चितवनको खैरहनी नगरपालिका–३का इन्द्र सुवेदीले केरा खेती गरेको दश वर्ष पुग्यो । यो अवधिमा उनले बढीमा औसत प्रतिकोसा दुई रुपैयाँमा हरियो केरा (जिनाईन) बेच्दै आएका थिए । आजभोली भने सुवेदीले हालसम्मकै सबैभन्दा बढी प्रतिकोसा चार रुपैयाँ मुल्य पाएका छन् ।
‘एक दशक अघि नौ विघाबाट केरा खेती गरेको थिएँ । यो बिचमा केरा नबिकेर त्यतिकै पनि खेर फाल्नपर्यो,’ सुवेदीले खुशी साट्दै भने ‘यसपटक केराको मुल्य हालसम्मकै उच्च छ।’ सुवेदीले २२ विघा क्षेत्रफलमा केरा खेती गरेका छन् । यतिखेरको मुल्यले उनी सन्तुष्ट छन् । ‘जेनजी आन्दोलनको बेलामा केरा नबिकेर खेर फाल्नु परेको थियो । कामदारलाई दिने पैसा नपुगेर समस्या परेको थियो,’ त्यतिखेरका समस्या सुनाउँदै भने ‘अहिलेको आम्दानीले पूर्ति गरेको छ।’
व्यवसायीक रुपमा केरा खेती गर्दै आएका यज्ञप्रसाद सुवेदीलाई पनि यतिखेर केराको माग पुर्याउन भ्याइ नभ्याई छ । ‘माग बढी भयो भनेर मुल्य बढाएको भने छैन,’ उनले भने ‘किसानहरुले अहिले केराको मुल्य राम्रो पाइरहनुभएको छ ।’
भारतीय केरामा सरकारले रोक लगाएपछि किसानले यसरी राम्रो मुल्य पाउन थालेका हुन् । सरकारले ‘पानामा टीआर–४’ भाइरसको जोखिम देखाउँदै केरा आयातमा कडाइ गरेपछि स्वदेशी उत्पादनले राम्रो मुल्य पाएको फलफूल तथा तरकारी थोक बजार नारायणगढका पुर्व अध्यक्ष थीरप्रसाद धितालले बताए । अहिले बाहिरबाट केरा आयात नहुँदा माग धान्न कठिन भएको उनले बताए ।
‘नेपालमा उत्पादन भएको केराले माग धानेको छैन । भारतबाट ल्याउन सरकारले रोक लगाएको छ,’ उनले भने ‘लुकिछिपि ल्याउने केरा ज्यादै महङ्गोमा बिक्री भइरहेको छ ।’ धितालका अनुसार नारायणगढ बजारमा दैनिक एक लाख कोसा केराको माग छ । तर हिजोआज बजारमा ४० हजार कोसा केरा पनि नआउने गरेको उनले बताए । केराका मागभन्दा उत्पादन कम भएपछि बजार मुल्य पनि आकाशिएको उनले बताए ।
‘दशैँ तिहार लगत्तै भारतबाट आउने केरा रोकिएका छन् । त्यतिखेर स्वदेशी उत्पादनले पनि माग धानेको थियो । माघ महिना लागेपछि यहाँको उत्पादनले पनि माग धानेको छैन,’ उनले भने ‘अहिले मालभोग केराको मुल्य प्रतिकोसा ८ रुपैयाँ पुगिसक्यो हरियो केरा पनि पाँच रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था आएको छ ।’ उनका अनुसार यो मुल्य अहिलेसम्मकै उच्च हो । फागुन, चैत बैशाखसम्म नेपाली केराको उत्पादनले माग धान्न नसक्ने उनले बताए । भारतीय केराको आयातमा रोक अझै लगाएमा केराको मुल्य निरन्तर बढ्ने उनले बताए । अबैध केरा नेपाल आयात गर्दा राज्यको राजस्वमा समेत नोक्सान भएको उनको बुझाई छ ।
नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरी पन्तले नेपालमा केराको सटेज भएको बताएका छन् । ‘भारतीय केरा जैविक सुरक्षाको कारण रोकिएको छ,’ पन्तले भने ‘अहिले स्वदेशी किसानले राम्रो मुल्य पाएका छन् । अहिले नेपालको उत्पादनले माग धान्न सकेको छैनन् ।’ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनका सूचना अधिकारी सौरज विश्वकर्माका अनुसार चितवनको केरा सुपरजोन क्षेत्रमा १८ सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । यहाँ प्रतिहेक्टर ४५ मेक्टिकटन उत्पादन हुने गर्दछ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ७६ करोड ५३ लाख ५७ हजार रुपैयाँको १९ हजार ४ सय ३३ टन केरा आयात भएको छ । गत वर्ष सोही अवधिमा ९१ करोड ५३ लाख ४८ हजारको २२ हजार ५१ टन केरा आयात भएको थियो । गत आव २०८१/८२ मा २ अर्ब ३० करोड २२ लाखको ५६ हजार ७ सय ६२ टन केरा आयात हुँदा २०८०/८१ मा २ अर्ब ६५ करोड ८ लाख ६४ हजारको ६३ हजार ७ सय १४ टन आयात भएको तथ्यांकले देखाउँछ । यसपटक भारतको केरामा ‘पानामा टीआर–४’ जातको भाइरस देखिएकाले रोक लगाइएको प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रका वरिष्ठ प्लान्ट अफिसर रोशन अधिकारी बताउँछन् ।
भारतमा केरामा ढुसीनासक किटाणु ‘पानामा टीआर–४’ खतरनाक रुपमा फैलिएको छ । ‘नेपाल प्रवेश गर्यो भने यहाँका बगानमा जोखिम सुरु हुन्छ,’ उनले भने ‘भारतमा फैलिएको रोगका विषयमा अध्ययन भइरहेको छ । त्यसपछि यहाँको माग अनुसार आयात खोल्ने कुरामा सोच्न सकिन्छ ।’
प्रकाशित: १४ फाल्गुन २०८२ १९:४८ बिहीबार





