२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

प्रधानमन्त्रीलाई भेटेर महिला उद्यमीहरूले भने : विकासका लागि महिलाहरूलाई वित्तीय पहुँच अपरिहार्य

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर महिला उद्यमीहरूले देशको विकासका लागि महिलाहरूलाई वित्तीय पहुँच आवश्यक रहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरूले देशमा आर्थिक क्रान्ति ल्याउन महिला उद्यमीको भूमिका महत्त्वपूर्ण हुने दाबी गरे।  

अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा गएको महिला उद्यमी महासंघ नेपालका पदाधिकारी र कार्यसमिति समिति सदस्यहरूको प्रतिनिधिमण्डलले महिलाहरू संलग्न रहेको उद्योगलाई प्रोत्साहन गर्न, उद्यमीहरूलाई दिँदै आएको सहुलियतलाई निरन्तरता दिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए। 

अध्यक्ष ज्ञवालीले महिलाहरूले मुलुकभर सञ्चालन गरेका उद्योगको अवस्था राम्रो रहेको र रोजगारीको अवसर पनि प्रसस्तै रहेको जानकारी गराउँदै स्वरोजगार बन्न चाहाने सबै महिलालाई आर्थिक पहुँच उपलब्ध गराउन आग्रह गरिन्। आन्तरिक उत्पादनलाई सहयोग गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै अध्यक्ष ज्ञवालीले महिला उद्यमीहरूका लागि सरकारले दिँदै आएको सहुलियत ऋण र सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरेकी थिइन्।  

जवाफमा प्रधानमन्त्री ओलीले महिला उद्यमीहरूको उत्पादनलाई प्रोत्साहन गर्न र उनीहरूलाई आर्थिक रूपमा सबल बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए।  

सो अवसरमा उद्यमी महासंघले प्रधानमन्त्री ओलीलाई ललितपुरको सानेपामा आयोजना गर्न लागेको ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको निम्तासमेत दिएको थियो। महासंघले स्वदेशी खाऔं, स्वदेशी लाऔं, स्वदेशी उद्यमशिलतालाई प्रोत्साहन गरौं भन्ने नाराका साथ यही चैत १४ देखि १८ गतेसम्म व्यापार मेला आयोजना गर्दैछ।  

जवाफमा प्रधानमन्त्री ओलीले मेला उद्घाटनका लागि प्रमुख अतिथिका रूपमा उपस्थित हुने प्रतिबद्धता जनाएको महासंघ अध्यक्ष ज्ञवालीले जानकारी दिइन्।

सरकारले हालै ल्याएको अध्यादेशमा महिला उद्योग र उद्यमीलाई अगाडि बढाउन डिजिटल लिटरेसीलगायतका केही बुँदा समेत समावेश गरेकोमा अध्यक्ष ज्ञवालीले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएकी थिइन्।

प्रकाशित: २५ माघ २०८१ १९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App