२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

यात्रा असहज हुँदा अवरुद्ध पर्यटकको हिँडडुल

मनसुनसँगै पर्यटकीय क्षेत्र लेकसाइड पनि सुस्ताएको छ। पर्यटन व्यवसायीका अनुसार केहीदिन अघिसम्म आन्तरिकसँगै भारतीय पर्यटकको भीडभाड रहेको पोखरामा अहिले पाहुना निकै नै कम रहेको पर्यटन व्यवसायीले बताएका छन्। होटलका पाहुना घटेसँगै अकुपेन्सी कम भएको व्यवसायीले बताएका छन्।

लेकसाइडस्थित पोखरा भिलेज रिसोर्टका सञ्चालक हरि शर्माका अनुसार तीन दिनको झरीले पर्यटन क्षेत्रमा ठूलो असर परेको छ। ‘झरीले सबैतिर बाढी पहिरो आउँदा पोखरा नै ‘लक’ भयो। पाहुनाको आउजाउ ठप्प भयो,’ शर्माले भने, ‘आउन थालेका पाहुना पनि जहाँको त्यहीँ रोकिए।’ उनका अनुसार यो बेला भारतीय र चिनियाँ पाहुनाको आगमन थियो। चिनियाँ पाहुना काठमाडौंमै रोकिएको उनले बताए। बुटवल हुँदै पोखरा आउन थालेका भारतीय पाहुना बाटो अवरुद्ध हुँदा बुटवलबाटै घर फर्केको उनले सुनाए।

‘पाहुनाको हिँडडुल गर्ने अवस्था नै रहेन । बाढीपहिरोले गर्दा धेरै पर्यटकको बुकिङ क्यान्सिल भयो,’ उनले भने, ‘सबैतिर बाढीपहिरोको अप्ठेरोले गर्दा पाहुना चलायमान हुन सकेनन् ।’ तीन दिनको झरीले पोखरा भित्रिने मुख्य सिद्धार्थ र पृथ्वी राजमार्ग तीन दिनसम्मै ठप्प जस्तै भएको थियो। विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा पहिरोसँगै हिलोको लेदोले घन्टौंसम्म पाहुना बाटैमा रोकिएको उनले बताए। काठमाडौंबाट पोखरा आउन झन्डै २२ घण्टा लागेको व्यवसायीले बताए। त्यस्तै वर्षाले ठाउँठाउँमा पहिरो निम्त्याउँदा सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको थियो।

वर्षाका कारण पोखरासम्मको हवाई मार्ग पनि ठप्प भएको थियो । अविरल वर्षाका कारण गत शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिनभर अवरुद्ध भएको थियो। आइतबार बल्ल उडान भएका थिए। ‘पोखरासम्मको हवाई र स्थल यातायात अवरुद्ध हुँदा यात्रुको ओहोरदोहोर नै रोकियो,’ उनले भने। उनका अनुसार होटलको अकुपेन्सी यो बेला निकै कम छ। वर्षा अघिसम्म करिब ३५ प्रतिशत रहेको पोखराका होटलको अकुपेन्सी अहिले १५ प्रतिशतमा झरिसकेको छ। केहीदिन अघिसम्म चलायमान रहेको पर्यटन क्षेत्र वर्षाका कारणले एकाएक सुनसान बनेको शर्माले बताए।

‘पोखरा सबै मौसमका लागि भनेर भनेका छौं तर पर्यटकको यात्रा सुरक्षित बन्न सकेन । कहाँ कतिखेर पहिरोको चपेटामा परिने हो भन्ने त्रास भयो,’ होटल संघका पूर्व अध्यक्ष समेत रहेका शर्माले भने, ‘आधा बाटो आइसकेका पाहुना घर फर्किन बाध्य भएका छन्। पाहुनाको यात्रा सुरक्षित हुनै सकेन। पहुँचमा समस्या हुँदा पाहुनाले चाहेर पनि पोखरा आउन पाएनन्।’ केहीवर्ष अघिसम्म यो बेला पाहुना नहुँदा पर्यटन क्षेत्र पूरै सुनसान हुने गरेकोमा पछिल्लो समय केही आगमन त छ तर त्यो पर्याप्त नभएको उनले बताए । ‘दशक अघिजस्तो यो बेला होटल बन्द गर्नुपर्ने अवस्था छैन तर पाहुनाको आउजाउ कम छ । अझ वर्षाले गर्दा झन् बढी प्रभावित भएको छ,’ उनले भने।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि यो पटकको वर्षायाममा पाहुना आगमन निकै नै घटेको बताउँछन्। ‘पोहोर यो बेलाभन्दा अहिले पाहुना कम छन्। अकुपेन्सी बढीमा १५ प्रतिशत होला । बाटो अवरुद्ध हुँदा पाहुना आउन पाएनन्,’ पराजुलीले भने, ‘भारतीय पाहुना पनि रोकिए । आन्तरिक पाहुना पनि यो बेला कम भए।’ उनका अनुसार केही दिन अघिसम्म भारतीय पाहुनाका कारण पर्यटन क्षेत्रमा केही चहलपहल थियो तर अहिले सुनसान जस्तै भएको छ।

‘बाढीपहिरोले पारेको अप्ठेरो छँदैछ। त्यसले केही दिनका लागि पहुँचमा समस्या पारेकै हो तर आन्तरिक पाहुनाको आगमनमा आर्थिक अवस्थाको अप्ठेरो थपिएको अनुमान छ,’ पराजुलीले भने, ‘पछिल्लो समय व्यवसायमा मन्दी देखिएको छ र त्यसको असर आन्तरिक पाहुनाको आगमनमा पनि परेको हो।’ उनका अनुसार अझै केही दिन पाहुना आगमन बढ्ने छैन किनभने वर्षाको अप्ठेरो अझै केही समय रहनेछ।

‘पोखरासम्मको पहुँचमा पनि निकै नै समस्या छ। हवाई र स्थलमार्ग त अनिश्चित नै बन्यो । अत्यावश्यक काममा बाहेक मान्छे हिँडडुल गर्ने अवस्था छैन,’ उनले भने । उनले पर्यटन क्षेत्रमा अबको सिजनमा मात्र पाहुनाको आगमन केही बढ्न सक्ने बताए। सेप्टेम्बरदेखि सुरु हुने सिजनमा बल्ल पाहुनाको चहलपहल बढ्ने अनुमान रहेको उनले सुनाए। ‘विदेशीको सिजन पनि सुरु हुने र अहिलेको वर्षा रोकिने हुँदा आन्तरिक पाहुना पनि बढ्नेछन्। भारतीय पनि थपिने छन्। चाँडबाडले गर्दा पाहुनाको आगमन बढ्नेछ,’ पराजुलीले भने।

पर्यटन व्यवसायीका अनुसार यो बेला पर्यटकीय गतिविधि खासै हुँदैनन्। पदयात्रा पनि वर्षाका कारण कठिन हुने भएकाले पाहुना कम हुने गरेका छन्। त्यसबाहेक वर्षा हुने भएकाले अरू साहसिक पर्यटकीय गतिविधि पनि उतिसारो हुँदैनन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थीले भने, ‘यो बेला पदयात्राको सिजन होइन। वर्षाका कारण केही महिना पदयात्रा हुँदैन। पाहुना छोटो दूरीको हाइकिङ जानेबाहेक लामो दूरीको पदयात्रामा जाँदैनन् । त्यसले गर्दा यो बेला पाहुना आगमन कम छ।’

अहिले तेस्रो मुलुकका विदेशीसहित भारतीय र आन्तरिक पाहुना पनि कम भएको टानका अध्यक्ष पन्थीले बताए। ‘पर्यटकीय गतिविधि पनि यो बेला नहुने भएकाले व्यवसायी पनि फुर्सदिला बन्छन् । केहीवर्ष अघिसम्म त यो बेला केही व्यवसाय बन्द नै हुन्थे। अहिले व्यवसाय बन्द नभए पनि पाहुना कम छन्,’ अध्यक्ष पन्थीले भने, ‘अहिले त झन् पाहुना आउनै सक्ने अवस्था रहेन। मनसुनी वर्षाले गर्दा पहुँचमा समस्या पनि छ। आएका पाहुना पनि फर्किन सक्ने अवस्था छैन। जो जहाँ छ, त्यहीँ रोकिनुपर्ने अवस्था छ। त्यसको असर पर्यटनमा पर्छ।’

प्रकाशित: २६ असार २०८१ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App