जुम्लाको नाग्म–गमगडी सडक हुँदै यात्रा गर्ने जो–कोही सिँजाको उकालो पार गर्दा दायाँतिर देखिने केही पुराना भवनतर्फ एकछिन नजर रोक्छ। न घेराबार छ, न विद्यार्थीको चहलपहल। वर्षायाममा गौचरण जस्तै देखिने खुला मैदान र जीर्ण भवनहरू नै सिँजा बहुमुखी क्याम्पस हुन्।
२०६७ सालमा क्याम्पस स्थापना हुँदा जुम्लाको सिँजा, कनकासुन्दरी र हिमा गाउँपालिकाका बासिन्दामा ठूलो आशा पलाएको थियो। ‘घरआँगनमै क्याम्पस आयो’ भन्ने उत्साह गाउँ–गाउँमा फैलिएको थियो। पहिलो वर्षमै झन्डै तीन सय विद्यार्थी भर्ना भएका थिए, जुन दुर्गम जुम्लाका लागि उल्लेखनीय उपलब्धि मानिन्थ्यो।
तर समयसँगै अवस्था फेरियो। हाल क्याम्पसमा वर्षभरि नियमित कक्षा चल्दैन। हरेक वर्ष जम्मा १५–२० जना विद्यार्थी मात्र भर्ना हुन्छन्, तीमध्ये धेरैजसो यहाँ पढ्नभन्दा पनि क्याम्पसको नाममा परीक्षा दिन मात्र आउने गरेका छन्।
‘क्याम्पस चलाउन विद्यार्थीले तिरेको शुल्क नै मुख्य सहारा हो,’ क्याम्पस प्रमुख तीर्थ नेपाल भन्छन्, ‘स्थायी शिक्षक छैनन्, दरबन्दी छैन। पार्टटाइम शिक्षकले जसोतसो पढाइरहेका छन्।’
सिँजा बहुमुखी क्याम्पसले २०६९ सालमै त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायमा स्नातक तह सञ्चालनको स्वीकृति पाएको थियो। अङ्ग्रेजी, नेपाली, गणित, अर्थशास्त्र, मार्केटिङ र फाइनान्स विषय पढाइ सुरु गरिए पनि स्वीकृति पाएपछि राज्यको भूमिका लगभग सकिएको क्याम्पस प्रशासनको गुनासो छ। न बजेट आयो, न शिक्षक दरबन्दी, न त पूर्वाधार सुधार नै भयो। यसको परिणामस्वरूप क्याम्पस बिस्तारै नाम मात्रको शैक्षिक संस्थामा सीमित हुन पुगेको छ।
क्याम्पसका भवनहरू जीर्ण अवस्थामा छन्। भिरालो जमिन भएकाले वर्षेनी पहिरो खस्ने समस्या छ। घेराबार नहुँदा चौपाया चरिरहेका देखिन्छन्। कतिपय दिन क्याम्पस विद्यालयभन्दा पनि खाली चौर जस्तो देखिन्छ।
विद्यार्थी नआउनुको कारण केवल भौतिक अवस्था मात्र होइन। नियमित कक्षा नचल्नु, परीक्षा केन्द्र अन्यत्र पर्नु र शिक्षकको अभावले विद्यार्थीलाई बाहिर जान बाध्य बनाएको छ। ‘यहाँ भर्ना भएर पनि पढ्न बाहिर जानुपर्छ भने किन भर्ना गर्ने?’ अभिभावकहरूको प्रश्न छ।
कनकासुन्दरी, सिँजा र हिमा गाउँपालिकाका विद्यार्थीको उच्च शिक्षा सहज बनाउने उद्देश्यले सिँजा–१ जाँचमा २०६७ सालमा सिँजा बहुमुखी क्याम्पस स्थापना गरिएको थियो। शिक्षाविद्हरू भन्छन्, दुर्गम क्षेत्रमा क्याम्पस खोल्नु मात्र पर्याप्त हुँदैन। निरन्तर सरकारी लगानी, गुणस्तरीय शिक्षक र स्थानीय आवश्यकताअनुसारको पाठ्यक्रम नभएसम्म क्याम्पस दीगो बन्न सक्दैन।
यही अवस्थालाई लिएर सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा टोली हालै काठमाडौँ पुगेको छ। टोलीले शिक्षामन्त्री महावीर पुनसँग भेट गरी सिँजा बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउन माग गरेको हो।
‘यो क्षेत्रको एकमात्र उच्च शिक्षा केन्द्र हो,’ धितालले मन्त्रीसँग भने, ‘यसलाई जोगाउन सकिएन भने विद्यार्थीको भविष्य अन्धकार हुन्छ।’
भेटका क्रममा मन्त्री पुनले क्याम्पसलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। टोलीले विश्वविद्यालय अनुदान आयोगमा पुगेर शिक्षक दरबन्दीको माग पनि गरेको छ।
तर सिँजाका बासिन्दा यस्ता प्रतिबद्धता यसअघि पनि धेरै पटक सुन्न बाध्य भइसकेका छन्। कर्णाली राजमार्गको नाग्म–गमगडी सडकसँगै रहेको यो क्याम्पस पर्यटन, इतिहास र शिक्षा जोड्ने केन्द्र बन्न सक्थ्यो। अहिले भने यही सडक हुँदै हिँड्ने धेरै यात्रु क्याम्पस देखेर हाँसो उडाउने अवस्था छ।
१५ वर्षअघि देखिएको सपना आज प्रश्न बनेको छ। सिँजा बहुमुखी क्याम्पस फेरि विद्यार्थीको आवाजले गुञ्जिनेछ कि राज्यको बेवास्ताको अर्को उदाहरण बनेर इतिहासमै सीमित हुनेछ? यसको उत्तर अब आश्वासनले होइन, कार्यान्वयनले दिनेछ।
प्रकाशित: २० पुस २०८२ १९:३९ आइतबार





