३१ चैत्र २०८१ आइतबार
image/svg+xml १३:९ अपराह्न
अर्थ

शरद ऋतुमा २२४५ जनाले लिए हिमाल आरोहण अनुमति

गत वर्षभन्दा यस वर्षको शरद ऋतु (अगष्ट – डिसेम्बर) मा हिमाल आरोहण अनुमति लिनेको संख्या घटेको छ। शरद ऋतुमा यस वर्ष दुई हजार दुई सय ४५ आरोहीले मात्र हिमाल आरोहण अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार गत वर्षको शरद ऋतुमा दुई हजार चार सय सात जनाले विभिन्न ५४ हिमालको आरोहण गर्ने अनुमति लिएकोमा यस ऋतुमा दुई हजार दुई सय ४५ आरोहीले मात्र आरोहण अनुमति लिएका छन्। यस सिजनमा विभिन्न ४७ हिमाल आरोहणका लागि विभिन्न मुलुकका एक हजार नौ सय ४३ पुरूष र तीन सय एक महिला आरोहीले विभागबाट अनुमति लिएका छन्। जसमध्ये पाँच सय ४३ पुरूष र ८२ महिलाले मात्र विभिन्न हिमालको सफल आरोहण गरेका छन्। यसै सिजनमा गत वर्ष एक हजार ७१ जना पुरूष र ८७ महिला आरोहीले विभिन्न हिमालको सफल आरोहण गरेका थिए।

हिमाल आरोहीको संख्या घटबढ भइरहने गरेको थियो तर यस सिजनमा केही कमी आएको पर्यटन विभागका निर्देशक तथा प्रवक्ता कालीबहादुर भुजेलले बताए। ‘हिमाल चढ्ने कुरा सामान्य होइन, दृढ संकल्प भएकाले मात्रै आरोहण गर्ने आँट गर्छन्’, भुजेलले भने, ‘विभागले गरेको प्रक्षेपण अनुसार नै यस सिजनमा आरोहीहरू आएका छन्, हामीले वसन्त ऋतुमा आरोहीको संख्या बढ्ने अनुमान गरेका छौं ।’

विभागले प्रत्येक सिजनमा कति आरोही हिमाल आरोहण गर्न आउँछन् भन्ने अगाडि नै अध्ययन गर्ने गरेकोमा यस सिजनमा जति संख्यामा विभागबाट आरोहण अनुमति लिएका छन् त्यो सन्तोषजनक नै मान्नुपर्ने उनले बताए।

कोभिड महामारीपछि खुला भएको हिमाल आरोहणका लागि मानिसहरू सुरुको वर्षमा ह्वात्तै आएका कारण पनि गत वर्ष अहिलेभन्दा बढी आरोहीले विभागबाट अनुमति लिएको बुझाइ जानकारीहरूको छ।

यस्तै पछिल्लो पटक मुलुकमा आएको अनिश्चत प्राकृतिक प्रकोप, विभिन्न हवाई तथा सडक दुर्घटनाले पनि पर्यटकलाई प्रभाव पारेको हुनसक्ने उनीहरूको आकलन छ। साथै रसिया–युक्रेन युद्ध, इजराइल र प्यालेस्टाइनबीचको द्वन्द्वको असरले पनि नेपालको हिमाल आरोहण गर्न आउने आरोहीलाई प्रभाव पारेको उनीहरूको धारणा छ।

यसका साथै चीन र पाकिस्तानले पनि हिमाल आरोहणको लागि अनुमति खुला गरेकोमा कतिपय आरोहीहरू त्यतातिर पनि मोडिएको उनीहरूको भनाइ छ। यस्तै राज्यले प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय स्तरमा जति प्रभावकारी तवरले हिमाली पर्यटनको प्रचार प्रसार गर्नुपर्ने हो त्यो गर्न नसक्दा, पर्यटन व्यवसायीले हिमाल आरोहणको प्याकेज बेच्न नसक्दा पनि आरोहीको संख्या घटेको हुन सक्ने अनुमान उनीहरूले गरेका छन्।

हिमाल आरोहण गर्नेहरूको संख्या ऋतु अनुसार घटबढ हुने गरेको छ। शरद ऋतुमा मनास्लु र अमादब्लम हिमाल चढ्ने आरोहीहरू धेरै हुन्छन् भने वसन्त ऋतुमा सगरमाथा हिमाल चढ्ने आरोही धेरै हुन्छन्। यसैक्रममा विभागले यस ऋतुमा एक सय ६३ समूहका दुई हजार दुई सय ४४ जनाबाट राजस्व दस्तुरबापत आठ करोड ५९ लाख ९७ हजार रूपैयाँ संकलन गरेको छ।

यस्तै यस ऋतुमा आरोहणको क्रममा आठ जना आरोहीको मृत्यु भएको छ। धैलागिरी हिमाल आरोहण गर्ने क्रममा पाँच जना, कुम्भकर्ण, पान्ध्रा र लाङटाङ लिरूङ आरोहणका क्रममा एकएक जना गरी जम्मा पाँच आरोहीले यस ऋतुमा ज्यान गुमाएका छन्।

विभागले दिएको जानकारी अनुसार हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीको शव काठमाडौं ल्याउन विभाग र एजेन्सीहरू पटक पटक छलफलमा बसेका थिए। सोहीक्रममा धौलागिरी हिमालमा मृत्यु भएका पाँच रसियन नागरिक र लाङटाङ लिरूङमा मृत्यु भएका एक जनाको सम्बन्धित दूतावासमार्फत उनीहरूको आफन्तलाई शब बुझाइसकिएको छ ।

धवलागिरि (८,१,६७ मिटर) हिमालमा यस वर्ष शरद ऋतुमा एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणका लागि अनुमति लिएकोमा दुई जनाले सफल आरोहण गरेका थिए भने सात जना पर्वतरोहीबीच बाटोबाटै आरोहण रद्द गरी फर्किएका थिए।

यस्तै आर्थिक वर्ष २०८१/८२ मा ६ राष्ट्रका आठ पर्यटकको उद्धार भएको छ। विभागका अनुसार भारतका दुई, मलेसियाको दुई, फ्रान्स, चीन, फिलिपिन्स, अमेरिकाका एक–एक जना गरी जम्मा आठ पर्यटकको विभिन्न हिमाली क्षेत्र जाने क्रममा समस्या आएपछि उद्धार गरिएको हो।

हिमाल आरोहण र उच्च हिमाली भेगमा पदयात्रा गर्ने पर्यटकले मुलुकको पर्यटनको विकास र विस्तारमा सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। तुलनात्मक रूपमा हिमाल आरोहण र उच्च हिमाली भेगमा पदयात्रा गर्ने पर्यटकले पर्यटनको अन्य क्षेत्रमाभन्दा धेरै आर्थिक गतिविध गर्ने भएकाले पनि हिमाल आरोहणको संख्याले समग्र पर्यटन क्षेत्र प्रभावित हुन्छ ।

प्रकाशित: २७ मंसिर २०८१ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App