प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि नर्वेली राजदूत ड्याग्नी मियोसबीच शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा छलफल भएको हो।
भेटका क्रममा राजदूत मियोसले नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेकोमा कार्कीलाई बधाई दिँदै खुसी व्यक्त गरिन्।
उनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा आगामी निर्वाचन निर्बाध र सफलतापूर्वक सम्पन्न हुने विश्वास समेत व्यक्त गरिन्।
सो अवसरमा राजदूत मियोसले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु परिवर्तन र दिगो विकासका क्षेत्रमा नर्वेले गर्दै आएको सहयोगको स्मरण गर्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने प्रतिबद्धता जनाइन्।
जवाफमा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा सरकारको नेतृत्व सम्हाल्नुपरेको भए पनि मुलुक अब बिस्तारै सामान्य अवस्थातर्फ फर्कँदै निर्वाचनमा होमिएको बताइन्।
उनले लोकतन्त्र र निर्वाचनका पक्षमा नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि धन्यवाद व्यक्त गरिन्।
प्रधानमन्त्री नियुक्त भएपछि कार्कीसँग राजदूत मियोसको यो पहिलो औपचारिक भेट हो।
प्रकाशित: १४ माघ २०८२ १८:०२ बुधबार





