अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अर्थतन्त्रमा केही समय समस्या देखिए पनि पछिल्ला दिनमा आएको सुधारले सरकारको आत्मबल बढेको बताएका छन्। विश्वका अन्य मुलुकमा जस्तै नेपाली अर्थतन्त्रमा पनि कोभिडले करिब एक वर्षसम्म समस्या ल्याएको छ। यो अवधिमा मुलुकको बाह्य क्षेत्रमा खासै कुनै समस्या नदेखिए पनि अर्थतन्त्रको आन्तरिक पाटोले अझै पुरानो लय समात्न सकेको छैन। तर पनि पछिल्ला केही महिनामा आन्तरिक बजारमा देखिएको सुधारका कारण सरकारको आत्मबल बढेको अर्थमन्त्री पौडेलले बताए।
चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा मंगलबार सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले बजारमा देखिएको आर्थिक गतिविधि, राजस्व असुलीको अवस्थालगायतले आगामी केही दिनमा अर्थतन्त्रले पुरानो लय समात्ने अनुमान गरिएको बताए।
पौडैलले आगामी दिनमा अझै सुधार आउने अपेक्षा गरेकाले चालु वर्षको बजेटले राखेका लक्ष्यमा ठूलो परिमार्जन नगरेको जानकारी दिए। ‘आर्थिक वृद्धि, राजस्व संकलन, पुँजीगत र चालु खर्चमा बजेटले राखेको लक्ष्यमा धेरै परिवर्तन गरिएको छैन,’ अर्थमन्त्री पौडेलले भने, ‘आगामी दिनमा अर्थतन्त्रका गतिविधि झनै बढ्ने विश्वास लिएका छाैं।’
कोभिडका कारण विश्वका अझै पनि कतिपय ठूलो अर्थतन्त्र भएका मुलुक समस्याबाट मुक्त भएका छैनन्। तर नेपालमा भने सोचेभन्दा चाँडो सुधार भइरहेको छ। अहिले नै सानादेखि ठूला अधिकांश उद्योगहरू सञ्चालनमा आइसकेका छन्। सबैभन्दा समस्यामा परेको होटललगायत सेवा क्षेत्रमा थोरै भए पनि चहलपलह सुरु भएको छ। आर्थिक गतिविधिमा क्रमशः सुधार आएकाले अर्थतन्त्रका सूचक चाँडै नै सकारात्मक हुने विश्वास अर्थमन्त्री पौडेलको छ। ‘कोभिडविरुद्धको खोपसमेत लगाउन सुरु भएको र उद्योग, व्यापार, व्यवसाय सञ्चालन भएकाले आगामी दिन राम्रो हुन्छ,’ मन्त्री पौडेलले भने, ‘आर्थिक क्रियाकलाप, आवागमन र सेवा क्षेत्र सामान्यतर्फ उन्मुख भएका कारण अर्थतन्त्र पुरानो लयमा फर्किंदैछ।’
सरकारले समीक्षमार्फत किटानी नगरे पनि यो वर्ष मुलुकको आर्थिक वृद्धिदर औषत हुने अपेक्षा गरेको छ। अर्थसचिव शिशिर ढुंगानाले बजेटले यो वर्ष ७ प्रतिशतले आर्थिक वृद्धिदरको लक्ष्य लिएको बताए। सरकारको औषत लक्ष्य भनेको करिब चार÷पाँच प्रतिशतको आर्थिक वृद्धि हो। विश्व बैंकलगायतका दातृ संस्थाले भने आर्थिक वृद्धि २ प्रतिशत पनि नहुने प्रक्षेपण गरेका छन्। आर्थिक गतिविधि बढेसँगै राजस्व संकलन वृद्धि भएको सचिव ढुंगानाले बताए। ‘माघ महिनामा मात्रै ६६ अर्ब राजस्व संकलनको लक्ष्य थियो,’ उनले भने, ‘६९ अर्ब रूपैयाँ संकलन भएको छ।’ उद्योगहरू चल्न थालेको, राजस्व संकलन १४ प्रतिशतले वृद्धि भएको, औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थको आयात बढेकाले आर्थिक गतिविधि बढेको उनले बताए।
यो अवधिमा निर्यात ६.१ प्रतिशतले वृद्धि भएको र आयात ४.८ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ। यस्तै मुद्रास्फिति नियन्त्रणमा रहेको, कर्जा प्रवाह, निक्षेप संकलन बढ्न थालेको, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको प्रगति उत्साहजन रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए।
अनुत्पादक खर्चलाई कटौटी गरेर निर्वाचन र कोरोनाविरुद्धको खोपका लागि बजेट व्यवस्थापन गरेको सचिव ढुंगानाले जानकारी दिए।
समीक्षामार्फत् अर्थमन्त्री पौडेलले बजेटको आकार सुरुवाती विनियोजनभन्दा एक खर्ब ३० अर्ब रूपैयाँले घटाएका छन्। यो विगतका सरकारले गरेको कटौतीभन्दा धेरै होइन। प्रत्येक वर्षको समीक्षामार्फत करिब आठ १० प्रतिशतले बजेटको आकार घटाउने गरिएको छ।
सरकारले यो वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएकोमा घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड बनाइएको छ। यो विनियोजित बजेटको ९१.१९ प्रतिशत हो।
कोभिडको कारण पुँजीगत खर्च गत वर्ष खुम्चिएकोमा यो वर्ष करिब ८० प्रतिशत पुग्ने अर्थ सचिव ढुंगानाले बताए। ‘आर्थिक गतिविधि बढेको छ,’ उनले भने, ‘धेरै विकास आयोजनामा धमाधम काम भएकाले खर्च बढ्छ।’
वैशाखमा हुने निर्वाचनका लागि अर्थ मन्त्रालयले सात अर्ब रूपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ। अर्थमन्त्री पौडेलले निर्वाचनका लागि स्रोत सुनिश्चित गरेको जानकारी दिए। ‘निर्वाचन आयोगले खर्चका लागि माग गरेअनुसार स्रोत सुनिश्चित गरिएको छ,’ मन्त्री पौडेलले भने। निर्वाचन खर्चको आकार निर्वाचन आयोगले बनाउँदै गरेको उनले बताए।
एमसिसी नयाँ संसद्ले पास गर्छ : अर्थमन्त्री
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको भविष्य के हुने भन्ने अन्योल भैरहेका बेला अर्थमन्त्री पौडेलले एमसिसी नयाँ संसद्बाट पारित हुने बताए। ‘अहिले सरकारले आफ्नै बजेटमार्फत काम अघि बढाएको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘अनुमोदन भएपछि त्यसैअनुसार खर्च हुनेछ।’
अहिले एमसिसीका लागि आठ अर्ब रूपैयाँ स्रोत व्यवस्थापन गरेको अर्थ सचिव ढुंगानाले जानकारी दिए। ‘जग्गा अधिग्रहणका लागि बजेट व्यवस्था गरेका छौं,’ उनले भने, ‘सरकारले प्रसारण लाइन र सडकको काम गर्दै जान्छ।’
प्रकाशित: २८ माघ २०७७ ००:३८ बुधबार