coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

धान सिजनमा मल अभाव

मोरङ सुनवर्षीका किसान धानको वीउ उखेल्दै । पूर्वी तराई क्षेत्रमा धान रोपाइँको सिजन सुरू भएको छ । तस्बिरः चुमन बस्नेत/नागरिक

प्रदेश १ मा धान लगाउने  सिजनमै रासायनिक मल अभाव भएको छ । समयमै आयात नहुँदा धान लगाउने सिजनामा मल अभाव भएको हो । सरकारले कृषिलाई प्राथमिकता राखेको बताइरहेपनि मुख्यवाली धान लगाउने सिजनमै मल अभाव भएपछि भनाई र व्यवहारमा फरक देखिएको छ ।

प्रदेश १ मा मल आपूर्ति गर्दै आएका कृषि सामाग्री कम्पनी प्रालि र साल्ट ट्रेडिङ लिमिटेडमा धान सिजनका लागि युरीया मलको मौज्दात सकिएको छ । धान लगाउने सिजन सुरू भइसके पनि अझै युरीया मल आउने अत्तोपत्तो नभएको कृषि समाग्री कम्पनी प्रालि  क्षेत्रीय कार्यालय विराटनगरका सूचना अधिकारी नवरत्न गौतमले बताए । गौतमका अनुसार धान लगाउने सिजन सुरू भएपनि कम्पनीको विराटनगर स्थित गोदाममा युरीया मलको मौज्दात सकिएको छ । 

‘गोदाममा युरीया मलको मौज्दात सकिएको छ, ’गौतमले भने, ‘कहिले आउँछ भन्ने टुंगो पनि छैन ।’ कृषि समाग्री कम्पनीमा मात्रै हैन  मल आपूर्ति गर्ने अर्को सरकारी कम्पनी साल्ट ट्रेडिङमा पनि युरीया मलको मौजदात छैन । साल्ट ट्रेडिङ कम्पनी विराटनगर कार्यालयका प्रमुख राधेश्याम चौधरीका अनुसार साल्ट्रेडिङको विराटनगर स्थित गोदाममा युरीया मलको मौज्दात सकिएको छ । ‘गोदाममा युरीया मल सकिएको छ,’ चौधरीले भने, ‘कहिले आउने भन्ने बारेमा केन्द्रिय कार्यालयबाट कुनै जानकारी आएको छैन ।’ युरीया मलको चरम अभाव भएपनि डिएपी मल भने दुबै कम्पनीसँग प्रयाप्त रहेको छ ।

आयात गरिएको मल पनि नियमित रुपमा गोदाममा आइरहेका कारण धान सिजनलाई डिएपी मलको अभाव नहुने कृषि सामाग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ । सूचना अधिकारी गौतमले भने, ‘भारतबाट ४ हजार ५ सय टन मल आउनेक्रममा रहेको र केहि मल आइसकेका कारण धान सिजनलाई डिएपी मल अभाव हुँदैन ।’ 

यता साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड विराटनगरको गोदाममा पनि डिएपी मल प्रयाप्त रहेको छ । साल्टट्रेडिङ लिमिटेड विराटनगर कार्यालयका प्रमुख चौधरीका अनुसार हाल साल्ट ट्रेडिङको गोदाममा डिएपी मल एक हजार टन मौज्दात छ । यस्तै पाँच हजार टन आउनेक्रममा छ । गोदाममा मल मौज्दात रहेको र भारतबाट पनि मल आउन थालेकाले धान सिजनलाई डिएपी मल अभाव नहुने चौधरीले जानकारी दिए । 

विगतका वर्षमा भारतबाट चोरी तस्करी भई ठूलो परिमाणमा मल आयात हुने गरेकामा यो वर्ष लक डाउनका कारण सीमा बन्द भएकाले तस्करी भएर हुने आयात ठप्प छ । चोरी तस्करीबाट मल नभित्रिएका कारण साल्टट्रडिङ र कृषि समाग्री कम्पनीकै मलमा किसानले निर्भर बन्नु परेको छ । तत्काले मल आयात नभए धान उत्पादनसमेत प्रभावित हुने किसानहरू बताउँछन् । पूर्वी तराईका जिल्लाहरूमा धान रोपाइँ गर्दा ५० प्रतिशत  युरीया र  ५० प्रतिशत डिएपी मिसाएर खेतमा लगाउने प्रचलन छ । प्रदेश १ मा तीन लाख हेक्टर भन्दा बढी क्षेत्रफलमा धान खेति गरिंदै आएको छ ।

प्रकाशित: १० असार २०७७ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App