१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

फेवा सिरानमा ‘रोपाइँ महोत्सव’को तयारी

पोखरामा हुने रोपाइँ महोत्सवबारे जानकारी दिँदै। तस्बिरः नागरिक

‘पोखरा सबै मौसमका लागि’ भन्ने सन्देश प्रवाह गर्न असारे रोपाइँ महोत्सवको तयारी गरिएको छ। पोखरा पर्यटन परिषद् (पिटिसी)को आयोजनामा हुने यो महोत्सवको १९ औं संस्करण हो।  

पोखरामा हरेक वर्ष हुने यो महोत्सवले आन्तरिक र केही विदेशी पाहुना आकर्षित गर्ने व्यावसायीको भनाई छ। परिषद्ले हरेकवर्ष असार १५ का दिन यो महोत्सव आयोजना गर्दै आएको छ। परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा आन्तरिक र बाह्य पर्यटक आगमन बढाउन महोत्सव फलदायी भएको विहीबार आयोजित पत्रकार भेटघाटमा बताए।

हरेक वर्ष फरक ठाउँमा यो महोत्सव हुँदै आएको छ। अध्यक्ष श्रेष्ठका अनुसार यो पटकको महोत्सव पोखरा महानगरपालिका– २३ मार्गी स्थित फेवाफाँटमा हुनेछ। फेवातालको सिरान क्षेत्रमा हुने यो महोत्सवका लागि स्थानीय मार्गीबगर टोल विकास संस्थासँग सहकार्य भएको उनले बताए।  

‘पोखरा सबै मौसमका लागि’ भन्ने मुल नाराले असारे रोपाँई महोत्सव गर्न थालेका हौ। २०६१ सालमा सुरु भएको यो महोत्सव पर्यटन क्षेत्रका लागि ब्राण्ड बनेको छ,’ उनले भने। वर्षायामको यो सिजनमा पोखराको पर्यटनमा अफ सिजन हुने भएकोले पर्यटकलाई आकर्षित गर्न महोत्सव आयोजना गरेको उनले बताए।  

‘असारे रोपाँइ महोत्सवले केही विदेशी र धेरै आन्तरिक पाहुनालाई पोखरा तान्न सघाएको छ,’ उनले भने, ‘हिलोमा रमाउन पाउने यो महोत्सवले पर्यटकको बसाईअवधि बढाउन पनि सघाएको छ।’ पोखराको बढ्दो शहरीकरण र स्थानियको बदलिँदो जीवनशैलीलाई चिर्दैै यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्नमा स्थापित भएको उनले बताए।  

परिषदले पोखरा वरिपरि भएका खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकलाई आफ्नो पेशाप्रति उत्प्रेरित गर्नका साथै असार १५ का दिन ‘हिलोमा एकपटक त टेक्नु पर्छ है’ भन्ने भनाइलाई समेत जीवन्त तुल्याउने अभिप्रायले महोत्सवलाई निरन्तरता दिएको उनले बताए। सरकारले समेत विगतका केही वर्ष देखि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा समेत मनाउँदै आएको छ।  

महोत्सवमा साउने प्रतियोगिता (हल गोरुको दौड) असारे गीत तथा रोपाइँ, हिलोमा माछा समात्ने, दौड, रस्सा–कस्सी, हिलोमा भलिबल प्रतियोगिता सहित सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम रहेको पनि परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए।

प्रकाशित: १२ असार २०८१ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App