जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकीकरण आगामी वैशाख १७ गते घोषणा हुने बताएका छन्। यो एकीकरण जनताको आकांक्षा र दबाबबाट प्रेरित रहेको उनले स्पष्ट पारे।
बुधबार नागरिकन्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै डा. राउतले जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरणले जनताको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे।
“पूर्वमा जनताले ममाथि र पश्चिममा रेशमजीमाथि ठूलो भरोसा गरेका छन्। दुवै पक्षका कार्यकर्ता एकीकरणको कुराले उत्साहित छन्,” उनले भने।
उनले यो एकीकरणका लागि आफूले पहल नगरेको तर जनताको चाहना र दबाबले यो प्रक्रिया अघि बढेको सुनाए। “म कसैलाई पार्टीमा आउन भन्दिनँ, तर जनताको आकांक्षाले हामीमाथि दबाब छ। यदि हामीले यो गर्न सकेनौं भने जनताले हामीलाई के भन्लान् ?” उनले भने।
डा. राउतले एकीकरणमा ढिलाइ नभएको र प्रक्रिया जारी रहेको उल्लेख गर्दै वैशाख १७ गते औपचारिक घोषणा हुने सम्भावना रहेको जनाए। “दुई शक्ति एक भएपछि जनताको अधिकार प्राप्तिमा बल पुग्छ,” उनले जोड दिए।
प्रकाशित: १० वैशाख २०८२ १९:५९ बुधबार





