संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताए।
बेलायतको लन्डनमा सम्पन्न २०औँ विश्व यात्रा बजार (डब्ल्यूटीएम) मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुँदै पर्यटनमन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको गम्भीर प्रभावबारे नेपालको अनुभव प्रस्तुत गरेका हुन्।
‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विश्वका विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।
बेन थम्पसनले सञ्चालन गरेको छलफलमा मन्त्री पौडेलले जलवायुजन्य विपद्का कारण पर्यटन पूर्वाधार र पर्यटकीय सम्पत्तिमा पुग्ने क्षति तथा यसले पर्यटन क्षेत्रको दिगोपनमा पार्ने प्रभावबारे धारणा राखेका थिए।
उनले भोटेकोशीमा आएको आकस्मिक बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउन सक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरे।
जलवायु परिवर्तनका असरले पर्यटकीय गन्तव्य, पूर्वाधार र स्थानीय समुदायको जीविकोपार्जनमा समेत चुनौती थपिरहेको उनको भनाइ थियो।
पर्यटनमन्त्री पौडेलले पर्यटन क्षेत्रलाई विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न समुदाय, सरकार र सुदृढ संस्थाहरूको सहभागितामा आधारित प्रभावकारी सङ्कट व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।
समुदायलाई विपद् व्यवस्थापन र पर्यटन विकासको केन्द्रमा राख्दै सरकारी सहयोग तथा संस्थागत क्षमता अभिवृद्धि गर्न सके मात्रै पर्यटन क्षेत्रलाई दिगो र उत्थानशील बनाउन सकिने उनले उल्लेख गरे।
सम्मेलनमा सहभागी मन्त्री तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका प्रतिनिधिहरूले विश्वव्यापी अनिश्चितता र बदलिँदो परिस्थितिका बीच पर्यटन क्षेत्रको जोखिम सामना गर्ने क्षमता अभिवृद्धि, सार्वजनिक–निजी सहकार्य र दिगो पर्यटन विकासका विषयमा अनुभव तथा धारणा आदानप्रदान गरेका थिए।
प्रकाशित: १९ कार्तिक २०८३ ११:५० बिहीबार


-600x400.jpg)


