युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको क्षेप्यास्त्र आक्रमणमा ९ बालबालिकासहित १८ जनाको ज्यान गएको घटनामा रुसको आलोचना गर्न कन्जुस्याइँ गरेको भन्दै अमेरिकी दूतावासको जवाफप्रति असन्तुष्टि जनाएका छन्।
युक्रेनको मध्य भागमा रहेको क्राइभी रिग शहरको एउटा आवासीय क्षेत्रमा शुक्रबार साँझ रुसी क्षेप्यास्त्र प्रहार भएको थियो। यो क्षेत्र बालबालिकाको खेलमैदान नजिकै पर्छ।
‘आक्रमणमा ७२ जना घाइते भएका छन्, जसमध्ये १२ जना बालबालिका छन्,’ निप्रोपेट्रोभ्स्कका गभर्नर सर्गी लिसाकले आपतकालीन अभियान सकिएपछि भने। घटनापछि शहरका अधिकारीले त्यस क्षेत्रमा तीन दिनको शोक घोषणा गरेका छन्।
जेलेन्स्कीले सामाजिक सञ्जालमा भावनात्मक वक्तव्य जारी गर्दै आक्रमणमा मारिएका हरेक बालबालिकाको नाम उल्लेख गरेका छन्। उनले अमेरिकी दूतावासले रुसलाई आक्रमणकारीको रूपमा स्पष्ट नभनेकोमा आश्चर्य व्यक्त गरेका छन्।
‘यति ठूलो देश, यति बलियो जनता – तर अमेरिकी दूतावासको यस्तो कमजोर प्रतिक्रिया अप्रिय र आश्चर्यजनक छ,’ जेलेन्स्कीले लेखेका छन्। उनको तर्क छ, ‘बालबालिकालाई मार्ने क्षेप्यास्त्रबारे कुरा गर्दा पनि उनीहरू “रुसी” शब्द भन्न डराउँछन्।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच आंशिक युद्धविरामका लागि दबाब दिइरहेका बेला मस्कोसँग सम्बन्ध सुधार गर्न अमेरिकाले रुसको आलोचना नगरेको जेलेन्स्कीको बुझाइ छ। एएफपी
प्रकाशित: २४ चैत्र २०८१ ११:४७ आइतबार