वैदेशिक रोजगारी छाडेर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालनबाट राम्रो कमाइ गरेका छन्। उनले ११ वर्ष मलेसिया र दुबईमा काम गरे। उनले भने, ‘विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा आठ घण्टा पनि काम गर्दैनौँ, तर धेरै कमाइ खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ।’
बिहान ४ बजे उठेर गाई दुहुने, गाउँका अन्य किसानको दूध लिएर घोराही बजारको डेरीमा पुर्याउने, घर फर्केर गाईको हेरचाह गर्ने-यस्तै छ थापाको दैनिकी। विदेशको जस्तै कामको चाप भए पनि उनले पाँच वर्षदेखि यो काम एक दिन पनि छुटाएका छैनन्।
उनलाई लाग्छ-म एक दिन बिरामी भएँ भने यो दूध भोलि कहाँ बेच्नु? गाईलाई दाना-पानीको काम परिवारका अन्य सदस्यले गरे पनि दूध बजार पुर्याउने काम थापा आफैँ गर्छन्। सुरुमा दुई गाईबाट यो पेसा सुरु गरेका थापासँग अहिले १७ गाई छन्, जसमध्ये सातवटा दुहुना छन्। दैनिक ८० लिटर दूध उत्पादन हुने गरेको उनको भनाइ छ।
विदेशमा कमाएको पैसाले घोराही बजारमा घडेरी किनेर एकतले घर बनाएका थापाले स्वदेश आएपछि ट्रक किन्ने र बाख्रा पाल्ने काम पनि गरे। तर, ती पेसामा सफल नभएका थापा गाईपालनमा भने सफल छन्।
उनले भने, ‘मैले मासिक एक लाखभन्दा बढी कमाइ गरेको छु, मेहनत गरे आफ्नै देशमा पैसा फल्छ।’ गाईपालनबाट पाँच वर्षमा थापाले करिब ५० लाख कमाएर जिल्लाकै नमुना किसान बनेका छन्। रासस
प्रकाशित: २२ वैशाख २०८२ ११:१० सोमबार





