२ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

विश्वकप २०२६ : पाराग्वेलाई ४-१ ले हराउँदै अमेरिकाको शानदार सुरुवात

२०२६ फिफा विश्वकपको सह-आयोजक अमेरिकाले घरेलु मैदानमा भइरहेको २०२६ फिफा विश्वकपको आफ्नो पहिलो खेलमा पाराग्वे विरुद्ध ४-१ को सानदार जित निकालेको छ।

लस एन्जलस स्टेडियममा हजारौँ घरेलु समर्थकका माझ अमेरिकाले सुरुदेखि अन्त्यसम्म खेललाई आफ्नो पूर्ण नियन्त्रणमा राख्यो। खेलको छैटौं मिनेटमै पाराग्वेका मिडफिल्डर डामियान बोबाडिलाको आत्मघाती गोलबाट अमेरिकाले सुरुवाती अग्रता लिएको थियो। त्यसपछि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनले उत्कृष्ट प्रदर्शन गर्दै खेलको ३१ औं मिनेट र पहिलो हाफको इन्जुरी समय (४५+५ मिनेट) मा लगातार दुई गोल थपेर टोलीलाई पहिलो हाफमै ३-० को बलियो स्थितिमा पुर्‍याए।

यो उत्कृष्ट प्रदर्शनका लागि उनलाई 'प्लेयर अफ द म्याच' घोषित गरियो। यस गोलसँगै बालोगुन विश्वकपको एउटै खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने अमेरिकी फुटबल इतिहासकै दोस्रो खेलाडी बनेका छन्। यो कीर्तिमान अमेरिकी सकर इतिहासमा ९६ वर्षपछि बनेको हो; यसअघि सन् १९३० को विश्वकपमा पाराग्वेविरुद्ध नै बर्ट पाटेनाउडले यो रेकर्ड राखेका थिए।

दोस्रो हाफमा पाराग्वेले खेलमा फर्कने केही प्रयास गर्‍यो। खेलको ७२ औं मिनेटमा पाराग्वेका वैकल्पिक खेलाडी मौरिसियोले जुलियो एन्सिसोको पासमा टोलीका लागि पहिलो गोल फर्काए। 

खेलको अन्तिम समयतिर अमेरिकी प्रशिक्षक माउरिसियो पोचेटिनोले रक्षापंक्ति बलियो बनाउन र खेलाडीको ऊर्जा जोगाउन केही मुख्य परिवर्तनहरू गरेका थिए। उनले कप्तान क्रिस्टियन पुलिसिकको स्थानमा सेबास्टियन बर्हाल्टर तथा दुई गोल गरेका बालोगुन र सेर्जिन्हो डेस्टको स्थानमा रिकार्डो पेपी र तिमोथी वेहलाई मैदान पठाए। 

यसअघि ५८ औं मिनेटमा अमेरिकी मिडफिल्डर टाइलर एडम्सले पहेँलो कार्ड पाएका थिए। खेलको अन्तिम समयमा पाराग्वेले दबाब बढाउन खोजे पनि इन्जुरी समयको अन्तिम मिनेट (९०+७' मिनेट) मा अमेरिकाका जियोभानी रेनाले चौथो गोल थप्दै टोलीको ४-१ को सुनिश्चित जित पक्का गरेका हुन्। यो प्रभावशाली जितसँगै संयुक्त राज्य अमेरिकाले विश्वकपमा सुखद सुरुवात गर्दै समूह 'डी' को तालिकामा आफूलाई बलियो स्थानमा उभ्याएको छ।

प्रकाशित: ३० जेष्ठ २०८३ ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App