भोजपुरको रामप्रसादराई गाउँपालिका–६ मा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गंगा खोलाको संरक्षण सुरु भएको छ। गोल्मे राज र गोल्मे रानी भिरको काखमा रहेको यो स्थलको संरक्षणमा वडा कार्यालयसँगै स्थानीय बासिन्दा जुटेका छन्।
ढुंगाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहान रहेको यो स्थानमा दर्शन गरेर मनोकामना पूरा हुने धार्मिक विश्वास छ। स्थानीय राजेन्द्र राईले भने, ‘देशले चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक र पर्यटकीयस्थल हो, तर प्रचार नहुँदा यो ओझेलमा परेको छ।’ यहाँको पानीले नुहाउँदा छालासम्बन्धी सबै रोग निको हुने र पुण्यकर्ममा चढाउने चलन छ।
माघे सङ्क्रान्तिमा यहाँ भव्य मेला लाग्छ। राजेन्द्र राईले भने, ‘गंगा खोला देशले चिन्नुपर्ने ऐतिहासिक धार्मिकस्थल हो। गोल्मेराजा र गोल्मेरानी भिरको काखमा रहेको यो ठाउँ प्रचार र संरक्षणको अभावमा ओझेलमा छ। यसको पौराणिक महत्व छ, तर भौगोलिक विकटताले विकासमा बाधा पुगेको छ। राज्यले यस्ता सम्पत्तिको खोजी गरेर संरक्षण गर्नुपर्छ।’
गंगा खोलाका सबै मुहान कहिल्यै नसुक्ने, वर्षातमा धमिलो नहुने र दक्षिणबाट उत्तरतर्फ बग्ने भएकाले यसको छुट्टै महत्व छ। वडाध्यक्ष एकराज आचार्यले भने, ‘यो क्षेत्रको विकासका लागि ठूलो बजेट चाहिन्छ, तर वडाले केही बजेट छुट्याएर संरक्षणको काम गरिरहेको छ।’
वडाले भक्तजनका लागि धारा बनाएको छ। आचार्यले भने, ‘यहाँ धेरै संरचना बनाउनुपर्छ। मुहानसम्म पुग्ने पदमार्गको मुख्य आवश्यकता छ। राज्यका अन्य निकायसँग पनि सहयोग मागिएको छ।’
स्थानीय, केन्द्र र प्रदेश सरकारले यो ठाउँको विकासमा पहल गर्नुपर्ने स्थानीय पाण्डव राईले बताए। उनले भने, ‘यो क्षेत्रको विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोत बनाउनुपर्छ। गंगा खोला अनौठो र पवित्र धार्मिकस्थल हो। यहाँको प्राकृतिक स्वरुपले सबैलाई चकित बनाउँछ, तर संरक्षण र प्रचार अझै भएको छैन।’ रासस
प्रकाशित: २४ चैत्र २०८१ ०९:५२ आइतबार