१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आठ वर्ष विदेशमा बसेका नवराज स्वदेश फर्केर पशुपालनमा रमाउँदै

फाइल तस्बिर

नवलपरासी (बर्दघाट सुस्तापूृर्व) को कावासोती नगरपालिका– १७ गोछडाका नवराज गौडेल विगत पाँच वर्षदेखि पशुपालनमा व्यस्त छन्। रोजगारीका सिलसिलामा आठबर्से वैदेशिक रोजगारीमा बिताएका नवराज अहिले स्वदेशमै पशुपालनमा रमाएका छन्।

वैदेशिक रोजगारीमा रहँदा मासिक ३० हजार रुपैयाँ कमाउने उनले अहिले पशुपालनबाट मासिक ८० हजार बचत हुने गरेको बताए। गाउँघर छाडेर विदेशी भूमिमा १२ घन्टासम्म पसिना बगाउँदा पनि परिवार पाल्न धौधौ भएपछि आफ्नै माटोमा कृषि तथा पशुपालन गर्ने अठोटका साथ व्यवसाय सुरु गरेको गौडेलले बताए।

‘आठ वर्ष विदेश बसेर पनि सोचेजस्तो आम्दानी नभएपछि नेपालमै पसिना बगाउने सोच आएको हो’, उनले भने, ‘अहिले घरपरिवारसँग दुःख गर्दै खर्च कटाएर महिनाको ८० हजारसम्म जोगाउन सकेको छु।’

सात लाख रुपैयाँको लगानीमा २०७५ सालमा गौडेल गाई तथा कृषि फार्म स्थापना गरी २३ वटा गाईबाट सुरु भएको व्यवसायले सबै लगानी उठाएर फाइदा दिन थालेको छ। गाईभैंसीको आहारका लागि सात कठ्ठा जमिनमा उन्नत जातको घाँस खेती गरी यसलाई नियमित र दिगो बनाउन थालिएको गौडेलले बताए।

‘बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म समय तालिकाअनुसार श्रीमान् र श्रीमती मिली गाईभैँसीको स्याहारसुसारदेखि दूध बिक्रीमा खट्ने गरेका छौं’, उनले भने। आफ्नै गाउँघरमा परिवारसँग मेहनत गर्न पाउँदा नवराज खुसी छन्। साँझबिहान परिवारसँगै दुःख बिसाउँदै स्वदेशमै केही गर्न चाहनेका लागि पशुपालन अझै पनि राम्रो विकल्प रहेको उनको सुझाव छ।

विदेश भूमिमा तातो घाममा पसिना बगाउने दुःखको केही अंश मात्र स्वदेशमा मेहनत गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने गौडेलले बताए। पाँच वर्षको पशुपालन अनुभवमा पछिल्लो वर्ष पशुमा देखिएको लम्पी स्किन रोग र मिल्क होलिडेले केही समस्या सिर्जना गरे पनि व्यवसाय सम्हालिएको छ। लम्पी स्किन रोगबाट दुईवटा गाईलाई असर गरे पनि नियमित सरसफाइ र औषधि उपचारले क्षति हुन नपाएको गौडेलले बताए।

घाँस–परालका लागि कुनै समस्या नभए पनि दाना चापटको मूल्य निरन्तर बढिरहँदा किसानलाई मर्का परेको उनको गुनासो छ। ‘दाना चापटको मूल्य निरन्तर बढ्दो छ, भारतबाट दूध पनि नेपाल भित्रिँदा यहाँ उत्पादन भएको दूधले बजार नपाउने अवस्था सिर्जना भयो’, उनले भने, ‘राज्यले यस्ता कुरामा नियमन गरे किसानलाई मार पर्दैनथ्यो।’ –रासस

प्रकाशित: ३० चैत्र २०८० १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App