२४ आश्विन २०८२ शुक्रबार
image/svg+xml १२:१८ अपराह्न
कला/साहित्य

सम्झनाको किनारमा एक्ला माणिकरत्न

सङ्गीत

भारतको दार्जिलिङबाट अम्बर गुरुङ, कर्म योञ्जन, गोपाल योञ्जन, रनजित गजमेर वा उनका सहकर्मीहरू नेपाल आउनुअगि नेपाली सुगम सङ्गीतमा तीन नाम चम्किला तारा भइसकेका थिए– बच्चुकैलाश, प्रेमध्वज प्रधान अनि माणिकरत्न।

यी तीनैजनाका नामले नेपालका पहाड एवं तराईका भूभागदेखि भारतको सिक्किम, दार्जिलिङ, देहरादुन थर्काइसकेका थिए। त्यतिबेला देहरादुन पढ्ने नेपाली विद्यार्थीले प्रेमपूर्वक बच्चुकैलाशको ‘ऐट अन्फर्गेटेबल सङ्ग्स’ सुनिसकेका थिए–‘टाढाटाढा जानु छ साथी, कल्पनाको गगन मुस्कुराउने चन्द बनन...।’

बच्चुकैलाशसित वा त्यो इतिहाससित जोडिँदै प्रेमध्वज प्रधान र माणिकरत्नको सङ्गीतमा प्रेममाणिक युग सुरु भइसकेको थियो।

प्रेममाणिकको सङ्गीतमा प्रेमध्वज प्रधानको ‘घुम्तीमा नआऊ है’, ‘यो खोलाको सङ्लो पानी’ हिट भइसकेका थिए। धेरैलाई थाहा थियो, प्रेममाणिक दुई सङ्गीतकारको संयुक्त नाउँ हो, प्रेमध्वज र माणिकरत्न।

पछि दुवैले अलग अलग गीत पनि गाए, प्रेमध्वजले नातिकाजी, शिवशंकर, भैरवबहादुर थापाको संगीतमा गाए भने त्यही शृङ्खलामा माणिकरत्नले नातिकाजी, शिवशंकर, ज्ञानबहादुर अनि आफ्नै सङ्गीतमा गाए।

दुवै गायकको आफ्नै पहिचान थियो। दुवैले संयुक्त रूपमा सङ्गीत गरेको गीतमा पछि नवनीत गायक नारायणगोपाल आए। त्यसपछि त्रिकोण बन्यो। यो त्रिकोण लामो समय टिक्न सकेन, जब नारायणगोपाल दार्जिलिङ गएर फर्के। यसअगि नै माणिकरत्नलाई सिक्किमका राजाले युवराजको जन्मोत्सवमा गान्तोक बोलाएर सम्मान गरिसकेका थिए। माणिकरत्न भारतको दिल्लीबाट प्रकाशित हुने अल्मनाकमा छापिने पहिलो नेपाली गायक पनि भए।

दार्जिलिङका युवाले गितारमा उनको गीत गाउन थालिसकेका थिए। नेपालका प्रगतिशील गायन समूह राल्फामा उनको छाप अलि अलि परिसकेको थियो।  

‘यो खोलाको सङ्लो पानी खाइदिऊँ खाइदिऊँ लाग्छ

पल्लो घरको कान्छीसित मोहनी लाइदिऊँ लाइदिऊँ लाग्छ’

माणिकरत्नको यो गीत यति हिट भयो कि गोरखापत्रमा सम्पादकलाई चिठीमा तत्काल यो गीत ब्यान्ड गरियोस् भनेर माग गरियो। गीत केही समय बज्न पनि छोड्यो। माणिककै यो गीत दार्जिलिङबाट मुम्बई गएका एक वाद्यवादकको कृपाले बलिउडका सङ्गीतकार आरडी बर्मनले सुन्ने मौका पाए। माणिकलाई मुम्बई बोलाइयो, उनी जान मानेनन्। पछि उनको त्यही गीत आरडी बर्मनले देव आनन्दको ‘ईश्क ईश्क ईश्क’ नामक फिल्ममा त्यही नेपाली लयमा किशोरकुमारले गाए–

‘मुझको अगर इजाजत हो तो मैं ये गीत सुनाउँगा

महफिल में शामिल होकर आप का दिल बहलाउँगा’

गीत हिट भयो, एचएमभीको रेकर्डमा तहल्का मच्चियो तर माणिक यसप्रति अज्ञात। पछि उनलाई यो खबर उनकै फ्यानले पत्र लेखेर जानकारी दिएपछि उनी चकित भए।

आफ्ना काका सिद्धिरत्न स्थापितको प्रेरणाले गाउन सुरु गरेका माणिकका घनिष्ट मित्र थिए प्रेमध्वज प्रधान। प्रेमध्वज पनि गाउने, माणिकरत्न पनि गाउने। तर दुवैको गायकीमा फरक स्वाद थियो,गितारको प्रयोग। अनि माणिकको स्वरमा थियो पीडा, घनिष्ठ पीडा, जसलाई त्यतिबेलाका प्रायः युवाले आफ्नो स्वर बनाए। त्यसक्रममा पूर्वी नेपालका धरानका गायक दीप श्रेष्ठ माणिककै गीत ‘मेरो बिटुलो विश्वास तिमीलाई चोखो ठान्छ’ गाएर मञ्चमा आए र चर्चित भए।

माणिकरत्नका साथमा पङ्क्तिकार प्रकाश सायमी

दीप पुरापुर माणिकबाट प्रभावित थिए। त्यसपछि वीरगन्जका गायक प्रकाश श्रेष्ठ पनि त्यसरी नै माणिककै गीत गाएर मञ्चमा आए। यी दुवै अग्रज र अनुज माणिकबाट प्रभावित थिए। यसपछि अर्का गायक जुजुकाजी रञ्जित पनि माणिककै गीतबाट चमकमा आए।

माणिकरत्नलाई आफ्नो प्रभावशाली युग यसरी अगि बढेको थाहै थिएन। यसपछि काठमाडौंमा ‘रूपरेखा’ साहित्यिक पत्रिकाले ‘रूपरेखा सांगीतिक साँझ’ गर्दा माणिकरत्न आफ्ना साथी प्रेमध्वज प्रधानका साथ मञ्चमा देखा परे। यो कार्यक्रमपछि माणिकले गायनमा फर्केर हेर्नुपरेन। उनले तारादेवी, सुशीला कंसाकारसित गाएका युगल गीत त झन् चर्चाको शिखरमा पुगे।

त्यसमध्ये रत्नशमशेर थापाको शब्द, नातिकाजीको सङ्गीतमा ‘नआऊ जून कोठामा राति मसित लाडिन’ गाएपछि उनको र रत्न शमशेरको जोडी नै बन्यो। किरण खरेलको गीत ‘तिमीले चुमेका औंलाहरू तिमी नै लिएर जाऊ’, ‘मेरो बिटुलो विश्वास’ उनका अन्य लोकप्रिय गीत मध्ये विशेष थिए।

राजदरबारमा एउटा दुर्घटना घट्यो। रानी रत्नराज्यलक्ष्मी बन्दुकको सिकार भएर घाइते भएको समय तत्कालीन राजा महेन्द्रले लेखेको गीत ‘चर्चरी चिरिन्छ मुटु तिमीलाई दुख्दा’ गाउन उनलाई दरबार नै बोलाइयो। उनी गाउनका लागि सङ्गीतकार ज्ञानबहादुर श्रेष्ठका साथदरबार गए।

स्वास्थ्योपचारका क्रममा रहेकी रानीसमक्ष यो गीत गाएर सुनाउने क्रममा उनको स्वरबाट राजा निकै प्रभावित भए। गीत गाएर फर्कने क्रममा राजाले उनलाई सोधे– के चाहिन्छ ?  

माणिकको स्पष्ट जवाफ थियो– मलाई केही चाहिँदैन। मेरो आफ्नै प्लास्टिक चप्पलको उद्योग छ।

राजालाई यो कुरा भनेको समय उनले एउटा जागिर माग्न सकेको भए उनी सदैव सङ्गीतमै हुन्थे। उनको यो विचार पछि आयो।

राजासित केही नमागी फर्केका माणिकले आफ्नै पिताको व्यवसाय सम्हाल्दै अगि बढे तर गायनमा उनको यात्रा कायमै रह्यो। ईश्वरवल्लभ, किरण खरेल, रत्नशमशेर, राममान तृषित, उत्तमलाल श्रेष्ठ आदिका गीत उनले गाइरहे।

एकसमय उनले दार्जिलिङबाट भर्खरै नेपाल आएका सङ्गीतकार गोपाल योञ्जनको ‘लिई गला नदीको बालुवाको ओठ लिएर’ गाएर उनी रेडियो नेपालको गायन प्रतियोगितामा द्वितीय भए। प्रथम को भए त ? मेरो प्रश्नमा उनले जवाफ दिएका थिए– नारायणगोपाल।

‘अनि तपाईं त्यस्तो राम्रो गायक कसरी नारायणगोपाल प्रथम भएको त ?’ मैले ठट्टा गरेर सोध्दा उनले भने, ‘रेडियो नेपालले सायद बरौदा पढेर आएको भएर नारायणको इज्जत राखेको हो कि?’

उनी दिल खोलेर हाँसे। गतवर्षको उनको ८६ औं जन्मोत्सवका दिन उनीसित मैले यो कुरा गर्दा साथमा गायक शैलेश सिंह पनि थिए।

जन्मदिनबाहेक अरू दिन उनले हामीसित भेटघाट गर्दैनन्। मान्छेसित भेटघाट नगर्ने उनको यो इतिहास चालिससाल पुरानो कथा भइसक्यो। गायक दीप श्रेष्ठले निकै ‘सोर्सफोर्स’ लगाएर उनले माणिकरत्नलाई सानेपाको एकान्तवासमा भेटेका थिए। प्रकाश श्रेष्ठले पनि यसरी नै भेटेका थिए।

नारायणगोपाल 

अर्का गायक जुजुकाजी रञ्जितको उनीसित भेट्ने सपना बाँकी नै छ। गीतकार श्रीपुरुष ढकाललाई उनीसित भेट्ने अपार रहर थियो। मैले त्यसको रमाइलो संयोग मिलाएँ, सानेपाको एकान्तवासमा उनको पहिलो भेट भयो।

गीतकार ढकालले एकदुई भेटपछि उनलाई आग्रह गरे– दाइ, गायनमा नभए सङ्गीतमा फर्कनुप¥यो। अब समय भइसक्यो।

धेरैलाई थाहा छ, गायक माणिकरत्न र बच्चुकैलाशले गाउन छोडेको धेरै भइसक्यो तर माणिकरत्नले गाउन छाडेको अझै धेरै भयो।

उनले नेपालको पहिलो रङ्गीन चलचित्र ‘कुमारी’मा दुइटा गीत गाएपछि एककिसिमले गायनबाट सन्यास नै लिए। उनको सन्यासबारे कसैले केही भन्न सकेका छैनन्। कुमारी फिल्मका उनका दुवै गीत हिट भए– ‘मनमा माया तनमा माया तैपनि माया भन्न सकिनँ’ र ‘सुनौलो घामा झुल्केन रूपौला जून चम्केन’।

माणिकरत्नले किन गाउन छोडे ?

धेरैले यसको कारण नारायणगोपाल मान्छन्। तर नारायणगोपाल र उनको सम्बन्धमा तिक्तता ल्याउने तेस्रो पात्र को हो त ? उनले कहिल्यै यो भेद खोल्न चाहेनन्।

एकसमय उनको जागिर थियो राष्ट्रिय नाचघरमा। नारायणगोपाल बिहे गरेर दार्जिलिङ, पोखरा हुँदै काठमाडौं आए।

माणिकरत्न भन्छन्, ‘मैले नै जनार्दन समलाई सिफारिस गरेर नारायणगोपाललाई नाचघरमा तबलावादकका रूपमा जागिर लगाइदिएँ। ऊ पछि प्रमोसन भएर जिएमसम्म भयो। ऊ जिएम भएपछि हामी धेरैको जागिर गयो। यो दोष उसलाई जान्छ। तर थाहा छैन, यो मन्त्रालयको निर्णय हो कि ऊ षड्यन्त्रमा परेको हो ?’

माणिक यसबारे अझै अनभिज्ञ छन्। त्यसपछि उनी संगीत संसारबाट हराए। साथीभाइ भेट्न छोडे। गाउन त परै जाओस्, संगीत नै उनको अप्रिय चिज भयो। एउटा रोगले उनलाई सताउन थाल्यो। उनी उपचार गराउन भारतको बैंग्लोर गए। चिकित्सकले रोगै पत्ता लगाउन सकेनन्। फर्केर नेपाल आए। यसपछि उनी संगीतमा फर्कन सकेनन्।

काठमाडौंको प्युखामा रहेको आफ्नो मूल घर छाडेर उनी पत्नी ज्ञानीदेवी, छोरा सुशीलसहित सपरिवार सानेपा सरे।

सानेपामा एक दशकभन्दा बढी बसेपछि उनी पूर्वी ललितपुरको ढोलाहिटीस्थित मित्रनगर सरे। उनी कहाँ छन् ? कस्ता छन् ? प्रायःलाई थाहै हुँदैन। मानसम्मान पनि उनले २०५६ सालपछि मात्र लिन थाले, जब उनको पहिलो अल्बम ‘यो खोलाको सङ्लो पानी’ रिलिज भयो। यो अल्बम ‘आरबिए फिल्म्स’ले बजारमा ल्याए पनि यसको एक पैसा उनले पाएका छैनन्। यसका निर्माता रुद्र गुरुङसित उनको भेट नै हुँदैन।

अल्बम निक्लेर पनि उनी त्यति उत्साहित भएनन्।त्यो अल्बमको सुरुको उद्घोषण र पहिलोपटक विमोचन कार्यक्रम आयोजन गर्ने श्रेय पंक्तिकारलाई मिल्यो। यसपछिको मेरो घनिष्ठता कायमै छ।

मानिसहरू भन्छन्– माणिकरत्नको स्वरमा जादु छ। तर मलाई लाग्छ, उनको स्वर जादुजस्तो हराउने चिज होइन। उनले गाएका एकेक गीत श्रोताको हृदयमा अमिट छाप बनेर बसेका छन्। उनको एउटा गीत नारायणगोपाल खुब गाउँथे, विशेषतः कार्यक्रम गरेर पारिश्रमिक नपाएपछि। त्यो गीतको शब्द यस्तो छ– ‘मसँग कुन जनमको बदला तिमी लिँदै छौ हँ ?’

यो र यस्ता गीतका असङ्ख्य कथा उनको जीवनमा घटेका छन्। उनका केही चर्चित गीत– ‘मेरो बिटुलो विश्वास’,‘तिमीलाई चोखै ठान्छ’, ‘खोलानालासँग सोधीसोधी, गाउँ तिम्रो खोजी खोजी आएको छु’, ‘उपमा के दिऊँ म तिमीलाई’, ‘किन यसरी टोलाएको के भयो हजुरलाई’, ‘म पनि त मानिसै हुँ, छातिभित्र मुटु पोल्छ’, ‘यो कस्तो रात दियो बाल्दा मुटु बल्छ’। यी सबै गीतमार्फत बनेको उनको सङ्गीतयात्रामा प्रेमध्वज प्रधान, सुशीला कंसाकार, कन्हैया कुमारले गाएका गीतको अलग्गै इतिहास छ। तर उनीसित जोडिएको अपार इतिहास आज मेटिँदै गएको छ। उनीसित सहकार्य गर्ने प्रेमध्वज प्रधान, नारायणगोपाल, तारादेवी, नातिकाजी, शिवशंकर, इन्द्रनारायण मानन्धर सबै पालैपालो गइसके तर उनी हाशिये (उज्यालो नपरेको किनार) मा बसेर इतिहास बनिरहेका छन्।

युवापुस्ताका कैयन् कलाकारलाई लाग्दो हो– उनी छन् कि छैनन् ? उनीसित सँगै काम गरेका नीर शाह, हरिवंश आचार्य, सुशीला रायमाझीलाई उनी कहिलेकाहीं सम्झिन्छन्।

परिवारमा पनि उनी कमैसित भेट्छन्। छोराछोरी, बुहारीसित पनि उनको विरलै भेट हुन्छ। उनी स्वास्थ्यका कारण कोठामा एक्लै बसिरहन मन पराउँछन्। यो एक्लोपन नै उनको साथी भएको छ। गायक माणिकरत्न भनेर कसैले सम्बोधन गर्दा उनी मुुसुक्क हाँस्छन्। उनी मुसुक्क हाँसेको देख्न उनकै जन्मदिन पर्खनुपर्छ।

यसपालि गथेमङ्गलको पूर्वसन्ध्यामा उनले भिक्षु लगाएर महापरित्राण गरेर आफ्नो जन्मदिन मनाए। मैले उनले नै गाएको एउटा गीत सम्झेँ–

नयाँ वर्षको उपलक्ष्यमा तिमीलाई मेरो शुभकामना

मेरो उषाको लाली तिमीलाई

२०१५ सालदेखि निरन्तर गाएर २०३५ सालपछि विश्राम लिएका माणिकरत्नको त्यसपछि नारायणगोपालसँग कुनै भेटघाट र बोलचाल भएन। तर उनी समग्र नेपाली गायकमा नारायणगोपाल जति राम्रो गायक कोही छैनन् भन्छन्।

सङ्गीतकारका रूपमा पनि उनी नारायणगोपाललाई उच्चकोटिको मान्छन्। नारायणगोपालको सङ्गीतमा ‘ए कान्छा ! ठट्टैमा यो वैंश जान लाग्यो’ आफूलाई मन पर्ने एक नम्बरको गीत मान्छन्। ‘नारायणगोपालसँग जोडिएका कुनै पनि सम्झना आफ्नो मनमस्तिष्कबाट मेट्न सकेको छैन,’ उनी बारम्बार भन्छन्, ‘नारायणगोपालजस्तो अर्को गायक नेपालमा जन्मिन सकेन।’ 

प्रकाशित: १७ श्रावण २०८२ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App