१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल रिपब्लिक मिडियाको चौथो वार्षिक साधारण सभा सम्पन्न

जनताप्रति उत्तरदायी पत्रकारिताको प्रतिवद्धता

नेपाल रिपब्लिक मिडिया लिमिटेडको चौथो वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। नेपालको पहिलो पब्लिक मिडिया कम्पनी नेपाल रिपब्लिक मिडियाले नागरिक दैनिक, रिपब्लिका दैनिक, नागरिकन्यूजडटकम, माइरिपब्लिकाडटकम लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको छ।

वार्षिक साधारण सभाका वक्ताहरूले रिपब्लिक मिडियाले जनउत्तरदायी भएर गुणस्तरीय पत्रकारिता गर्ने प्रतिवद्धता व्यक्त गरे। आधुनिक प्रविधिको प्रयोग गरेर विश्वसनीय र पारदर्शी पत्रकारितामा आफूहरू समर्पित भएको उनीहरूले बताए। 

उक्त अवसरमा अध्यक्ष बिनोदराज ज्ञवालीले रिपब्लिक मिडियाले नागरिकप्रति उत्तरदायी भएर काम गर्दै आएको बताए। यसले सधैँ नवीनतम सोच र तीव्र रूपमा विकास भइरहेको प्रविधिलाई पछ्याउँदै व्यावसायिक पत्रकारिता गर्दै आएको धारणा राखे।

‘विश्वसनीयता र पारदर्शीताको मार्गदर्शन अनुरूप नै सञ्चार माध्यम सञ्चालन गर्दै आएका छौँ,’ ज्ञवालीले साधारण सभामा भने, ‘नेपाली पत्रकारिताको क्षेत्रमा सधैँ पाठकहरूको चाहना अनुरूपका प्रकाशन पाठक समक्ष पुर्‍याउनुपर्छ भन्ने मान्यता राख्दै आएका छौँ।’

कम्पनीको आर्थिक वर्ष २०८०/८१ को व्यावसायिक तथा आर्थिक गतिविधि सुधारोन्मुख रहेको अध्यक्ष ज्ञवालीले बताए। ‘विभिन्न चुनौतीका बाबजुद पनि व्यावसायिक तथा आर्थिक उपलब्धि हासिल गर्न सफल भएका छौँ,’ ज्ञवालीले भने, ‘सेयर धनीहरूको दृष्टिकोण र आवश्यकता अनुरूप सञ्चालक समितिलाई थप पारदर्शी बनाउन पूर्ण रुपमा प्रतिबद्ध छौँ।’

मिडियालाई माथि उठाउनका लागि सबै शेयर सदस्यको साथ र सुझाव आवश्यक रहेको बताए। विज्ञापनमा सघाउन पनि शेयर सदस्यलाई ज्ञवालीले आग्रह गरे। चार लाख शेयर सदस्यले आवश्यक सहयोग गर्न आह्वान गरे। ज्ञवालीले तीन वर्षमा शेयर सदस्यलाई मुनाफा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे।

कम्पनीको आ.ब.२०८०/०८१को वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष संचालन खर्च २७.३२ प्रतिशतले घटेको छ। यसैगरी वितरण खर्च ३४.७४ प्रतिशतले घटेको छ भने ब्याज तथा बित्तियखर्च ४०.५८ प्रतिशतले घटेको छ।

संस्थाको खुद नाफा गत आर्थिक वर्षको तुलनामा शतप्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ।

साधारण सभामा मिडियाकी सञ्चालक शोभा ज्ञवालीले जनताको सूचनाको अधिकारलाई अन्तर्राष्ट्रिय पहुँचसम्म पुर्‍याउने काम गरेको बताइन्। सत्य तथ्य सूचनामार्फत सुसूचित गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको उनले बताइन्।

‘सम्पूर्ण छापा तथा अनलाइन माध्यमहरूलाई अझै स्तरीय बनाउने उद्देश्यका साथ प्रविधिमैत्री बनाउँदै आएका छौँ,’ सञ्चालक ज्ञवालीले भनिन्, ‘आगामी दिनमा मिडियाले प्रगति गर्दै जाने कुरामा पूर्ण विश्वास दिलाउन चाहन्छौँ।’

लाखौँ नेपाली नागरिक सेयर बनेकाले थप जिम्मेवार बन्न प्रेरित गरेको सञ्चालक ज्ञवालीले बताइन्। नेपाल रिपब्लिक मिडियाकाले उठाएका विषयबाट नीति निर्माण तहमा परिवर्तन गर्न सफल भएको उनले धारणा राखिन्।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सम्बृद्धि ज्ञवालीले नेपाल रिपब्लिक मिडियाका प्रकाशनले गुणस्तरीय पत्रकारिता गरेको बताइन्। युवालाई लक्षित गरेर विषयवस्तु तयार गनुपर्नेमा जोड दिइन्।

नेपाली मिडियामा भएको डिजिटल रूपान्तरणले पहुँच सीमाविहीन बनेको अवस्थामा नेपाल रिपब्लिक मिडियाले सूचना तथा ज्ञान प्रवाह गरेर सर्वसाधारणलाई सशक्त र सुनिश्चित निर्णय लिन सक्ने बनाउन चाहेको प्रबन्ध निर्देशक ज्ञवालीले बताइन्।

रिपब्लिक मिडियाले अनलाइनमा सब्सक्रिप्सन सिस्टमको विकास गरी माइरिपब्लिकाको डिजिटल सब्सक्रिप्सन गर्दा सर्वसुलभ मूल्यमा द न्यूयोर्क टाइम्सको पुरा पहुँच उपलब्ध गराउने गरी विश्वभर डिजिटल पहुँच बढाउने बाटोमा अघि बढेको जानकारी दिइन्।

मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी ल्याउन, जलवायुको कोष परिचालन गर्न मिडियाको तर्फबाट आवश्यक वकालत गर्ने प्रबन्ध निर्देशक ज्ञवालीले बताइन्।

कार्यक्रममा सञ्चालक प्रदीप मिश्रले सम्पूर्ण शेयर धनी सदस्यले उठाएका विषयप्रति आफू सजग रहेको र यसमा घचघच्याइरहने बताए।

कार्यक्रममा शेयर धनीहरूले सुझाव दिएका थिए। साधारण सभाले अध्यक्ष ज्ञवालीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ। कार्यक्रमको सञ्चालन नेपाल रिपब्लिक मिडियाका सञ्चालक अन्जनकुमार दाहाल र कम्पनी सचिव मदन अर्यालले गरेका थिए।

प्रकाशित: १० मंसिर २०८१ १६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App