१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरोनाले बदलिदियो पर्यटकको घुमघाम शैली

विदेशी पर्यटकले यात्रा ‘होल्ड’ गर्न थालेः व्यावसायी

अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका विदेशी पर्यटक। फाइल तस्बिरः नागरिक

कोरोना संक्रमण सुरु हुनुअघि नेपाल आउँदा विदेशी पर्यटकले कम्तिमा ६ महिना अघि नै होटल बुकिङ गर्दथे। कतिपयले त एकवर्ष अघि नै बुकिङ गरिसकेका हुन्थे। महिनौं अघि अग्रिम बुकिङ आउँदा होटल व्यावसायी पनि ढुक्क हुन्थे। महिनौं अघिको अग्रिम बुकिङ अत्यावश्यक अवस्थामा बाहेक हत्तपत्ति ‘रद्द’ हुँदैनथ्यो।  

तर, कोरोना भाइरस संक्रमणले विदेशी पर्यटकको यात्रा शैली बदलिएको छ। पर्यटन व्यावसायीका अनुसार पछिल्लो समय न्यून संख्यामा मात्र विदेशी पाहुना आएका छन्। तर, ती पाहुनाको यात्रा शैली बढीमा दुईसाता अवधिको मात्र हुने गरेको छ। कोरोना संक्रमणले गर्दा विदेशी पर्यटकले लामो अवधि ग्याप राखेर बुकिङ गर्न छाडेका छन्। पछिल्लो समय बुकिङ छोटो समयको हुने भएकोले पर्यटनमा अनिश्चितता बढ्दै गएको व्यवसायी बताउँछन्। कम समय राखेर आउने पाहुनाको बसाई अवधि पनि पहिले भन्दा कम हुन थालेको व्यावसायी बताउँछन्।  

‘कोरोना संक्रमण सुरु हुनुअघि विदेशी पाहुनाले ६ महिनादेखि एकवर्ष अघि नै होटल बुकिङ गरिसकेका हुन्थे। तर, अहिले त दुईसाताको अन्तरमा मात्र पाहुनाबारे थाहा हुन्छ,’ फिस्टेल लजका महाप्रबन्धक रोशन खवास भन्छन, ‘दुईसाता अघि बुकिङ गरेका पाहुनाको आगमन पनि निश्चित छैन। किनकी कोरोनाले यात्राशैली बिथोलिएको छ।’ उनका अनुसार विदेशी पाहुनाले महिनौ अघि बुकिङ गर्न छाड्नुको कारण हो–कोरोनाले यात्रा नै अनिश्चित बनाईदिएको छ। घुमघाममा निस्कन पाउने वा नपाउने भन्ने नै निश्चित छैन। त्यसमा व्यक्तिगत संक्रमणदेखि स्वास्थ्यका मापदण्डले पनि फरक पारेको छ।

‘यात्राशैलीमा ब्यापक परिवर्तन आयो । छोटो अवधिका स्वस्थ रहेको रिपोर्ट पेश गरेर मात्र यात्रामा निस्कन पाइने अवस्था छ। त्यसले गर्दा पनि पाहुनाले अग्रिम बुकिङ गर्न छाडेका छन,’ उनले भने, ‘यात्रा गर्न पाइने वा नपाउने भन्ने नै निश्चित छैन। पाहुनाले घुमघामको योजना पनि बनाउन सकेका छैनन।’ खवासका अनुसार घुमघाममा निस्कने पाहुनाले बुकिङ गरे अनुसार यात्रा गर्दथे। उनीहरुको गन्तव्य, यात्रा र बसाई तथा घुमघामबारे यकिन भईसकेको हुन्थ्यो। तर, अहिले त्यो अवस्था छैन।  

‘कोरोनाले कहाँ कतिबेला रोक्ने हो भन्ने नै यकिन छैन। त्यसले गर्दा पनि पर्यटकलाई अन्योल बनाएको छ,’ उनले भने। उनका अनुसार आउँदो सिजनको बुकिङ पनि अझैसम्म आएको छैन। एकाध सोधपुछ र बुकिङ आएपनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले आउने योजनामा रहेका पाहुनाको यात्रालाई पनि अनिश्चित बनाइदिएको छ। आगामि फेब्रुअरीबाट पर्यटकीय सिजन सुरु हुन्छ। तर, एकमहिना अघिसम्म पनि अझै पाहुनाको बुकिङ आउने अत्तोपत्तो छैन। कोरोनाको दोश्रो लहर कमजोर भएपछि विदेशी पर्यटक आउनेमा आशावादी भएपनि नयाँ भेरियन्टले थप अन्योल बनाएको उनले बताए। ‘ओमिक्रोनको मार हामीलाई मात्र होईन, अन्यत्र पनि परेको छ। पर्यटनमा अझै केही समय अन्योल हुने देखिएको छ,’ खवासले भने।  

आएको पाहुनाको बुकिङ पनि रद्द हुन थालेको भन्दै व्यवसायी चिन्तित हुन थालेका छन्। ‘विदेशी पर्यटक कहिले आउने भनेर भन्न सकिन्न,’ टेम्पल ट्रि रिसोर्टका संचालक बसन्त गौतम भन्छन, ‘आउने तयारीमा रहेका पाहुनाको बुकिङ पनि रद्द भएको छ। उत्साहजनक बुकिङ आएको पनि छैन। ’ उनका अनुसार २०२२ को फेबु्रअरी–मार्च महिनाको बुकिङ रद्द हुन थालेको छ।  

‘विदेशी पाहुनाले योजनावद्ध तरिकाले यात्रा गर्छन। तर, अहिले तोकिएको बेलाको यात्रा नै अनिश्चित बनेको छ,’ गौतमले भने, ‘अब कहिले बुकिङ आउने भन्ने नै निश्चित छैन।’ गौतमका अनुसार टेम्पल ट्रि मा बुकिङ गरेका यूरोपियन पाहुनाको ७ वटा समुहले ओमिक्रोन भेरियन्टलाई कारण देखाएर बुकिङ रद्द गरेको हो। ‘संक्रमण कमजोर भएपछि आउने योजनामा उनीहरुले बुकिङ गरेका थिए। तर त्यही बुकिङ पनि रद्द भयो,’ उनले भने, ‘कम्तिमा ५०–६० जनाको बुकिङ रद्द भयो।’ यस्तै अवस्था रहे आउने तयारीमा रहेका अरु पाहुनाको बुकिङ पनि रद्द हुन सक्ने त्रास छ।  

गौतमका अनुभवमा नेपाली र भारतीय बाहेकका मुलुकका पाहुनाको अग्रिम बुकिङ महिनौ अघि हुने गर्छ। भारतीयले एकसाता अघि र नेपाली पाहुनाले भने आउने दिनै बुकिङ गर्छन।

 ‘नेपाली र भारतीय बाहेकका मुलुकका पाहुनाले महिनौं अघि नै होटल बुकिङ गरिसकेका हुन्थे। तर, अहिले त बुकिङ नै कम आएको छ। आउन चाहेका पाहुना पनि केहीदिन अघि मात्र यात्राको योजना बनाउन बाध्य छन। किनकी कोरोनाले कुनबेला कहाँ रोकिनुपर्छ भन्ने नै निश्चित छैन,’ उनले भने। आगामि मार्च–अप्रिलबाट विदेशी पाहुनाको आगमनमा व्यापक सुधार हुने अपेक्षा गरेको भएपनि नयाँ भेरियन्टले गर्दा आगमन समय थप पछाडि धकेलिने देखिएको उनले बताए।

पाँचतारे होटल पोखरा ग्राण्डका वरिष्ठ बिक्री प्रबन्धक कमल शेरचन पनि विदेशीको आगमन सामान्य कुराले पनि प्रभावित हुने बताउँछन्। यूरोपियन मुलुकका पाहुना झनै बढी संवेदनशील हुने गरेको उनले बताए। ‘उनीहरु निश्चित तालिका बनाएर यात्रामा निस्किन्छन। तर, कोरोना संक्रमणको बारम्बारको लहरले यात्रालाई अनिश्चित बनाइदिएको छ,’ उनले भने, ‘यात्रामै निस्कने वा ननिस्कने भन्ने नै यकिन छैन।’ कोरोनाले नेपालको मात्र नभई विश्वभरको पर्यटनलाई अनिश्चिततातर्फ धकेलिदिएको उनले बताए।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाका अनुभवमा भारतीय पाहुना निकै नै कम समय राखेर बुकिङ गर्दथे। लामो यात्रा गरेर आउने यूरोपियन र अमेरिकन मुलुकका पाहुनाले भने ६ महिनादेखि एकवर्ष अवधि राखेर अग्रिम बुकिङ गरेका हुन्थे। अग्रिम बुकिङ रद्द हुने दर बढिमा ४–५ प्रतिशत मात्र हुन्थ्यो। व्यक्तिगत समस्याले मात्र यात्रा रद्द गर्दथे। यात्रा पक्का गरेर मात्र बुकिङ गर्दथे। तर, अहिले पाहुनाको यात्राको शैली नै बदलिएको सापकोटा बताउँछन्।

‘बुकिङ पनि पहिल्यै आउन छाडेको छ। बुकिङ गरेपनि होल्ड गर्न थालेका छन्। लामो समयको बुकिङ कतै छैन,’ सापकोटाले भने, ‘भ्रमण तालिका कुनैपनि बेला बदलिनसक्छ। कोरोनाले व्यक्तिगत मात्र नभई विभिन्न गन्तव्यले तय गर्ने स्वास्थ्य मापदण्डले पनि फरक पार्न थालेको छ।’  

सापकोटाका अनुसार कोरोना अघि कतिपयले एडभान्समा रकम दिएर पनि होटल बुकिङ गरेका हुन्थे । त्यसले व्यवसायीलाई ढुक्क बनाउँथ्यो। तर, अहिले त्यो अवस्था नरहेको उनले बताए। ‘अहिले त बुकिङ पनि छोटो अवधिको छ। त्यसबाहेक बसाई अवधि पनि कम हुँदै गएको छ,’ उनले भने, ‘कोरोनाले कहाँ कतिबेला अवरोध गर्ने भन्ने नै निश्चित भएन। त्यसले गर्दा पर्यटक नै आएका पनि छैनन र आएका पर्यटक पनि दोधारमै छोटो समय घुमघाम सकेर फर्किन्छन।’  

प्रकाशित: ३ पुस २०७८ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App