल सञ्चालनमा रहेको टेलिमेडिसिन सेवा प्रभावकारी नभएकाले विशेषज्ञ चिकित्सकसमेत जोडिने गरी नयाँ वेब–आधारित टेलिमेडिसिन पोर्टल निर्माण भइरहेको जानकारी दिए । यसबाट श्रमिकले आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन सक्ने उनले बताए ।
प्रकाशित: २० श्रावण २०८३ १५:२९ बुधबार





