२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

१० बैंकको नाफा साढे ३२ अर्ब

अर्थतन्त्रमा सुधारका संकेत देखिएसँगै त्यसको प्रभाव बैंकको व्यालेन्स सिटमा पनि देखिएको छ। वाणिज्य बैंकहरूको वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै नाफा आर्जन गरेका छन्। वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण धमाधम सार्वजनिक गरेका छन्। अहिलेसम्म विवरण सार्वजनिक गरेका १० वटा वाणिज्य बैंकले गत आवमा करिब साढे ३२ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष ३४.२० प्रतिशत नाफा बढाएका छन् । अघिल्लो वर्षको तुलनामा पोहोर आठ अर्ब २५ करोड ३५ लाख रुपैयाँ बढी नाफा आर्जन गरेका छन्। अघिल्लो आव २०८०/८१ मा ती १० बैंकले २४ अर्ब १२ करोड ८५ लाख २८ हजार रुपैयाँ नाफा कमाएका थिए। वाणिज्य बैंकहरूको खराब कर्जामा सुधार, नेपाल राष्ट्र बैंकको लचिलो मौद्रिक नीतिका कारण बैंकको नाफा बढेको हो।

हालसम्म २० वाणिज्य बैंकमध्ये एभरेष्ट बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, नबिल बैंक र हिमालयन बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन्।

गत आर्थिक वर्ष सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ। नबिल बैंकले सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशत बढी हो। अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

त्यसैगरी एभरेष्ट बैंकले गत वर्ष चार अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले तीन अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ३२.८० प्रतिशत अर्थात् एक अर्ब २१ करोड ४९ लाख ४० हजार रुपैयाँ बढी नाफा गरेको हो।

त्यसैगरी कृषि विकास बैंकले गत वर्ष चार अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष बैंकले दुई अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष यस बैंकले ४३.३८ प्रतिशत अर्थात् एक अर्ब २५ करोड ६९ लाख ८८ हजार रुपैयाँ बढी नाफा गरेको हो।

त्यसैगरी एनएमबी बैंकको गत वर्ष एक अर्ब तीन करोड ७३ लाख ९६ हजार रुपैयाँ बढेर तीन अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा गरेको गरेको छ। अघिल्लो वर्ष बैंकले दुई अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। सिद्धार्थ बैंकको गत वर्षमा खुद नाफा १०.२३ प्रतिशत बढेर तीन अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकले तीन अर्ब आठ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यसैगरी, कुमारी बैंकको खुद नाफा दुई अर्ब ११ करोड ६४ लाख नौ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कुमारी बैंकले ४६ लाख आठ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। त्यसैगरी सानिमा बैंकको गतमा खुद नाफा ७.२४ प्रतिशत बढेर दुई अर्ब ५७ करोड ११ लाख रुपैयाँ गरेको छ भने अघिल्लो वर्ष बैंकले दुई अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

माछापुच्छ्रे बैंकको खुद नाफा ९२.४४ प्रतिशत अर्थात् ९६ करोड ६२ लाख ६२ हजार रुपैयाँ बढेर दुई अर्ब एक करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ। अघिल्लो वर्ष बैंकले एक अर्ब चार करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत बढेर एक अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले एक अर्ब २३ करोड ८३ लाख तीन हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यसैगरी सिटिजन्स बैंकको गत वर्ष बैंकको खुद नाफा भने २ प्रतिशत घटेर एक अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष बैंकले एक अर्ब ३२ करोड सात लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

प्रकाशित: २८ श्रावण २०८२ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App