सरकारले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार राष्ट्रिय धान दिवस मनाउने तयारी गरिरहँदा यो वर्ष ११ महिनामा करिब ३१ अर्ब रुपैयाँको चामल आयात भएको छ। कुनै बेला चामल निर्यात गर्ने नेपालमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा बर्सेनि धान, चामल आयात बढिरहेको छ।
यो वर्ष सात लाख १५ हजार क्विन्टल चामल आयात भएको भन्सार विभागले जनाएको छ। विभागको तथ्यांकअनुसार जेठसम्म ३० अर्ब ८२ करोड ५८ लाख ७७ हजार रुपैयाँको चामल आयात भएको छ। सरकारले कृषि उत्पादन वृद्धि गर्न मल, बिउ, उपकरण र अनुदान व्यवस्था गरेर उत्पादन बढाउने बताउँदै आए पनि परिणाम देखिएको छैन।
सिँचाइ, मल र बिउ अभाव, गुणस्तरीय बिउ प्रतिस्थापन दर न्यून, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्बराशक्ति कमजोर हुनु र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन नसकेको धान विज्ञ भोलामान सिंह बस्नेत बताउँछन्। ‘उत्पादन वृद्धि गर्न नसक्दा चामल आयात बढेको छ,’ बस्नेतले भने, ‘धानमात्र नभएर कृषि क्षेत्रकै अवस्था उत्साहजनक छैन।’ उनका अनुसार सरकारले उत्पादन वृद्धि गर्ने कार्यक्रम ल्याउन सकेको छैन।
नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि यहाँका उपभोक्ताले भारत, चीन, अमेरिका, थाइल्यान्ड, इटाली, जापान, कोरिया, बंगलादेशलगायतका मुलुकबाट आयात गरिएको चामल प्रयोग गरिरहेका छन्। वैशाखसम्म २६ अर्ब ८७ करोड ३७ लाख रुपैयाँको चामल आयात भएकोमा जेठ महिनामा मात्र तीन अर्ब ९५ करोड रुपैयाँको चामल ल्याइएको छ। पोहोर करिब ३० अर्ब रुपैयाँको चामल आयात भएको थियो। यो वर्ष ११ महिनामा नै पोहोर भन्दा एक अर्ब ८२ करोड रुपैयाँ बढीको चामल ल्याइएको छ। यसरी हिसाब गर्दा यो वर्षको अन्त्यसम्म करिब साढे ३४ अर्ब रुपैयाँको चामल आयात हुने अनुमान छ।
कृषि उत्पादन वृद्धि गर्न बर्सेनि अर्बौं रुपैयाँ बजेट विनियोजन गरे पनि परिणाम देखिएको छैन। अहिले पनि किसानले ४७ वर्ष पुरानो धानको बिउ प्रयोग गरेका छन्। करिब ८५ प्रतिशत किसानले पुरानो धान प्रयोग गरिरहेका छन्। उन्नत जातको धानको बिउ प्रयोगमा ल्याएर १५÷२० प्रतिशत उत्पादन बढ्ने भए पनि किसानले उन्नत जातको बीउ पाउन सकेका छैनन्। धान लगाउने बेला रासायनिक मल नपाएर किसान भौंतारिरहेका छन्। सरकारी निकायको व्यवस्थापन नै फितलो भएको किसान अगुवा बताउँछन्। बिउ, मल, सिँचाइ व्यवस्था गर्न नसकेको नेपाल कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारी बताउँछन्।
कुनै बेला चामल निर्यात गर्ने नेपालमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा बर्सेनि धान, चामल आयात बढिरहेको छ।
उपभोक्ताले अन्य खाद्यान्न प्रयोग नगरी मसिनो चामल प्रयोग गर्ने प्रचलन बढेकाले चामल आयात बढेको कृषिका अधिकारी बताउँछन्। कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलका अनुसार मसिनो चामल विदेशबाट आयात भइरहेको छ। आयात प्रतिस्थापन गर्न मसिनो धान लगाउन प्रोत्साहन गरिएको छ। कृषिका अधिकारीले वार्षिक ६ लाख मेट्रिक टन चामल अपुग भएको दाबी गर्दै आए पनि ११ महिनामा सात लाख १५ हजार क्विन्टल चामल आयात भएको छ। यो वर्ष ५५ लाख ५० हजार टन धान उत्पादन भएको थियो।
जनसंख्या वृद्धिसँगै चामलको आयात बढेको दाबी गर्छन्। भात खाने प्रचलन बढेकाले पनि आयात बढेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठ दाबी गर्छन्। ‘मध्यम वर्गीय परिवारको अन्य खाद्यान्नको तुलनामा चामल प्रयोग बढिरहेको छ,’ प्रमुख श्रेष्ठले भने, ‘यसले चमलको माग बढेको हो।’
सरकारले उत्पादन वृद्धि गर्न आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायिकीकरण गर्ने बताउँदै आए पनि २० प्रतिशत किसानले मात्र यन्त्र प्रयोग गरेको कृषि विभागका सहसचिव प्रकाश सञ्जेल बताउँछन्। ‘यन्त्र प्रयोग गर्नेको संख्या बढ्दैछ,’ उनले भने, ‘प्रदेश तथा स्थानीय सरकारले उपकरणमा ५० देखि सय प्रतिशतसम्म अनुदान वितरण गरेका छन्,’ सञ्जेलले भने। धान रोपाइँको लागत महँगो भएका कारण कतिपय ठाउँमा किसानले धान लगाएका छैनन्।
सरकारले धान उत्पादन बढाउन केही वर्षदेखि मसिना तथा बासनादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम, बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन गर्दै आएको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न जिल्लामा धानका पकेट, जोन, सुपरजोन बनाइएको छ। कृषि अनुसन्धान परिषद् (नार्क) ले उन्नत जातका हर्दिनाथ–१, हर्दिनाथ–३ लगायतका धान सिफारिस गरेको छ।
उत्पादकत्व कमजोर
छिमेकी मुलुकको तुलनामा नेपालमा धानको उत्पादकत्व कम छ। नेपालमा यो वर्ष धान प्रतिहेक्टर ३.८ टन उत्पादन भएको छ। पछिल्ला पाँच वर्षमा धानको उत्पादकत्व सामान्य वृद्धि भएको छ। आर्थिक वर्ष ०७३÷७४ मा प्रति हेक्टर ३.१५ टन उत्पादन भएकोमा चालु आर्थिक वर्षमा प्रति हेक्टर ३.८ टन रहेको छ। पाँच वर्षको अन्तरमा प्रति हेक्टर ०.६५ टन मात्र उत्पादन बढेको छ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठका अनुसार भारतमा धानको उत्पादन प्रतिहेक्टर साढे चार टन र चीनमा प्रतिहेक्टर सात टन रहेको छ। भारत र चीनमा हाइब्रिड बिउ, मल, सिँचाइ, यान्त्रिकीकरण भएकाले उत्पादन धेरै भएको हो।
सिँचाइ अभाव
पर्याप्त सिँचाइको व्यवस्था नहुँदा अकासे पानीका भरमा धान रोप्नुपर्ने बाध्यता छ। मुलुकभर १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ। करिब ३२ प्रतिशत जमिनमा मात्र बाह्रै महिना सिँचाइ हुने गरेको छ। खेतीयोग्य करिब २५ प्रतिशत जमिन बाँझो छ। पोहोर मौसम राम्रो भएको कारण ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। मुलुकभर खेती गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धान खेती हुन्छ। क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ।
२५ प्रतिशत रोपाइँ
समयमा वर्षा सुरु भएकाले यो वर्ष आइतबारसम्म करिब २५ प्रतिशत धान रोपाइँ भएको छ। कृषि विभागले गत बुधबारसम्मको तथ्यांक सार्वजनिक गर्दा २०.०५ प्रतिशत रहे पनि सोमबारसम्म करिब २५ प्रतिशत पुगेको कृषि विभागका अधिकारीले बताए। ‘आगामी बुधबार आधिकारिक तथ्यांक सार्वजनिक गर्छौं,’ विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलले भने, ‘आइतबारसम्म करिब २५ प्रतिशत पुगेको अनुमान गरेका छौं।’
गत बुधबारसम्मको तथ्यांकअनुसार उच्च पहाडमा २४.९४, मध्य पहाडमा १६.९१, तराईमा ९.११ प्रतिशत धान रोपाइँ भएको छ। गत बुधबारसम्म दुई लाख ७५ हजार २९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। पोहोर भन्दा यो वर्ष धान रोपाइँ करिब आठ प्रतिशत धेरै भएको छ। पोहोरको असार १० गते ११.६४ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष सोही दिनसम्म २०.०५ प्रतिशत रोपाइँ भएको छ।
प्रकाशित: १५ असार २०७७ ०२:०८ सोमबार