२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

एसटीएलआरपी कार्यक्रम:दशहजार मजदुरलाई अल्पकालिन रोजगारी

तेस्रोपटक गोल्ड अवार्ड

एसटीएलआरपी कार्यक्रम अन्तर्गत रोजगारी गर्दै पर्यटन मजदुर। तस्बिरः नागरिक

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) कार्यक्रम मार्फत करिब १० हजारजना पर्यटन मजदुरले अल्पकालिन रोजगारी पाएका छन्। त्यस्तै करिब चारहजार जनाको क्षमता अभिवृद्धि गरिएको छ।  

कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिएपछि बोर्ड र यूएनडीपीले सहकार्य गर्दै परियोजना सुरु गरेका थिए। परियोजनामार्फत सातै प्रदेशका ५८ जिल्ला र त्यहाँका ८५ वटा स्थानीय तहमा काम गरेको पर्यटन बोर्डकी प्रबन्धक तथा परियोजनाकी राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले बताईन।  

‘कोभिडले पर्यटन क्षेत्र थलिएर धमाधम मजदुर बेरोजगार बनेको बेला यो कार्यक्रम सुरु भएको थियो। त्यो बेला मजदुरलाई जीविकोपार्जन गर्न समेत समस्या भएको थियो, आम्दानी घट्दा धेरै मजदुर बिचल्लीमा परेका थिए। त्यही बेला मजदुरका लागि भनेर कार्यक्रम सुरु भएको थियो,’ श्रेष्ठले भनिन, ‘परियोजनामार्फत करिब १० हजारजना पर्यटन मजदुरले प्रत्यक्ष रुपमा अल्पकालिन काम पाएका थिए। करिब चारहजार जनाको क्षमता अभिवृद्धि गरिएको छ। कोभिडको मारमा परेको पर्यटन क्षेत्रका मजदुरका लागि निकै नै लाभदायक काम भएको छ।’  

पर्यटन क्षेत्रका मजदुलाई पलायन हुन नदिनका लागि पनि कार्यक्रम गरिएको उनले बताईन। कोभिड संक्रमणले गर्दा धमाधम पर्यटन क्षेत्रका मजदुर बेरोजगार बनेको बेला यो कार्यक्रममार्फत अल्पकालिन रोजगारी सिर्जना गरिएको उनले बताईन्। ‘मजदुरलाई ज्याला दिएर काममा लगायौं, काम नपाउँदा मजदुर बिस्थापित हुने डर थियो, तर, यो कार्यक्रम मार्फत मजदुरलाई काम दिइएको थियो । त्यसले मजदुरको आम्दानी पनि बढ्यो। पर्यटकीय पदमार्ग मर्मतसम्भार देखि सरसफाई सहितका कार्यक्रम गरिएको थियो,’ उनले भनिन, ‘अल्पकालिन रोजगार बाहेक तालिम दिएर पर्यटन सम्बद्ध व्यावसायीको क्षमता अभिवृद्धि पनि गरिएको थियो।’

उनका अनुसार परियोजनाले नेपालका सातैवटा प्रदेशका ५८ जिल्ला तथा ८५ वटा स्थानीय तहसँगको सहलगानीमा काम गरिएको थियो। स्थानीय तहसँगको सहलगानीमा काम गर्दा स्थानीयतहले आधा रकम खर्च गरेका थिए। श्रेष्ठका अनुसार परियोजनाले महिलाका लागि रिभर गाइड, यौनिक तथा लैङगिक अल्पसंख्यकका लागि पदयात्रा गाइड, तथा सातै प्रदेशका १५० पालिकाको पर्यटन रणनीति निर्माण, १३० वटा विद्यालयमा राष्ट्रिय दीगो पर्यटन क्लब गठन गरि पर्यटन जनचेतना अभिवृद्धिको कार्यक्रम गरिएको थियो। त्यसैगरि पर्यटनसँग सम्बन्धित विभिन्न निजी सरोकारवाला संस्थासँगको सहकार्यमा विभिन्न विधाका पर्यटन गाइड म्यानुयल निर्माण गरिएको पनि उनले बताईन्।  

श्रेष्ठका अनुसार कोभिड संक्रमणको त्रास चलिरहँदा २०२१ जुलाईमा यो कार्यक्रम सुरु भएको थियो। पहिलो चरणमा तीनवर्षका लागि भएको सम्झौता बमोजिम २०२४ जुलाईमा यो कार्यक्रमको सम्झौता सकिने भएपनि यूएनडीपीले केही समय थप गरेको छ। त्यस अनुसार आगामि डिसेम्बरसम्म कार्यक्रम हुनेछन्।  

‘नियमित रुपमा त यही जुलाईमा सम्झौताको समय सकिने हो। तर, नियमित रुपमा भईरहेका केही काम पुरा हुन बाँकी छन्। स्थानीय तहसँगका केही काम पुरा हुन नपाएकोले समय थप भएको छ,’ उनले भनिन। पर्यटन बोर्डको १५ र यूएनडीपीको १८ करोड गरि ३३ करोड रुपैयाँमा यो कार्यक्रम थालिएको थियो। यो कार्यक्रम सकिएपछि पुन अर्को कार्यक्रमका लागि पुन सम्झौता हुनेगरि निश्चित गरिएको पनि उनले बताईन।  

तेस्रोपटक (पाटा) गोल्ड अवार्ड प्राप्त

नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको छ।

पाटा हेडक्वाटरका अनुसार परियोजनाले समुदायमा आधारित पर्यटन क्षेत्रमा काम गरेको भन्दै २०२४ का लागि पाटा गोल्ड अवार्ड प्राप्त गरेको हो। यसअघि सन् २०२२ र २०२३ मा पनि एसटीएलआरपी परियोजनाले (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको थियो। एसटीएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तिकरणमा गरेको पहलकदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि २०२३ मा गोल्ड अवार्ड पाएको थियो। सन् २०२२ मा टुरिजम डेस्टिनेसन रेसिलेन्सि विधाअन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो।  

परियोजनाले निरन्तर पाटा अबार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेका कामले पर्यटन क्षेत्रमा राम्रो योगदान गरेको र त्यसको  मूल्यांकन स्वरुप अवार्ड प्राप्त भएको र यसले थप कार्य गर्न प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख  नन्दिनी लाहे थापाले बताईन्।  

बोर्डका प्रबन्धक तथा राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले आगामि दिनमा पनि थप काम गर्दै जानका लागि प्रेरित भएको बताईन्। ‘लगातार तीनवर्ष गोल्ड अवार्ड पाएर ह्याट्रिक भएको छ,’ उनले भनिन्।

प्रकाशित: ८ श्रावण २०८१ १७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App