गत वर्ष मे २२ का दिन रुस–नेपाल सहयोग तथा मैत्री समाज, मस्कोका प्रतिनिधिमण्डलका साथ विख्यात सोभियत–रुसी तथा दागेस्तानी कवि रसुल गाम्जातोभको जन्म–शतवार्षिकोत्सवको कार्यक्रममा उपस्थित हुने अवसर पाएको थिएँ। नगरकोटमा अवस्थित कविको प्रतिमास्थलमा भएको उक्त कार्यक्रममा मैले कवि रसुल गाम्जातोभको कविता पढेर सुनाएँ र त्यसको प्रत्युत्तरमा मैत्री समाज, मस्कोका उपाध्यक्ष बोरिस भेर्सिनिनले मेरो कविता ‘जब म अर्को लोकमा हुनेछु र सोभियत मान्छेहरूलाई भेट्नेछु’ रुसी भाषामा वाचन गरे। जसको रुसी भावानुवाद लेखिका कवयित्री ताच्याना पत्योम्किनाले गरेकी थिइन्। सेप्टेम्बर ८ मा यी नेपालप्रेमी व्यक्तित्वको १०२ औं वार्षिकोत्सव पर्छ।
सदियौंदेखिको रुस र नेपालबिचको सम्बन्धले कैयन् सरल, घुम्ती र कुइनेटाहरू पार गर्दै आएको छ। औपचारिक रूपमा हाम्रा राष्ट्रबिचको मित्रताको आधारशिला १९५६ जुलाई २० मा कूटनीतिक सम्बन्ध स्थापनासँगै बसालिएको थियो।
लिखित प्रकाशनलाई बिचार्ने हो भने नेपाल–रुस साहित्यिक यात्राको इतिहास एक सय ५० वर्ष लामो छ। नेपाल–रुस सम्बन्धको इतिहास खोतल्दा नेपाल भ्रमण गर्ने पहिलो रुसी नेपालविद् र पूर्वीय दर्शन एवं बुद्धधर्मका ज्ञाता प्रा. इभान पाभ्लोभिच मिनाएभ थिए। उनी जंगबहादुर राणाको शासनकालमा नेपाल आएका थिए र सन् १८७५ मा नेपालयात्राबाट फर्केपछि रुसवासीहरूलाई नेपालबारे बताएका थिए।
प्राच्यविद् विद्वान् मिनाएभले नेपालको बसाइका क्रममा नेवारी भाषा सिकेर ‘नेवारी शब्दकोश’ समेत तयार पार्नुका साथै नेवारी–बौद्धसाहित्य र लोकसाहित्य (फकिरको गीत, नेवारी लोकगीत आदि) को नमुना रुसी भाषामा प्रकाशित गरेका थिए। यो इतिहास जिज्ञासुहरूका लागि कौतूहलपूर्ण र रोचक विषय हो।
नेपालका कला, कौशल र संस्कृति लन्डन र पेरिसको म्युजियमसम्म फैलाउने अर्का रुसी लेखक निकोलाई रेरिख थिए। उनले हिमालयको आत्मालाई आफ्नो चित्रपटमा उतारेका थिए। गत वर्ष उनको १५० औं जन्मजयन्तीको अवसरमा र उनको हिमालप्रेमको सम्मानमा रुसी सदन काठमाडौंमा ‘हिउँको घर’ फोटो प्रदर्शनी गरी मनाइएको थियो।
नेपाली भाषा–साहित्यको अध्ययन तथा प्रचारप्रसारमा योगदान पुर्याउने रुसी विद्वान्हरूमध्ये निकोलाई कोरोल्योभ र ल्युदमिला आगानिना अग्रस्थानमा पर्छन्। निकोलाई कोरोल्योभले सन् १९६५ मा नेपाली र नेवारी व्याकरण लेखेका थिए। साथै उनी नेपाली–रुसी र रुसी–नेपाली शब्दकोशको तयारीमा सहकार्यको टिममा सामेल थिए।
सन् १९५८ को अक्टोबरमा सोभियत संघको तासकन्दमा सम्पन्न अफ्रो–एसियाली लेखक सम्मेलनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको दोभाषे भई काम गरेकी ल्युदमिला आगानिनाले नेपाली साहित्यको अनुसन्धानमा संलग्न रही नेपाली साहित्यसम्बन्धी विभिन्न कृतिहरू प्रकाशमा ल्याएकी थिइन्।
नेपालजस्तै पहाडै पहाडले घेरिएको रुसी फेडेरेसेनको उत्तरी ककेसियन क्षेत्रमा दागेस्तान स्वायत्त गणतन्त्र छ । यहाँस्थित उत्तरपूर्वी ककेसियाको त्साडामा पर्ने अवार गाउँमा सन् १९२३ मा कवि रसुल गाम्जातोभको जन्म भएको थियो। उनको मूल अवार जातिहरू सदियौंदेखि कृष्णसागर र क्यास्पियन सागरबिच बसोबास गर्दै आएका छन्। रसुल गाम्जातोभ भन्थे– ‘दागेस्तान’मा म एक ‘अवार’ हुँ, रुसमा म एक ‘दागेस्तानी’ हुँ र विदेशमा म ‘रुसी’ हुँ । उनी एघार वर्षको छँदा स्थानीय केटाहरूको हुलसँगै पहिलो पटक हवाईजहाज अवतरण गरेको ठाउँमा दौडेर गएका थिए। यो विषय नै उनको प्रथम कविता बन्यो।
रसुल गाम्जातोभले तीन पटक नेपालको भ्रमण गरेका थिए र नेपालको रहस्यमय सौन्दर्यबाट मुग्ध भएर उनले ‘जीवन चक्र’ र ‘जीवित देवी कुमारी’ कवितासंग्रह रचेका थिए। रसुल ‘नेपाल कुँद्न बाँकी रहेको हीरा हो’ भन्थे।
यी कवितासंग्रह स्व. कृष्णप्रकाश श्रेष्ठले नेपालीमा अनुवाद गरेका थिए र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौंले २०५३ सालमा प्रकाशित गरेको थियो। रसुल गाम्जातोभको दुई देवताप्रति (सचित्र त्रिभाषिक काव्यसंग्रह– जीवनचक्र र जीवित देवी कुमारी) इन्भेस्तिओन्नी सोयुज, मास्कोले सन् २०१३ मा निकालेको थियो।
काठमाडौं उपत्यका र गाउँका वास्तुकला र पहाडी भूभागका विशिष्टताहरूबाट मोहित रसुल गाम्जातोभ ‘जीवित देवी कुमारी’मा लेख्छन्–
‘जहाँ पहाडको भिरालोमा बनेका घरहरू
टाँसिएका शंखहरूजस्तै देखिन्छन्
एसियाको चमत्कार– नेपाल
सबैभन्दा अचम्मको कुरा–
सयौं सयौं देवताहरू यहाँ बास बस्छन्।’
त्यसैगरी नेपाललाई माया गर्दै यिनी ‘जीवन चक्र’ कवितासंग्रहमा लेख्छन्–
‘यहाँ हिउँ चितुवाले हिमपहिरो नजिकै
चट्टानी पहाडहरूको शिखरहरूमा प्रभुत्व जमाउँछ
ती मोटा गैंडाहरूबारे अनभिज्ञ,
जुन उपत्यकाहरूमा भेटिन्छन्।
आद्र्र जंगलदेखि हिउँको उचाइसम्म
यहाँ जलवायु विविधता अद्भुत छ
अल्पाइन घाँसे मैदानले कुँदिएको परिदृश्यलाई
फैलिएका खजुरहरूले सजाएका छन्।’
रसुल गाम्जातोभका कविता शाश्वत छन् र हरेक युगमा सान्दर्भिक छन्। उनका कविताले मान्छेलाई सार्थक बाँच्न, मरेतुल्य अनुभूत अवस्थाबाट बाहिर निस्कने बाटो खोज्न मार्गदर्शन गर्छन्। उनी मानवीय मूल्यबारे लेख्छन्–
‘तपाईं लामो वा छोटो आयु बाँच्न सक्नुहुन्छ,
तर म तपाईंलाई नलुकाइ भन्नेछु
यदि अरूको पीडा तपाईंमा भएको छैन भने
तपाईंको जीवन व्यर्थमा बिताइएको छ।’
रसुल गाम्जातोभका कविता मानवीय भावनामा अति नजिक छन्। उनका सिर्जना सोभियत साहित्यको शिखरमा चुचुरा बनेका छन्। एक उज्ज्वल व्यक्तित्व, युगको प्रतीक, लाखौंको प्रिय । उनका कविता पढ्दा तिनमा सन्निहित बुद्धिमत्ता र सुन्दरताले थप आकर्षण गर्छ। उनमा असाधारण हास्यरस पनि थियो। उनी भन्थे– आज मलाई विचारहरूको कब्जियत छ, शब्दहरूको पखाला छ।
गाम्जातोभका केही कविताले सोभियत वीरहरूले प्रदर्शन गरेको अदम्य साहस र बलिदानको प्रशंसा गाउँछ। सोभियत संघका आम मानिसले झैं उनको परिवारले महान् देशभक्तिपूर्ण युद्धमा आफ्ना दुई ठुला भाइहरू गुमाएको थियो। ती कवितामध्ये सारस (झुराव्ली) ले सबैभन्दा प्रसिद्धि पायो, जुन उनले जापानबाट मस्कोतर्फको उडानमा रहँदा रचना गरेका थिए। सोभियतकालदेखि वर्तमान रुसमा समेत यो ‘झुराव्ली’ शब्द विशेष छ। सारस
रसुल गाम्जातोभद्वारा रचित र ‘सारस’ महान् देशभक्तिपूर्ण युद्धको क्रममा मारिएका र लडाइँको मैदानबाट नफर्केका आफ्ना देशवासीको सम्झनामा समर्पित कविता हो। कवितामा सारसहरू युद्धमा मारिएका सिपाहीहरूको प्रतीक बनेका छन्। उनी लेख्छन्–
‘तिनीहरू ऊबेलादेखि अझै पनि
त्यो निलो आकाशमा उडिरहेछन्,
र हामीलाई आवाज दिइरहेछन्।
के त्यसैले त बारम्बार र दुःखी मनले
हामी अवाक आकाशतिर हेर्छौं होइन र?’
सारसबारेका कविताका यी मुटु छुने हरफहरू जब मार्क बर्नेसको आवाजमा गुन्जियो, यो ऐतिहासिक गीत बन्यो, जुन आजपर्यन्त अत्यन्त मार्मिक र जीवन्त छ र युद्धका क्रममा मरेका योद्धाका परिवारहरू यसलाई आफ्नै कहानी ठान्छन्।
यो गीतमा महान् देशभक्तिपूर्ण युद्धमा आत्मोत्सर्ग गर्ने दुई करोड ७० लाख वीरहरूको आत्मा बोल्छ। र यो रुसी सोभियत इतिहासमा बलिदानको बिम्ब बन्यो। गाम्जातोभका कविताले पाठकलाई कृतज्ञताले रुवाउँछन्। मान्छे र संसारप्रतिको आत्मबोध तथा प्रेम गर्न सिकाउँछन्।
‘जब म अर्को लोकमा हुनेछु’
‘जब म अर्को लोकमा हुनेछु’ रसुल गाम्जातोभको अन्तिम कविता थियो । यसका पङ्क्तिहरूमा प्यारो देश गुमाउनुको पीडाले मुटु काटिएका देशवासीका वेदनाहरू छन्। जीवन, मातृभूमि, कर्म र विवेकमा आधारित यो अद्भुत कवितामा दार्शनिकता छ, धेरै जनमानसको तितो अनुभूतिको प्रतिबिम्ब झल्कन्छ, जुन आजपर्यन्त सान्दर्भिक छ।
कवितानुसार अर्को लोकमा गएर आफ्ना दिवंगत बन्धुबान्धवहरूको ‘पृथ्वीमा के भइरहेको छ?’ भन्ने जिज्ञासाको जवाफ दिन गाम्जातोभलाई ग्लानि भएको थियो। किनकि उनको विशाल देश टुक्रेको थियो र विश्व नक्सामा सोभियत संघ अस्तित्वमा थिएन।
उनी आफ्नो सोभियत देशलाई असाध्य माया गर्थे। यो कविता त्यसको ज्वलन्त उदाहरण। हो, उनीहरूको पुस्ताका लागि, उनीहरूलाई सबैथोक दिने देश गुमाउनु एक ठुलो धक्का थियो। ७० वर्ष लगाएर निर्मित आस्थाको जग भत्किएको पीडाको गहिराइ बुझ्न लगभग असम्भव छ। उनको कविता पढेर ती निराशीहरू आँसुले दुःख धुन सक्छन् र सहअनुभूति गर्दै विश्रान्तिको अनुभव गर्छन्।
२००३ नोभेम्बर ३ मा रसुल जब धर्ती छोडेर गए, उनको देश फुटेको मात्र थियो तर मान्छेहरूको मन यतिबिघ्न टुटेको थिएन। त्यतिखेर उनी यहाँ छँदा लेखेका निम्न कविताका पंक्तिहरू बोकेर गएका थिए–
‘जब म अर्को लोकमा हुनेछु,
र म युद्धमा मारिएका भाइहरूलार्ई भेट्नेछु
अच्छा, देश कस्तो छ?
मातृभूमि कस्तो छ?
घर कस्तो छ?
पहिलो पटक, तिनीहरू मसँग सोध्नेछन्।
एउटा महान् युद्धको मैदानमा लडेकोजस्तै
कसरी भनूँ कि उनको देश अब रहेन?’
पक्कै पनि उनले ती कविताका हरफहरू परलोकमा सुनाए होलान्। तर उनीपछि अर्को लोक जानेले त्योभन्दा बढी ग्लानि भोग्नु परिरहेछ। यस मानेमा उनी बढी भाग्यमानी थिए। किनकि परलोकवासी ती सोभियत संसार निर्माताका वर्तमान दाजुभाइहरू अहिले तनबाट मात्र होइन, मनबाट छिन्नभिन्न छन् र एकअर्कालाई नष्ट गर्ने धन्दामा समेत छन्।
अनि त मिस्टिक माउन्टेन होटलको परिसरमा स्थापित त्यो सालिकअगाडि म पनि चिच्याएँ–
‘बैरीको पोल्टामा रमाउँदै
एकापसमा औंला ठड्याउँदै छन् भाइ भाइ
जसलाई कुनै बेला भन्थ्यौं तिमीहरू
‘हाम्रो मित्रता चन्द्रसूर्यको उचाइ’
२६ नोभेम्बर २०१८ मा समुद्र सतहबाट लगभग २००० मिटरको उचाइमा अवस्थित पर्यटकिय पहाड नगरकोटमा गाम्जातोभको अर्धकदको प्रतिमा पनि स्थापना गरियो। नगरकोटमा उनको प्रतिमा स्थापनाले गाम्जातोभ र नेपाल बीचको सम्बन्धलाई चिरस्मरणीय बनाउनेछ र यो उनको नेपालदेशप्रति प्रेमको कृतज्ञताको संकेत हो। उनी ककेशियन पर्वतमालाका प्रतिभावान छोरा थिए।
लाग्छ –पहाडहरू र विशेष गरी यो देशप्रतिको उनको प्रेमको सम्झनामा खडा यो सालिकबाट उनी डाडाकाडा हिमालहरू चियाउदै मुस्कुराइरहेछन्।
प्रत्येक वर्ष कविको जन्मदिनमा, उनको कामका प्रशंसकहरू त्यहाँ भेला हुन्छन् र कविताहरू पढ्छन्।
शताब्दीऔंदेखिको नेपाली भाषा, साहित्य र संस्कृति प्रसारको परम्परालाई अहिलेका रुसी लेखक–कविहरूले पनि निरन्तर राखेका छन्। यसमा तमारा पत्योम्किना, तत्याना च्छेग्लोभा र बोरिस भेर्सिनिन आदि अग्रस्थानमा छन्। तमाराले सन् २०२२ मा रुसी भाषामा नेपाल भाषा र नेपाली भाषाको प्रतिनिधि कवितासंग्रह ‘नेपालसँग परिचय’ प्रकाशित गरेकी छन्। यसमा २६ कविका ४४ कविता समावेश छन्। साथै उनले कृष्णप्रकाश श्रेष्ठसँगको सहकार्यमा चालिसभन्दा बढी नेपाली कविता रुसी पाठकमाझ पुर्याएकी छन्। हालसालै उनले लेखक रामविन्दु श्रेष्ठद्वारा लिखित नियात्रा संस्मरण ‘मेरा सोभियत सम्झनाहरू’को रुसी भाषामा भावानुवाद गरिन्। नेपालस्थित सम्बद्ध संस्थाबाट सहकार्यको परिस्थिति उत्पन्न भए उनी नेवारी साहित्यको विस्तृत संग्रह प्रकाशित गर्ने मनसुवामा छिन्।
त्यसैगरी अर्की कवयित्री तत्यानाले कवि विष्णुबहादुर सिंहको ‘कविताको रङ’, स्व. कृष्णप्रकाश श्रेष्ठप्रति समर्पित ‘नमस्ते नेपाल’ र ‘मार्गको निरन्तरता’ रुसी भाषामा लेखन तथा अनुवाद गरेकी छन्।
समकालीन योगदानको चर्चा गर्दा रुस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष बोरिस भेर्सिनिन बिर्सनै नमिल्ने नाम हो। उनले विगत दुई दशकदेखि रुस–नेपालको जनस्तरीय कुटनीतिक सम्बन्धको सञ्चार समन्वय गरिरहेका छन्।
नेपालको साहित्य, संस्कृति, इतिहास र बौद्धदर्शनबारे राम्रो जानकारी राख्ने बोरिसले मैत्री समाजको साठीऔं वार्षिकोत्सवका उपलक्ष्यमा ‘रुस–नेपाल मित्रताको परिक्रमा’ सङ्ग्रह सम्पादन गरे। यो रुस–नेपाल सम्बन्धको इतिहासको विश्वकोश बराबर छ। लुम्बिनीमा रुसी बौद्ध मन्दिर निर्माण अभियानले नेपाल–रुस सांस्कृतिक सम्बन्धको खोज, अनुसन्धानको शृङ्खलालाई अझ तीव्र पारेको छ।
विश्व भूराजनीतिमा जुनै हुरी चले पनि जनता–जनताबिच, कला, संस्कृति र साहित्यबिचको यो सदियौं परम्परा अक्षुण र निरन्तर रहनुपर्छ। कहिले भोल्गा भएर त कहिले गण्डकी भएर बहनुपर्छ। कञ्चन रारा र बैकाल ताल भएर सृष्टिको सौन्दर्यलाई सजाइरहनुपर्छ।
प्रकाशित: २१ भाद्र २०८२ १०:०८ शनिबार





