१ वैशाख २०८२ सोमबार
image/svg+xml १५:५६ अपराह्न
राजनीति

रूपान्तरणकारी कार्यक्रम नसमेटिएको भन्दै तीन तहले गरे प्रदेशको ध्यानाकर्षण

ताप्लेजुङका तीन स्थानीय तहहरूले पालिकाको समृद्धि र विकाससँग जोडिएका जैविक विविधता, स्थानीय उत्पादन र ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको संरक्षणमा मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मेरिङदेन गाउँपालिकाको आतिथ्यतामा सोमवार मिक्वाखोला र मैवाखोला गाउँपालिका समेतको सहभागितामा भएको त्रिपक्षीय छलफल महत्त्वपूर्ण निष्कर्ष र सहमतिका साथ सकिएको मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले जानकारी दिए । तीन पालिकाको भेलाले तीन बुँदे सामूहिक सङ्कल्प प्रस्ताव तथा ध्यानाकर्षण समेत पारित गरेको छ ।

सङ्कल्प प्रस्ताव तथा ध्यानाकर्षण पत्रमा मेरिङदेन गाउँपालिका अध्यक्ष हाङगाम, मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम र मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले हस्ताक्षर गरेका छन् । तीन पालिकाको बैठकले प्राकृतिक विपद् व्यवस्थापनका क्षेत्रमा तीन वटै पालिकाबिच सहकार्य गरी अघि बढ्ने तथा साझा सरोकारका बिषयमा साझा हितका लागि सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीन पालिकाको संयुक्त बैठकले कोशी प्रदेशले निर्माण गरेको दोस्रो आवधिक योजनामा प्रदेशका विभिन्न १९ वटा रूपान्तरणकारी कार्यक्रम छनौट गर्दा नसमेटिएकोमा कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

उक्त बैठकले ताप्लेजुङ जिल्ला जैविक विविधता तथा प्राकृतिक स्रोतहरूको प्रचुर सम्भावना भएको र यहाँ सञ्चालन गरिने परियोजनामार्फत सिङ्गो प्रदेशकै आर्थिक समृद्धिमा टेवा पुग्ने भएपनि रूपान्तरणकारी योजनामा प्रदेश सरकारले ताप्लेजुङलाई समेट्नु दुःखद भएको निष्कर्ष समेत निकालेको छ । तीन पालिकाको संयुक्त बैठकले नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौता अनुसार कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा मेरिङदेन,मैवाखोला र मिक्वाखोला गाउँपालिकालाई नसमेटिएको भन्दै कोशी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

उक्त परियोजना अन्तर्गत ४ वटा पदमार्गमध्ये लालीगुराँस पदमार्ग(तुम्लिङटार–खाँदवारी–नुम–गुफापोखरी–बसन्तपुर–जलजले–तीनजुरे–मिल्के)सहित २९ वटा स्थानीय तहलाई भौगोलिक क्षेत्रमा जोड्ने गरी निर्माण हुन लागेको पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा १ सय ६० किलोमिटर लामो प्रस्तावित लालीगुराँस पदमार्र्गले(तुम्लिङटार–खाँदवारी–नुम–गुफापोखरी–बसन्तपुर–जलजले–तीनजुरे–मिल्के)चैनपुर नगरपालिका,चिचला गाउँपालिका,धर्मदेवी नगरपालिका,खाँदवारी नगरपालिका,मादी नगरपालिका, मकालु गाउँपालिका,पाँचपखन गाउँपालिका,सभापोखरी गाउँपालिका,सिलिचोङ गाउँपालिका,लालीगुराँस नगरपालिका,म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका हुँदै ताप्लेजुङको मैवाखोला,मेरिङदेन र मिक्वाखोला गाउँपालिकालाई समेट्ने दाबी तीन स्थानीय तहले गरेका छन् ।

उक्त परियोजनाले ताप्लेजुङका उल्लेखित तीन स्थानीय तहलाई नसमेट्नु गम्भीर विषय भएको भन्दै बैठकले कोशी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय लिएको छ । 

प्रकाशित: २४ चैत्र २०८१ १७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App