१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बिहीबारदेखि सार्वजनिक यातायात चल्ने

यातायात व्यवसायीले आगामी बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् । यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनबीच भएको वार्ताले आगामी बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने टुंगो लागेको हो ।  

यातायात श्रमिकको सामूहिक कोरोना बिमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधा–आधा तिरिदिने सहमति भएसँगै यातायात व्यवसायी सवारी चलाउन तयार भएका हुन् । तर यातायात व्यवसायीले मंगलबार पत्रकार सम्मेलन गरेर मात्रै बिहीबारबाट सार्वजनिक यातायात खोल्ने घोषणा गर्ने महासंघका उच्च अधिकारीले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सवारी चालक र सहचालकको कोरोना बिमाको प्रिमियम रकममध्ये आधा बेहोर्ने सहमति जनाएसँगै वार्ता सकारात्मकतर्फ अघि बढेको बताए । ‘सरकार र व्यवसायीले कोरोना प्रिमियम बापतको रकम आधा–आधा बेहोर्ने सहमति भएको छ,’ उनले भने, ‘यातायात श्रमिक कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारको तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ ।’  

अध्यक्ष कर्माचार्यले मंगलबार दिउँसो २ः०० बजे सिद्धार्थ कटेजमा पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । ‘सरकारले साउन ७ गतेसम्म लकडाउन घोषणा गरेको छ,’ उनले भने, ‘त्यो अवधिसम्म सार्वजनिक सवारी साधन सञ्चालन गर्दैनौं । लकडाउन खुलेसँगै सञ्चालन गर्नेछौं ।’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्याला राईले यातायात श्रमिकका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाइजर, पन्जा, पिपिई) सम्बन्धित व्यवसायीले उपलब्ध गराउने सहमति भएको बताए ।  

उनले लामो, छोटो र मध्यम दुरीका सबै सवारी साधन सञ्चालन गर्न विभागमार्फत सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको बताए । यातायात व्यवस्था विभागमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, तीनवटा ट्रेड युनियनहरू (नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,  

अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ) र महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच छलफल भएको थियो । 

प्रकाशित: ६ श्रावण २०७७ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App