उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाका उच्च भेगको जनजीवन पनि प्रभावित भएको छ। कतिपय जिल्लामा हिडडुल नै सकसपूर्ण बनेको छ। हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई सचेतना अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेका छन।
हिमाली जिल्ला मनाङ, मुस्ताङ, म्याग्दी, गोरखाका माथिल्लो भेगमा बाक्लो हिमपात भएको छ। बस्तीमा हिउँ जमेपछि हिडडुल पनि सकसपूर्ण बनेको स्थानीयले बताएका छन। जिल्ला प्रशासन कार्यालय मनाङले सूचना जारी गर्दै माथिल्लो भेगमा भारी हिमपात भएको बताएको छ। अन्नपूर्ण फेरोमा पर्ने थोराङला भञ्ज्याङ पास, लार्केपास, काङलापास, तिलिचो लगायतका स्थानमा पदयात्रा गर्दा स्थानीय प्रशासनसँग समन्वय गर्न अनुरोध गरेको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै पदयात्रामा सचेत रहन आग्रह गरेका छन। पौडेलका अनुसार जिल्लाको माथिल्लो भेगमा हिमपात निरन्तर रहेको छ। सदरमुकाम चामे भन्दा माथि बाक्लो हिउँ परेको उनले बताए। ‘हिमपात भईरहेको छ। हिडडुल सहज छैन। गाडी पनि चल्न सक्ने अवस्था छैन,’ उनले भने, ‘पर्यटकलाई सचेत रहन भनेका छौ। अफसिजन भएकोले यो बेला पदयात्रामा निकै नै कम संख्यामा पर्यटक छन। तर, ती सबै पर्यटकहरु अहिले होटलमा बसिरहेका छन।’ थोराङला, तिलिचो क्षेत्रको पदयात्रा सहज नभएको पनि उनले बताए।
.jpg)
अन्नपर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कर्मचारी उमाकान्त सापकोटाका अनुसार मनाङमा दुईफिटसम्म हिउँ जमेको छ। समुन्द्री सतहको २९ सय मिटर भन्दा माथिको भागमा हिमपात भएको सापकोटाले बताए। ‘सदरमुकाम चामेसम्म गाडी चल्न सक्छन। त्यसमाथि गाडी चलाउन सकिने अवस्था छैन,’ उनले भने, ‘पदयात्रा पनि सहज छैन, बाक्लो हिमपातका कारण यात्रा अवरुद्ध भएको छ।’
उनका अनुसार अहिले पनि माथिल्लो मनाङ क्षेत्रमा २५ जनाजति विदेशी पाहुना छन। अफसिजन भएकोले यो बेला विदेशी पाहुनाको संख्या कम भएको हो। मनाङमा रोकिएका विदेशी पाहुनाहरु तिलिचो र थोराङला भञ्ज्याङ पासका लागि आएका हुन। सापकोटाका अनुसार मनाङमा रोकिएका पर्यटकहरु भारतीय र मलेसियन मुलका छन। ‘पर्यटक भएकोले उनीहरुलाई माथिल्लो भेगमा जान रोकिएको उनले बताए। ‘हिउँ पग्लेको अवस्थामा मात्र पाहुना माथि जान पाउँछन। नत्र अझै हिमपात थपियो भने पाहुनालाई माथि जान दिने अवस्था रहन्न,’ उनले भने।
अर्काे हिमाली जिल्ला मुस्ताङमा पनि हिमपातले जनजीवन प्रभावित भएको छ। मुक्तिनाथ क्षेत्रमा परेको बाक्लो हिमपातका कारण पर्यटकहरु मुक्तिनाथ मन्दिरसम्म आउजाउ गर्न समेत सकेका छैनन। पोखराबाट गएका पर्यटन व्यवासायी सोम थापाका अनुसार मुक्तिनाथ जाने मार्गमा पर्ने रानीपौवाबाट माथि जान सक्ने अवस्था छैन। ‘हामी मुक्तिनाथ जाने भनेर गएका थियौ। तर, रानीपौवाबाट माथि जान सकिएन, माथिबाट पनि तल झर्न पनि सकस छ,’ थापाले भने, ‘रानीपौवाबाट फर्किएका छौ। बाक्लो हिमपात छ । हिउँ जमेकोले गाडी पनि माथि जान सक्ने अवस्था छैन।’
.jpg)
थापाका अनुसार हिमपातले गर्दा पर्यटकहरुको यात्रा पनि रोकिएको छ। सीमित संख्याका पर्यटकहरु सदरमुकाम जोमसोममै रोकिएका छन। ‘चिसो त छँदैछ, बाक्लो हिउँ जमेकोले माथि उक्लिन सक्ने अवस्था छैन,’ उनले भने, ‘अफसिजन परेकोले यो बेला पर्याप्त पाहुना भने छैनन। बरु अब हिउँ खेल्नका लागि आन्तरिक पाहुना उक्लिन सक्छन।’
मुस्ताङ प्रशासनले पनि बाक्लो हिमपातका कारण यात्रा अवरोध भएकोले सचेत हुन आग्रह गरेको छ। मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जारी गरेको सूचनामा मुक्तिनाथ क्षेत्र, कोरोला नाका सहितको उपल्लो मुस्ताङ सहित मुस्ताङ–डोल्पामा पर्ने याकखर्क क्षेत्रमा बाक्लो हिमपात भएकोले हिडडुल सहज नभएको उल्लेख छ। त्यस्तै थोराङला भञ्ज्याङ पास, मुस्ताङ–मनाङ–सरिबुङ पास, धौलागिरी पदमार्गमा समेत समस्या रहेकोले पदयात्रामा सचेत हुन आग्रह गरिएको छ।
त्यस्तै म्याग्दीको माथिल्लो क्षेत्रमा पनि बाक्लो हिमपात भएको त्यहाँका बासिन्दाले बताएका छन। स्थानीय झक छन्त्यालका अनुसार म्याग्दीको गुर्जा बस्ती हिमपातले ढाकेको छ। ‘बाक्लो हिउँ परेको छ। बस्ती पुरै सेताम्य भएको छ,’ उनले भने। त्यस्तै गरि पर्यटन बोर्डले पनि उच्च हिमाली भेगमा बाक्लो हिमपात भएकोले उक्त क्षेत्रमा तत्कालका लागि यात्रा नगर्न अनुरोध गरेको छ। थप हिमपातको सम्भावना भएकोले उच्च हिमाली भेगको पदयात्रामा सचेत हुन पनि बोर्डको आग्रह छ। हिमाली जिल्लामा बाक्लो हिउँ जमेको कतिपय ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर हिउँ हटाएर सवारी संचालन गरिएको पनि स्थानीय प्रशासनले बताएका छन।
प्रकाशित: १४ माघ २०८२ १८:१० बुधबार





