६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा–भैरहवा उडानः भैरहवा ओर्लेका पर्यटकलाई पोखरा ल्याउन सहज

बुद्धले उडान थप्यो, यतीले मंगलबारदेखि उडान गर्दै

पोखरामा अवतरण गरेका बुद्ध र यती एयरलाइन्सका जहाज। फाइल तस्बिरः नागरिक

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय हवाई कम्पनि थपिँदै जान थालेपछि पर्यटकीय सहर पोखरालाई भैरहवासँग जोड्नेगरि आन्तरिक हवाई कम्पनिले पोखरा–भैरहवा रुटमा पनि उडान थालेका छन्। निजी क्षेत्रका बुद्ध र यती एयरलाइन्सले पोखरा–भैरहवा–पोखरा रुटमा उडान सुरु गरेका छन्।  

बुद्ध एयरले यसअघि नै यो रुटमा दैनिक एउटा मात्र उडान गर्दै आएकोमा हालैमात्र अर्काे थपेर दिनमा दुइवटा उडान थालेको छ। बिहान र बेलुकीको समयमा पोखरा–भैरहवा–पोखरा रुटमा उडान थालेको बुद्धका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए। 

‘पोखरा–भैरहवा–पोखरा रुटमा दिनमा एउटा मात्र उडान गर्दै आएका थियौ। तर, अब भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनि थपिँदै गएका छन्। भैरहवामा अन्तर्राष्ट्रिय उडान थपिएसँगै विदेशी पाहुनाको आगमन पनि बढ्ने अवस्था छ,’ कर्णले भने, ‘यात्रु थपिने अवस्था भएपछि पर्यटकीय सहर पोखरालाई भैरहवासँग जोड्नेगरि दिनमा दुइवटा उडान थालेका हौ।’  

हालका लागि पोखरा–भैरहवा–पोखरा रुटको उडानमा भारतीय र आन्तरिक यात्रु भएपनि केही समय पछि तेश्रो मुलुकका विदेशी पाहुना पनि थपिने सम्भावना रहेको उनले बताए। ‘अहिले नै भैरहवामा अमेरिकन, यूरोपियन मुलका पर्यटक त पुगिसकेका छैनन्। तरपनि अन्तर्राष्ट्रिय सहरसँग भैरहवाको हवाई कनेक्टिभिटी बढेपछि तेश्रो मुलुकका यात्रु पनि भैरहवा ओर्लिन सक्छन,’ उनले भने, ‘भैरहवा हुँदै पोखरासम्म जान चाहने उनै विदेशी पाहुनालाई पनि यो उडानले सहजता थप्नेछ।’ हिजोका दिनसम्म काठमाडौं हुँदै पोखरा जानुपर्ने अवस्थालाई छाडेर अब भैरहवा हुँदै पोखरा जाने अवस्थाका लागि सहज भएको उनले बताए।

स्तर वृद्धि गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदा अहिले काठमाडौंसम्मका आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजेअघि उडान गर्न नपाइने भएपछि आन्तरिक हवाई कम्पनिले पनि उडान कटौती गरिरहेका। सरकारले अन्तर्राष्ट्रिय हवाई कम्पनिलाई काठमाडौंको विकल्पमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जान आग्रह गरेपनि पोखराका लागि कुनैपनि हवाई कम्पनि तयार भएका छैनन्।  

तर, भैरहवाका लागि भने अहिलेसम्म विभिन्न पाँचवटा अन्तर्राष्ट्रिय उडानका जहाजले उडान थालिसकेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत शुक्रबार (०८१ कात्तिक २३) देखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य थालेको छ। योसँगै आगामि चैत १८ गतेसम्म दैनिक १० घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान प्रभावित हुनेछन्।

‘हिजोका दिनसम्म पर्यटकहरु सिधै काठमाडौं ओर्लेर पोखराका लागि जाने गर्दथे। तर, अब पर्यटक भैरहवा ओर्लेर पोखरा जान पाउनेछन। तिनै पर्यटक पनि हाम्रा लक्षित यात्रु हुन,’ कर्णले भने, ‘अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएसँगै भैरहवाको पर्यटन क्षेत्र पनि चलायमान बन्नेछ। भैरहवा क्षेत्रमा बनेका ठुला लगानीका होटलले पनि राहतको महसुस गर्नेछन्। त्यसको लाभ पोखराले पनि पाउनेछ।’

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय विदेशी वायुसेवा कम्पनिले उडान थप्ने क्रमसँगै मंगलबारबाट कतार एयरवेजले दैनिक उडान थाल्नेछ। कतार एयरवेजले सातामा भैरहवाबाट सातैवटा उडान गर्नेछ। यसअघि दुबईको फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयरएसिया ले भैरहवाबाट उडान थालिसकेका छन्। भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय हवाई कम्पनिको संख्या पाँच पुगेको छ।

पोखरा–भैरहवा–पोखरा रुटमा अर्काे आन्तरिक हवाई कम्पनिले यती एयरलाइन्सले पनि मंगलबारदेखि नै उडान सुरु गर्ने भएको छ। यतीको भने यो रुटमा पहिलो उडान हो। यतीका प्रवक्ता सुदर्शन बर्ताैलाले भैरहवा ओर्लेका विदेशी पाहुनालाई सिधै पोखरा ल्याउनेगरि उडान सुरु गर्न थालेको बताए। उनका अनुसार भैरहवाबाट पर्यटकको आउजाउ बाहेक मजदुरीका लागि जाने कामदारलाई पनि यो उडानले सहज हुनेछ।  

श्रमका लागि विदेशीने जो कोहीलाई काठमाडौं आएर मात्र जानुपर्ने अवस्थालाई अन्त्य गर्दै भैरहवाबाट पनि जान सकिने भएपछि आन्तरिक उडानलाई पनि त्यही रुटमा जोडेको उनले बताए।

‘पोखरा क्षेत्रबाट विदेशीने जो कोहीलाई काठमाडौंको साटो भैरहवा लगेर भैरहवाबाट गन्तव्यमा पठाउन सकिने अवस्था रहेकोले पोखरा–भैरहवा–पोखरा उडान थालेका हौ,’ बर्ताैलाले भने, ‘पर्यटकको आउजाउ बाहेक श्रमका लागि विदेशीलाई कामदारलाई पनि यसले सघाउनेछ।’  

अन्तर्राष्ट्रिय गन्तव्यसम्म जानका लागि अहिलेसम्म पोखराबाट काठमाडौं नै धाउनुपर्ने बाध्यतालाई अब विकल्पमा भैरहवाबाट भएपछि आन्तरिक उडानका लागि पनि यात्रु अभाव नहुने उनले बताए। ‘पर्यटकलाई पोखरा आउजाउ गर्न पनि सहज भयो। अहिले त काठमाडौंबाट भन्दा भैरहवाबाट अन्तर्राष्ट्रिय गन्तव्यको भाडा केही सस्तो पनि छ। पोखराबाट जानेलाई पनि सस्तो नै पर्छ,’ उनले भने। बुद्ध र यतीले हाल पोखरा–भैरहवा रुटमा एकतर्फी भाडा २५ सय (आन्तरिक यात्रु) रुपैयाँ तोकेका छन्।

पोखरा–भैरहवा स्थलमार्गको यात्रा झन्झटपूर्ण रहेको अवस्थामा हवाई उडानले केही सहज हुने अपेक्षा रहेको हवाई कम्पनिको भनाई छ। पोखराबाट नारायणगढ हुँदै भैरहवा पुग्न अहिले निकै नै सकस छ। बिस्तारको क्रममा रहेको पोखरा–मुग्लिन र नारायणगढ–बुटवल सडक खण्डका कारण स्थलमार्गको यात्रा यात्रा अनिश्चित छ । पोखरालाई सिद्धार्थ राजमार्ग हुँदै भैरहवा जोड्ने सडकखण्ड केही असहज भएकोले पनि हवाई यात्रु अभाव नहुने हवाई कम्पनिको विश्वास छ।  

पर्यटन व्यावसायीले पनि पोखरा–भैरहवा हवाई उडानले भैरहवा ओर्लेका पर्यटकलाई पोखरा आउन सहज हुने बताउँछन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी अध्यक्ष किशोर दाहालले भैरहवामा अन्तर्राष्ट्रिय उडान थपिँदै जाँदा विदेशी पर्यटक आउने सम्भावना रहेकोले पर्यटक बाहक सवारीलाई पोखरा–भैरहवा रुटमा संचालन गर्ने योजना बनाएको जानकारी दिए।  

प्रकाशित: २६ कार्तिक २०८१ १७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App