४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

‘बालेनको राजीनामासँगै हटाइयो’ भनिएका कुर्सी चिटिक्क परेर फर्किए

काठमाडौं महानगरपालिकाले सिंहदरबारदेखि भद्रकाली सडक खण्डका पैदल मार्गमा मर्मतसम्भारपछि सार्वजनिक कुर्सीहरू पुनः राख्न सुरु गरेको छ।

यसअघि महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै सडक पेटीका कुर्सीहरू हटाइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो। तर, महानगरले ती कुर्सीहरू हटाइएको नभई मर्मतका लागि लगिएको स्पष्ट पार्दै अहिले पुनः जडान गरेको हो।

May be an image of street

महानगरको सार्वजनिक निर्माण विभागका अनुसार फलाम र काठ मिश्रित ती कुर्सीहरूका काठ फेर्नुपर्ने अवस्थामा रहेकाले मर्मत र रङरोगनका लागि उठाइएको थियो। अहिले मर्मत कार्य सम्पन्न भएपछि ती कुर्सीहरूलाई यथास्थानमा राख्ने काम भइरहेको छ।

May be an image of one or more people and street

काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क तथा नदी करिडोरहरूमा पैदल यात्रीको सहजताका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको कामलाई तीव्रता दिएको छ।

विभागले पुराना र जीर्ण भएका कुर्सीको मर्मत सम्भार गर्ने, यात्रुको चाप बढी भएको स्थानमा सङ्ख्या थप्ने र सहरको सुन्दरताका लागि एकै प्रकारका कुर्सी राखेर एकरूपता कायम गर्ने नीति लिएको छ।

सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले भने, ‘उमेर समूह र शारीरिक अवस्थाजस्ता पैदल यात्रुको आवश्यकतालाई ध्यानमा राख्दै हामीले सहजता बढाउने काम थालेका छौं। यसअघि राखिएका ठाउँबाट कुर्सी हटाउने हाम्रो कुनै योजना छैन। बरु एकरूपता कायम गराउन केही साटफेर भने हुन सक्छ।’

No photo description available.

सिंहदरबार–भद्रकाली सडक खण्डमा दुई प्रकारका कुर्सीहरू रहेका थिए। तीमध्ये पुराना बेन्चहरूलाई मर्मत र रङरोगन गरी पुनः सोही स्थानमा व्यवस्थित गरिने प्रमुख राईले जानकारी दिए।

महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले संयुक्त रूपमा कुर्सी व्यवस्थापनको काम गरिरहेका छन्।

आयोजनाले गत २०८१ साल असोजमा सहरका विभिन्न स्थानमा १ दशमलव ५ मिटर लम्बाइ र आधा मिटर चौडाइका १४० वटा सार्वजनिक कुर्सी राखेको थियो।

सार्वजनिक खरिद प्रक्रियामार्फत खरिद गरिएका करसहित प्रतिगोटा १८ हजार ६ सय ५५ रुपैयाँ परेका ती कुर्सीमध्ये ११ वटा भद्रकाली–सिंहदरबार खण्डमा राखिएका थिए।

बाँकी कुर्सी बागमती नदी करिडोर, गुह्येश्वरी, कोटेश्वर र कालमोचन लगायतका स्थानमा राखिएका छन्।

यसैगरी, दोस्रो चरणमा थप ४९ वटा कुर्सी प्राप्त भएका छन्। यी कुर्सीहरू नापी विभाग, तीनकुने–कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर–बबरमहल र कमलपोखरी लगायतका स्थानमा राखिने विभागले जनाएको छ।

साथै, ‘ट्याक्टिकल अर्बानिजम’ अन्तर्गत तेस्रो प्याकेजमा थप १५० वटा कुर्सी प्राप्त हुने र तिनलाई माग तथा आवश्यकताका आधारमा विभिन्न स्थानमा जडान गरिने महानगरले जनाएको छ।

प्रकाशित: १२ माघ २०८२ २०:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App