जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरूमाथि कारबाही गरेको छ।
पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै ८ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो।
आगामी प्रतिनिधि सभा निर्वाचन- २०८२ मा पार्टीको नीति र निर्णयविपरित आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको तथा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको हो।
पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा पार्टी हित र विधानविपरित कार्य गरेकाले आजकै मितिदेखि लागू हुने गरी उनीहरूलाई निष्कासन गरिएको उल्लेख छ।
पार्टीबाट निष्कासनमा पर्नेहरूमा पर्साका नेता प्रदीप यादवसहित ८ जना रहेका छन्। कारबाहीमा पर्ने अन्य नेताहरूमा बाराका कमरुल्लाह अन्सारी, नवलकिशोर सिंह, चन्दनकुमार सिंह र आत्माराम साह छन्।
त्यस्तै, सर्लाहीका उदयकान्त मिश्र तथा महोत्तरीका हरिनारायण यादव र डा. शिवजी यादवलाई पनि पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ।
निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुको साटो बागी उम्मेदवारी दिएपछि उनीहरूलाई कारबाहीको दायरामा ल्याइएको जसपा नेपालले जनाएको छ।
प्रकाशित: १४ माघ २०८२ १७:५० बुधबार





