प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणाली लागु गर्ने वा नगर्ने भन्ने विवाद सल्टेको महिना दिन नपुग्दै व्यावसायी बीच पुनः अर्को विवाद सुरु भएको छ। त्यो विवाद हो–प्याराग्लाइडिङको ‘टेकअफ र ल्याण्डिङ’ प्वाइन्ट बारे।
व्यावसायीबीचको पछिल्लो विवाद नेपालको हवाई सेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) सम्म पनि पुगेको छ। प्राधिकरणले पछिल्लो विवाद तीन दिनभित्र समाधान नगरे पोखराको प्याराग्लाइडिङ उडान नै बन्द गर्नेसम्मको चेतावनी दिएको छ।
व्यावसायीका अनुसार पोखरामा हाल संचालनमा रहेका ५७ वटा प्याराग्लाइडिङ कम्पनी दुई समूहमा विभाजित छन्। एउटामा ४४ र अर्को पक्षमा १३ वटा कम्पनी छन्।
यिनै कम्पनीबिचको विवाद बढ्दै जाँदा अघिल्लो महिना एकद्वार प्रणाली हटेर खुला बजार नीति अनुसार व्यावसायी आफैले मूल्य तोकेर उडान गर्न पाउने गरि सहमति भएको थियो।
व्यावसायी आफैले मूल्य तोक्न पाउने भएपछि अहिले पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क १२ हजारबाट घटेर ३ हजार रुपैयाँसम्म झरेको छ। शुल्क घटेपछि अहिले उडान गर्ने पर्यटक भने थपिएको व्यवसायीले बताएका छन्।
खुला बजार नीति अनुरूप उडान सुरु भएपनि व्यावसायीबीच ‘टेकअफ र ल्याण्डिङ’ प्वाइन्ट बारे फेरि विवाद सुरु भएको छ। विवाद बढेसँगै ४४ वटा कम्पनीले पुरानो ‘टेकअफ र ल्याण्डिङ’ प्वाइन्ट अरु १३ कम्पनीलाई दिन आनाकानी गरेका छन्।
‘टेकअफ र ल्याण्डिङ’ प्वाइन्ट नपाउने अवस्था आएपछि १३ वटा कम्पनी प्राधिकरणसमक्ष नयाँ टेकअफ र ल्याण्डिङ पोइन्ट माग गर्न पुगेको प्राधिकरणले बताएको छ।
प्राधिकरणकी फ्लाइट सेफ्टि स्ट्यान्डर्ड विभागकी प्रबन्धक समिता शाक्यले ‘टेकअफ र ल्याण्डिङ’ प्वाइन्ट माग गर्दै प्याराग्लाइडिङ कम्पनी आएको बताइन। ‘जसले जहाँ माग्यो, त्यही ‘टेकअफ र ल्याण्डिङ’ प्वाइन्ट दिन सकिन्न। किनभने यो सुरक्षाको कुरा पनि हो। त्यसैले त्यसको व्यवस्थापनको जिम्मा प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) को हो,’ शाक्यले भनिन, ‘प्राधिकरणले प्याराग्लाइडिङ व्यवस्थापन गर्ने जिम्मा छाता संस्था ना लाई दिएका छौ। त्यसैले ठाउँ व्यवस्थापन गर्ने जिम्मा पनि ना कै हो।’
अवतरण र टेकअफ गर्ने ठाउँ नपाएको भन्दै केही कम्पनीले गुनासो गरेको उनले बताइन। ‘ना ले सबै कम्पनीलाई समान व्यवहार गर्न नसके प्याराग्लाइडिङ उडान नै बन्द गरिदिन्छौ। किनकि कहिले के त कहिले के चाहियो भनेर माग गर्ने होइन, आफैलै व्यवस्थापन गर्ने हो,’ उनले भनिन, ‘प्राधिकरणले तीन दिनको समय दिएको छ। व्यवस्थापन नगरेमा बन्द गर्न बाध्य भइनेछ।’
व्यावसायीका अनुसार एकद्वार प्रणाली लागु हुँदासम्म ना ले सबै कम्पनीलाई आलोपालो प्रणाली अन्तरगत नै प्याराग्लाइडिङ उडान र अवतरण गराउँदै आएको थियो। तर, अहिले आफैले व्यवस्थापन गर्न थालेपछि व्यावसायीबीच प्रतिस्पर्धा बढ्दा उडान संख्या पनि थपिएका छन्। उडान संख्या बढेर सुरक्षा चुनौती थपिएको भन्दै ‘टेकअफ र ल्याण्डिङ’ ठाउँको अभाव भएको एकथरी व्यवसायीको भनाई छ।
व्यावसायीका अनुसार अहिले मान्द्रेढुंगाबाट मात्र प्याराग्लाइडिङ उड्न पाउँछन् भने फेवाताल सिरान क्षेत्रको पामेमा अवतरण गर्छन्। मान्द्रेढुंगामा दुइवटा टेकअफ र पामेमा एउटा मात्र ल्याण्डिङ प्वाइन्टबाट उडान र अवतरण भइरहेको थियो। नाले व्यक्तिको जग्गा भाडामा लिएर उडान र अवतरण संचालन गरिरहेको थियो।
‘पहिला नाले व्यवस्थापन गर्दा टेकअफ र ल्याण्डिङ गर्ने ठाउँको समस्या थिएन। किनभने आलोपालोमा उड्दा ठाउँ अभाव थिएन। तर, अहिले मनलाग्दी उडान गर्न पाउँदा चाप बढेको छ। त्यसले गर्दा टेकअफ र ल्याण्डिङ प्वाईन्ट अपुग भएको हो,’ ४४ कम्पनी पक्षधर एक जना व्यवसायीले भने, ‘नाले व्यवस्थापन गर्दा सहज थियो। तर, अहिले भद्रगोल बढ्दै जाँदा अरु १३ वटा कम्पनीले उड्ने र अवतरण गर्ने ठाउँ पाएनन्।’ ती व्यावसायीका भाडामा लिएको ‘टेकअफ र ल्याण्डिङ’ प्वाइन्टको जग्गाधनीसँगको सम्झौता माघ १ गतेदेखि सकिएको छ।
‘जग्गाधनीसँग सम्झौता सकिएपछि १३ कम्पनीले त्यहाँ ‘टेकअफ र ल्याण्डिङ’को ठाउँ नपाएका हुन,’ उनले भने, ‘त्यसपछि ती कम्पनी प्राधिकरणमा ‘टेकअफ र ल्याण्डिङ’ को ठाउँ चाहियो भन्दै गएका हुन।’ सबै व्यावसायी एकै ठाउँ हुन नसक्दा यो अवस्था आएको ती व्यवसायीले बताए। ‘छाता संस्थाले व्यवस्थापन गर्दा यी समस्या थिएनन्। तर अहिले कम्पनीबिच विवाद बढ्दै जाँदा विवाद पनि नयाँ नयाँ निस्किएका हुन्,’ ती व्यवसायीले बताए।
अर्को पक्षधर व्यावसायिक समूहका एक जना व्यवसायीले सबै कम्पनीले एकै ठाउँबाट उड्न र अवतरण गर्न खोज्दा साँघुरो भएकोले नयाँ ‘टेकअफ र ल्याण्डिङ’ प्वाइन्ट चाहियो भन्दै प्राधिकरणमा माग गरेको बताए। ‘सराङकोट क्षेत्रमा उडान हुँदा समस्या थिएन। किनकि त्यो बेला उडान र अवतरणका लागि ५–५ वटा ठाउँ थिए।
अहिले मान्द्रेढुंगा र पामेमा साँघुरो भयो,’ ती व्यवसायीले भने, ‘सबै व्यावसायी एकै ठाउँ जाँदा ‘टेकअफ र ल्याण्डिङ’ प्वाइन्ट व्यस्त भयो। सीमित ठाउँमा एकैपटक धेरै उड्न जाँदा भिडभाड भएकोले फरक ‘टेकअफ र ल्याण्डिङ’ माग गरेका हौं।’ ‘वैकल्पिक ठाउँमा व्यवस्थापन गर्न खोजेको उनले बताए। उनले भने, ‘सबै एक ठाउँमा रहँदा असुरक्षित हुने अवस्था आयो।’
छाता संस्था (ना) का अध्यक्ष सुनिल भट्टराईले भने सबै व्यावसायी मिल्दा व्यवस्थापन गर्दा सहज भएपनि अहिले अप्ठेरो परेको बताए। ‘सबै मिलेर गर्दा सहज थियो। तर, अब व्यवसायीले आफ्नो व्यवस्थापन आफैले गर्ने भएपछि ‘टेकअफ र ल्याण्डिङ’ प्वाइन्ट पनि आफैले खोज्नुपर्छ,’ उनले भने, ‘टेकअफ र ल्याण्डिङ’ स्पट माग्नेले भोलि गाडी र कार्यालय चाहियो भन्दैमा हामीले दिन सक्दैनौ।’
उनले पनि ४४ वटा कम्पनीले पुरानै ‘टेकअफ र ल्याण्डिङ’ लाई भाडामा लिएको र १३ वटाले नयाँ ठाउँ खोजेको बताए। ‘टेकअफ र ल्याण्डिङ’ का लागि नयाँ ठाउँ चाहियो भन्न प्राधिकरणमा पुगेका हुन,’ उनले भने, ‘क्यानले हामीलाई नै व्यवस्थापन गर्नु भने पनि हामीले गर्ने होइन। किनकि सबै क्षेत्रको व्यवस्थापन जिम्मा नाले गर्ने होइन। कम्पनी आफ्नो व्यवस्थापन आफैले गर्नुपर्छ।’
प्रकाशित: २१ माघ २०८० १५:४५ आइतबार