नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनः आफ्नै नाम र वैचारिक पहिचानसहित राजनीतिक यात्रामा अघि बढ्ने भएको छ।
पार्टीले आफू स्थापना कालदेखि नै नेपालको वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने उद्देश्यका साथ क्रियाशील रहेको उल्लेख गर्दै आगामी दिनमा पनि वैकल्पिक राजनीतिको अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
पार्टीका अनुसार विभिन्न राजनीतिक शक्तिबीच भएको एकीकरणपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नाम परिवर्तन गरी प्रगतिशील लोकतान्त्रिक पार्टी राखिएको थियो। तर निर्वाचनपश्चात् उत्पन्न भएका वैचारिक, राजनीतिक तथा संगठनात्मक मतभेदलाई समाधान गर्न भएको आपसी सहमतिअनुसार अब हालको दललाई पुनः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कै नाममा सञ्चालन गर्ने गरी निर्वाचन आयोगमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने भएको छ।
सहमतिपत्रको बुँदा नं. ३ अनुसार सन्तोष परियारको नेतृत्वमा रहने पक्षले “प्रगतिशील लोकतान्त्रिक पार्टी” नामको नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक प्रक्रिया अघि बढाउनेछ। त्यसैगरी, निर्वाचन आयोगमा दर्ता रहेको “आँखा” चुनाव चिह्न दुर्गा सोबको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कै कायम रहने सहमति भएको जनाइएको छ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आफू नेपालको वैकल्पिक राजनीतिलाई स्थापित गर्ने उद्देश्यका साथ स्थापना भएको राजनीतिक शक्ति भएको उल्लेख गर्दै बैज्ञानिक मानववादमा आधारित '५ स' - स्वाधीनता, संघीयता, सुशासन, समृद्धि र समुन्नत समाजवादका लागि निरन्तर संघर्षरत रहेको जनाएको छ। पार्टीले वैकल्पिक राजनीतिको आवश्यकता आज झन् सान्दर्भिक बन्दै गएको भन्दै आगामी दिनमा जनअपेक्षाअनुरूपको 'विचारसहितको वैकल्पिक राजनीति' निर्माणमा केन्द्रित हुने जनाएको छ।
पार्टीले सहमतिअनुसार दुवै पक्षले एकअर्काको राजनीतिक अस्तित्व, संगठनात्मक स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकारको सम्मान गर्दै आ-आफ्नो राजनीतिक यात्रा अघि बढाउने विश्वास व्यक्त गरेको छ। साथै, राष्ट्रिय हित, लोकतन्त्र, संविधान तथा सामाजिक न्यायका साझा मुद्दामा आवश्यक सहकार्य र संवादको वातावरण कायम रहने पनि जनाएको छ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले सहमतिलाई लोकतान्त्रिक संस्कृतिको उदाहरणका रूपमा उल्लेख गर्दै अब पार्टी आफ्नो मौलिक वैचारिक आधार र वैकल्पिक राजनीतिको अभियानलाई नयाँ उत्साहका साथ अघि बढाउने बताएका छन्। पार्टीले नेता-कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई भ्रममा नपरी आधिकारिक जानकारीमा विश्वास गर्न तथा वैकल्पिक राजनीतिको अभियानमा साथ दिन पनि आग्रह गरेको छ।
प्रकाशित: २० श्रावण २०८३ २०:५१ बुधबार





