४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

अपडेट: इलामको बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ३९ पुग्यो, २६ घाइते, १०८ घरमा पूर्ण क्षति

लगातारको वर्षासँगैको बाढी पहिरोले इलाममा मात्र ३९ जनाले ज्यान गुमाएका छन् ।  

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार १० पालिका रहेको इलाममा चुलाचुली गाउँपालिका र रोङ गाउँपालिकाबाहेकका सबै पालिकामा क्षति भएको छ ।  

प्रमुख जिल्ला अधिकारी नेपालले एक सूचनामार्फत क्षतिको विवरण सार्वजनिक गरेकी हुन् । यो घटनामा ३९ जनाको ज्यान गएको छ भने पहिरोमा परेर एक जना बेपत्ता छन् । त्यस्तै २६ जना घाइते भएका छन् ।  

१०८ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार क्षति भएको तथ्यांकमा रहेका १०८ घर मृतकका घर र पूर्ण क्षति भइ हाल आफन्त, छिमेकी र सामुदायिक भवनमा रहेका परिवार सदस्यको मात्र समावेश छ ।

बाढीपहिरोमा परेर सबैभन्दा धेरै देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकामा ८/८ जनाले ज्यान गुमाएका छन् । इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ७/७ जनाको ज्यान गएको छ भने सूर्योदय नगरपालिकामा पाँच जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।  

माङसेबुङ गाउँपालिकामा तीन जनाको ज्यान गएको छ भने पाँच जना घाइते छन् । फाकफोकथुम गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।  

इलाम नगरपालिकामा १० जना घाइते छन् । एक जना अझै बेपत्ता छन् ।  

यो प्रारम्भिक क्षतिको विवरण रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय इलामले क्षतिको स्थलगत मुचुल्का हुन बाँकी रहेको जनाएको छ ।  

स्थानीय पालिका र श्रमदान गरी बाटो बनाइँदै

May be an image of 12 people
सन्दकपुर गाउँपालिका- ३ र ५ जोड्ने सडक मर्मतमा जुटेका स्थानीय

यतिबेला इलाम सडक सञ्जालको सम्पर्कबाट टुटेको छ । मेची राजमार्ग पूर्ण अवरुद्ध छ । अहिले झापाबाट इलाम जाने सवारी साधन राजदुवाली नजिकै माइखोलामा पुग्ने गरेका छन् भने त्यहाँबाट पैदल हिँडेर खोला पार गरी इलाम जान सक्ने गरी बाटोको ट्याक खोलिएको छ ।  

सडक भत्किएका ठाउँमा स्थानीय पालिकाको समन्वय र सहयोगमा स्काभेटरको प्रयोगसहित श्रमदान गरी बाटोको निर्माणकार्य जारी छ ।  

पानी नआएको खण्डमा अब दुई दिनमा सडक सुचारु गर्न सकिने जिल्ला समन्वय समिति इलामका अध्यक्ष गणेश बरालले जानकारी दिए ।  

धेरै गाउँ बिजुलीविहीन हुँदा सञ्चार सम्पर्क टुटेको छ । स्थानीय र विद्युत प्राधिकरणका कर्मचारी ढलेका पोल उठाउन खटिएका छन् । सबै अवस्था अनुकुल भए दुई तीन दिनमा बिजुलीको व्यवस्थापन गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित: २३ आश्विन २०८२ १५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App