अर्गानिक कृषि उत्पादनको लक्ष्यसाथ जिल्लाका किसानको गोठ–गोठमा भकारो सुधार कार्यक्रम सञ्चालन तयारी गरिएको छ। विशेषगरी अर्गानिक चिया उत्पादनका लागि किसानलाई मल उत्पादनमा सहयोग गर्न लागिएको हो।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चिया बढी उत्पादन हुने क्षेत्रका ८ सय किसानको गोठमा भकारो सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो। हरियो चिया उत्पादन गर्ने प्रत्येक किसानका लागि २५ हजार रुपैयाँ अनुदानको कार्यक्रम ल्याउन लागिएको बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले जानकारी दिए। उनका अनुसार बोर्डले स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्नेछ।
बोर्डको ‘नेपाल इन्क्रिज सस्टेनेवल टि एक्पोर्ट’ परियोजनाअन्तर्गतको कार्यक्रम कार्यान्वयनका लागि सुरुमा चियाको ‘पकेट क्षेत्र’ पहिचान गरिनेछ। पकेट क्षेत्रका किसानको गाई–भैंसीगोठमा गहुँत बगाउने नाली, नजिकै मल बनाउने २ देखि ३ वटासम्म खाडल, त्यसमाथि छानोलगायत संरचना निर्माण गरिने बोर्डका परियोजना संयोजक टेकप्रसाद लुइँटेलले जानकारी दिए। ‘गुणस्तरीय गोठेमल उपलब्ध गराउन, गहुँच सदुपयोग र वातावरण संरक्षणका लागि भकारो सुधार कार्यक्रम प्रभावकारी बन्नेछ,’ लुइँटेलले भने, ‘अर्गानिक उत्पादन गर्ने किसान, गाई–भैंसी पालेको र यसअघि यही प्रयोजनमा कतैबाट सहयोग लिन नपाएको किसानलाई यो कार्यक्रम दिइने छ।’
‘चियाको राजधानी’ पनि भनिने सूर्योदय नगरपालिकाले चिया किसानका लागि भकारो सुधार कार्यक्रम प्रभावकारी हुने जनाएको छ। नगरको अर्गानिक उत्पादनको अभियानलाई बोर्डको कार्यक्रमले सहयोग गर्ने मेयर रणबहादुर राईले बताए। ‘सूर्योदय नगरले केही वर्षदेखि नै यहाँको सबै कृषि उत्पादन अर्गानिक बनाउँदै जाने रणनीति लिइसकेको छ,’ उनले भने, ‘स्थानीय र विश्वबजारको माग बिस्तारै अर्गानिक कृषि उत्पादनतिरै गइरहेको छ। राम्रो बजार र मूूल्य पाउन अर्गानिक उत्पादनको विकल्प छैन।’ सूर्योदयले अर्गानिक नगरको लक्ष्यसाथ २०७५ सालमै चियासम्बन्धी कार्यविधिसमेत निर्माण गरी कार्यान्वयन गरिरहेको छ।
बोर्डले इलामसहित चिया उत्पादन हुने विभिन्न जिल्लामा करिब १८ करोड रुपैयाँ लागतको परियोजना सञ्चालन गरिरहेको छ। अर्गानिक चियाको गुणस्तर बढाउन र व्यापार प्रवद्र्धनमा सहयोग गर्न परियोजना सुरु गरिएको हो। बोर्डका अनुसार यो परियोजना चियाको सिजनअनुसारका गतिविधिमा केन्द्रित छ। चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा किसान र उद्योगीलाई प्रयोगात्मक अभिमुखीकरण गर्नेगरी तीनवर्षे परियोजना चलिरहेको हो। डेढ वर्ष अवधि बाँकी रहेको परियोजनाअन्तर्गत सबै गतिविधि चिया बगान, उद्योग, संकलन केन्द्रलगायतमै सम्पन्न भइरहेको बोर्डका कार्यकारी निर्देशक डा।भट्टराईले जानकारी दिए।
यसअन्तर्गत जिल्लामा किसानका समूह–समूह बनाइएका छन्। जिल्लामा छरिएका यी सबै समूहमा पुगेर प्राविधिकले चियाको मौसमअनुसारका काम सिकाउँदैछन्। ‘यो पूर्ण प्रयोगात्मक काममा आधारित परियोजना भएकाले किसानलाई फिल्डमै प्रशिक्षण गराइँदैछ,’ डा।भट्टराईले भने, ‘व्यावहारिक ज्ञान र सीप एकैपटक सिकाइँदैछ।’
अर्गानिक चियाको बजार सम्भावना उच्च भएर पनि किसानले यसबाट पर्याप्त लाभ लिन सकिरहेका छैनन्। पहाडी क्षेत्रको चिसो मौसममा उत्पादित अर्गानिक अर्थोडक्स चियाको माग विश्वबजारमा उच्च भएपछि गुणस्तर र परिमाण बढाउन प्रयास भइरहेको छ। चिया क्षेत्रको विकासका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट पर्याप्त प्रयास हुन नसकेको किसानले गुनासो गरिरहेका छन्। यही अभाव परिपूर्ति गर्ने प्रयास बोर्डले गरिरहेको डा।भट्टराईले जनाए। ३ हजार हाराहारी किसान परियोजनाबाट लाभान्वित हुने अनुमान बोर्डको छ। ‘यो परियोजना अरूभन्दा फरक छ,’ उनले भने, ‘किनभने, यो परियोजनाका कार्यक्रम कतै नअल्झी सोझै किसानसम्म पु¥याइएको छ।’
प्रकाशित: १४ पुस २०७९ ०७:०७ बिहीबार