coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

मनै मनमा माया तीनपाते भैदियो...

देखेर तिमीलाई, हेरेर तिमीलाई

भेटेर तिमीलाई, सम्झेर तिमीलाई

मनै मनमा माया तीनपाते भैदियो

यति बेला यो गती युट्युव, टिकटक मात्र होइन मानिसका ओठमा पनि झुण्डिइरहेको छ। कोरोना महामारीका कारण यतिबेला कसैको मनमा शान्ति र खुसी छैन। मानिसहरु निस्फिक्री घुम्न नभनौ आफ्नै टोलमा हिड्न पनि सजगता अपनाउँदैछन्। समयले त्रास, आतंक र पीडा एकैसाथ थपिदिएको छ। आकासमा चराहरुमात्र स्वतन्त्र जस्ता लाग्छन्, घरको आँगनमा बसेर चराहरुको बेग नियाल्नु र स्वैर कल्पनामा रमाउनु नियति बनेको छ।  

यस्तै उकुसमुकुबीच नवीन चौहानको निर्देशन, हर्क साउदको रचना, सुजन चापागाई र विद्या तिवारीको स्वरमा आएको देखेर तिमीलाई, हेरेर तिमीलाई…’ म्युजिकल फिल्मले धेरैको मन छोएको छ। मानिसका पुराना कथाहरु सम्झाएको छ।    

‘तीनपाते’ नाम दिइएको म्युजिकल फिल्मले एकैछिन भए पनि मानिसलाई कोरोना कहर बिर्सिएर आनन्द लिन सहयोग पुर्याइरहेको छ भन्दा प्रसंशा मात्रै हुँदैन। युट्यूब दिनदिनै बढिरहेको ‘भ्युज’ र टिकटकमा आइरहेका भिडियोले यसै भनिरहेको छ।  

नागरिकन्युजको कार्यलय कमलादीमा गफिँदै गर्दा भाइब्रेसनमा राखिएको नवीनको मोबाइलले बेला–बेला उज्यालो फालिरेको थियो। उनी कहिले उठाउँथे, कहिले एकछेउमा थिच्थे र इग्नोर गर्थे।

ती फोन तथा मेसेज ‘तीनपाते’ कै विषयमा आइरहेका थिए।विदेशमा बसेका युवाले ‘मेरो कथा भन्नुभयो, मैले बिर्सेको माटो र भोगेको परिवेश देखाइदिनुभयो।’ यी र यस्ता प्रतिक्रया आउँदा नवीनको मन खुसीले फुरुङ्ग हुन्छ, आफूले गरेको मिहिनेत सफल भएकामा।  

हुन पनि हो संसारले नसोचेको भाइरस आयो। जसले परिवारदेखि टाढा विदेशमा बसेकालाई अझ पीडामा पारेको छ। यस्तो बेला उनले बनाएको ‘तीनपाते’ भिडियोले  धेरैको चित्त बुझाउने माध्यम बनिरहेको छ। अर्थात मनै मनमा माया तीनपाते बनाइदिएको छ।  

मानिसहरु निस्फिक्री घुम्न नभनौ आफ्नै टोलमा हिड्न पनि सजगता अपनाउँदैछन्। समयले त्रास, आतंक र पीडा एकैसाथ थपिदिएको छ। आकासमा चराहरुमात्र स्वतन्त्र जस्ता लाग्छन्, घरको आँगनमा बसेर चराहरुको बेग नियाल्नु र स्वैर कल्पनामा रमाउनु नियति बनेको छ।  

०००  

नवीन १२ कक्षामा पुग्दा बल्ल उनका बुबा विदेशबाट नेपाल फर्किएका थिए। अर्थात् सानो छँदा बुबासँग बस्नु नपाउँदाको पीडा उनलाई राम्रोसँग थाहा छ। आफ्नो विगतका पाना पल्टाउँदै गर्दा  उनी बेला–बेला ‘नोस्टाल्जिक’ हुन्छन्।

‘तीनपाते’मा प्रस्तुत प्रसंगबारे उनी भन्छन्, ‘आफैंले भोगेको कथा भनेको हुँ। त्यसमा कुनै वनाबटी कुरा छैन। आफैले भागेको र देखेको परिवेश देख्नु हुन्छ। त्यो परिवेशलाई तपाईले पनि कतै न कतै भोग्नु भएको छ, देख्नु भएको छ।’

‘तीनपाते’ मा छुर्पी व्यवसायीको कथा छ।त्यसैमा आफ्नो भविष्य बनाउन खोजिरहेको युवाको संघर्ष छ। उनी उदाहरण दिँदै भन्छन्, ‘बुबाले ठेकीमा मही पारे भने हामीले पनि ठेकीमै पार्नु पर्दैन, त्यसलाई आधुनिकीकरण कसरी गर्ने ? कसरी स्वदेशमै स्वरोजगार हुन सकिन्छ भन्ने कुरालाई भिडियोमा प्रस्ट पारिएको हो।’  

पूर्वेली समाजको परम्परा, संस्कृति समेटिएको म्युजिक भिडयो सबैको मिहिनेतले राम्रो बनेको उनी सुनाउँछन्।पछिल्लो समय नेपालमा पराम्परागत पेश लोप हुँदै छ। यति मात्रै नभएर कृषिमा युवा आकर्षण घट्दो छ।  

‘पुस्तान्तरण ठूलो ग्याप हुँदैछ। हामी जस्ता पढेलेखेका युवाहरु विदेश जाने सोच बनाउँछौं। नेपालमा सम्भावना देख्दैनौं’, नविन भन्छन् ‘समयसापेक्षा बाबु–बाजेले गरेको पेशलाई अधुनिकीकरण गरेर स्वोरोजगार बन्नु पर्छ भन्ने सन्देश दिएको हो।’  

‘तीनपाते’को कथा बनाउन पूरापूर उनलाई एक वर्ष लाग्यो।उनले भिडियो ‘कन्सेप्ट’ सुनाएपछि मात्रै हर्क साउदलले शब्द लेखेका हुन्।  

विपनीमा तिमीलाई सपनीमा तिमीलाई

दिनै रात तिमीलाई सम्झेर तिमीलाई

मेरो रसरंग सबै तिमीतिरै गइदियो

१० मिनेट ११ सेकेण्डको म्युजिकल फिल्म ‘तीनपाते’ धेरैको मन बस्न सफल भएको छ। गीतको शब्द, आवाज, संगीत र भिडियो मेकिङको तारताम्य मिलेर नै अधिकाशं दर्शक स्रोताको मन पराएको नवीनको बुझाई छ।  

नीवन उद्यमी पनि हुन्।यसैकारण भिडियोमा पनि उद्यमशीलता समेट्न उनी सिपालु छन्।

यतिबेला नवीनको चर्चा चुलिदै छ। त्यही चर्चाले उनलाई नयाँ परिचयसमेत दिलाएको छ– म्युजिक भिडियोमा कथा भन्ने निर्देशक।हुन पनि नवीनले भिडियो कथा भन्दा मौलिकताको खोजी गर्छन्। उनले भिडियोलाई सुत्रबद्ध प्रस्तुत गर्छन्।  

‘तीनपाते’– नवीनको चौथो गीत हो।उनका यसअघिका ‘के माया लाग्छ र’, ‘लुकीछिपी’ र ‘बटौली’ गीतले पनि अझैं चर्चा पाइरहेको छ।  

नवीनको कलाकारिता यात्रा  

उनको जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकामा सडक पुगेको थिएन, बिजुली थिएन। घरमा टेलिभिजन थिएन।सिनेमा हेर्न पाइँदैनथ्यो।कहिलेकाहीं हाटबजार तथा आफन्तको घरमा जाँदा टिभीको अनुहारसम्म देख्न पाइन्थ्यो।

कहिलेकाहीं रेडियोमा नाटक आउँथ्यो।त्यसमा भनिने ‘डाइलग’ उनी ध्यान दिएर सुन्थे।त्यसैका आधारमा स्कुलमा हुने कार्यक्रममा उनी आफ्नो प्रस्तुति दिन्थे।त्यसबेला उनका लागि मनोरञ्जनको माध्यम नाटक मात्रै थियो।

एसएलसीपछि उच्च शिक्षाका लागि जब उनी इलाम झरे, तबदेखि मात्र उनले मन लागेका फिल्म हेर्न पाए।

‘गाउँमा कहिलेकाहीं नेपाली फिल्म मात्रै हेर्न पाइन्थ्यो।इलाम आएपछि भने हिन्दी पनि हेर्न पाइयो,’ उनी सम्झिन्छन्, ‘टिभी हेर्ने अवसर मिल्यो।त्यहाँ पनि साथीहरूसँग मिलेर नाटकहरू गरिन्थ्यो।२ वर्षसम्म विभिन्न संघ/सस्थासँग आबद्ध भएर नाटक गरें।’  

स्नातक पढ्न उनी काठमाडौं आए।पहिलो प्राथमिकता पढाइलाई, बचेको समयमा मात्र अभिनय गर्छु भन्ने उनको सोच थियो।तर काठमाडौं उनले सोचेजस्तो रहेनछ।नाटकका लागि धैरै ठाउँ भौतारिनुपर्यो, मेसो पाएनन्।अन्ततः पढाइमा मात्र सीमित हुन पुगे।अभिनयमा ‘ब्रेक’ लाग्यो।

तीनवर्षे पढाइ सकिन लागेको थियो।गाउँमा साथीहरूले नवीनले कलाकारितामा निकै प्रगति गर्यो होला भन्ने सोचेका थिए।तर यहाँ आफ्नो स्थिति अर्कै थियो।

साथीहरूले ‘कचहरी’ नाटकबारे जानकारी गराएपछि उनी त्यसमा जोडिए र बिस्तारै थिएटररमा उनको झुकाव बढ्दै गयो।

मण्डला थिएटरमा ‘चरनदास चोर’ नाटक प्रदर्शन भइरहेको थियो।संयोगले नवीनले हेर्ने मौका पाए। जुन उनले स्टेजमा हेरेको पहिलो नाटक थियो।त्यस्तो जीवन्त अभिनय उनले कहिले देखेका थिएनन्।

उनी भन्छन्‘ त्यही बेला ‘लुट’ फिल्म पनि आएको थियो।त्यो बेला नाटक र फिल्मका समीक्षा र अन्तर्वार्ता छपिन्थे।म ती पढ्थें।  

अध्ययनसँगै उनले थिएटरतिरको सम्बन्ध बढाउँदै लगे।साथीभाइसँग भेटघाट गर्ने।नाटकका विषयमा कुराकानी गर्ने।उनमा फेरि नाटकप्रति आकर्षण बढ्दै गयो।

उनले अहिलेसम्म नाटक अभिनयको औपचारिक कक्षा लिएका छैनन्।तर २–४ वटा नाटकमा अभिनय गरेका छन्।उनी स्टेजमा देखिनुभन्दा पछाडि बसेर गर्ने काममा बढी खटिन्थे ।

भूकम्पले भत्किएको सपना  

नाटकमा राम्रै हुँदै थियो।भेटघाट बाक्लिँदै थियो।नाटकमा काम गरेर अभिनयको भोक मेटाउँदै थिए।तर समय सधैं एकनास कहाँ हुन्थ्यो र ! २०७२ सालमा भूकम्प आयो।त्यसपछि सबै क्षेत्रमा ठूलो प्रभाव पर्यो।कला क्षेत्र पनि अछुतो रहने कुरै भएन।

थिएटरको सपना भताभुंग भयो।सबै कुरा शून्य भयो।यसबीच विदेश जाने सपना पनि बुने।सँगैका साथी अमेरिका, अस्टट्रेलिया पुगेर धन कमाइसकेका थिए।नवीन झन् घरको एक्लो छोरो।सबै जिम्मेवारी उनैको काँधमा। जीवनलाई लयमा ल्याउन निकै सकस पर्यो।

भूकम्पले थिएटरको सपना गुम्यो।थालेको सानोतिनो व्यवसाय पनि चौपट भयो।तै पनि उनले अठोट गरे– फेरि व्यापार नै गर्छु।

यसै क्रममा संयोगले एकजनाले छुर्पीको निकै माग भइरहेको सुनाए। आफ्नै गृहजिल्ला पाँचथरमा छुर्पी उत्पादन हुने हुनाले उनलाई यसबारे धेरै कुरा थाहा थियो।साथीभाई मिलेर छुर्पी व्यवासाय सुरु गर्ने निधो गरे। त्यसपछि उलने छुर्पी उद्योग स्थापना गरे र छुर्पी  विदेश निर्यात गर्न थाले।नभन्दै उद्योगबाट राम्रै आम्दानी हुन थाल्यो।

योसँगै उनलाई सामान्य जीवनयापनका लागि कुनै समस्या भएन।त्यसपछि उनलाई फेरि छुटेको कलाकारिता यात्राको याद आयो।पाँच वर्ष भइसकेको थियो, कलातारिकताबाट टाढा भएको।अब उनलाई फेरि कलाकारितामै फर्किने विचार आयो।

००००

अंकितबाबु अधिकारीसँग मिलेर ‘आर्टमान्डु’ कम्पनी स्थापना गरे, छोटो फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री बनाउने लक्ष्य राखेर।नवीनलाई भिडियो ‘मेकिङ’ ज्ञान थिएन। एक त उनको विधा पनि होइन।  

अंकितले ‘सम्झानालाई’ भन्ने गीत लेखे।गीतको म्युजिक भिडियो बनाउनु पर्ने भयो। तर गीतको भिडियो निर्देशक खोजीमै ८ महिना बित्यो।त्यसपछि अंकितले नवीनलाई नै निर्देशन गर्न आग्रह गरे।

‘त्यसभन्दा अघि छोटो फिल्म निर्देशन गरेको थिएँ।तर सफल भएको थिएन।भिडियो मेकिङमा फेल भइसकेको थिएँ,’ उनी भन्छन्, ‘एउटा थिममा सुटिङ हुन्थ्यो।तर सम्पादन गर्दा अर्कै हुन्थ्यो।हार खाइसकेको थिएँ।’  

तर निर्देशक कोही नभेटिएपछि आफैंले गर्नु पर्ने बाध्यता भयो।

धेरैजसो गीतमा केटीको पछि केटा लाग्छ र अन्त्यमा केटीलाई अर्कैले लान्छ।तर उनले आफ्नै हिसाबले कथा बनाए।नभन्दै भिडियो सम्पादन सोचेभन्दा राम्रो भयो।गीत बजारमा आयो।चर्चा राम्रो पायो।त्यो गीत नै उनका लागि भिडियो मेकिङको युनिर्भसिटी भइदियो।

असफल गीतले अवार्ड दिलायो  

गणेश सेन्चुरीले ‘लुकीछिपी माया’ बोलको गीत लेखेका रहेछन्। कथा सुनाएपछि गीत मन पर्यो। बिनापैसा गर्न उनी तयार भए।  

गीतलाई कथाको ढाँचामा ढाले।सुटिङ भयो।तर सोचेजस्तो राम्रो भएन।

‘प्रोजेक्टै हाप्नुपर्ने स्थितिमा पुगेको थिएँ, निकै तनाव भयो,’ उनी सुनाउँछन्, ‘त्यसैलाई जोडेर कथा नभन्नुको विकल्प थिएन। तर जब गीत बाहिर आयो, तब नसोचेको प्रशंसा पायो।त्यसपछि भने ढुक्कको सास फेरें ।’  

जुन भिडियाले ‘उत्कृष्ट म्युजिक भिडियो निर्देशन र म्युजिक भिडियो अफ द इयर’ को अवार्ड नै दिलायो।

‘जुन कुरा भएन भन्ने लागिरहेको थियो, त्यसैले अवार्ड दिलयो।त्यसपपछि भने राम्रै गर्न सक्ने रहेछु भन्ने लाग्यो र आँट आयो,’ उनले भने।

गीतकार हर्क साउदसँग उनको पुरानै चिनजान थियो।हर्कले नयाँ गीत गर्न आग्रह गरे।तर उनी आफैं सिक्दै थिए।काम गर्न डर लाग्थ्यो।

कुरा काट्न सकेनन्। गीतको कथलाई भिडियोमा ढाले।‘बटौली’ गीतमा विपिन कार्कीलाई अभिनय गराए।गीतले सोचे भन्दा राम्रो प्रतिक्रिया पायो। त्यस गीतमा ‘टिपिकल’ गाउँले परिवेश देखाइएको छ।अहिले लाखौं दर्शकले मन पराइसकेका छन्।गीत सफल भयो।

नविनले एकपछि भिडियोमा तरिफ पाए। ‘तीनपाते’ सम्म आइपुग्दा उनी नेपाली म्युजिक भिडियोमा मौलिकता भित्र्याउने सर्वप्रिय निर्देशक बने।  

उनको अनुभवमा ‘भिडियो ‘मेकिङ’

नवीनको बुझाइमा भिडियो भनेको हेरेर मान्छेलाई बुझाइने ‘दृश्य विधा’ हो।जुन एउटा सिनेमै हो।जहाँ सिनेमा जस्तै कथा भन्न सक्नुपर्छ।

कुनै पार्कमा नृत्य गरेर ‘ट्रेन्डिङ’ मा आयो भन्दै खुसी हुने परिपाटी छ।

नवीन भन्छन्, ‘हामीसँग क्यामेरासँगै दायित्व पनि छ।क्यामेरा सामान मात्रै होइन।मासमा जाने माध्यम पनि हो।त्यसैले त्यसमा सिर्जनशीलता पनि देखाउन सक्नुपर्छ।’  

नेपाली म्युजिक भिडियो होस् वा सिनेमा।धेरैजसोमा ‘ग्ल्यामर’ प्रस्तुत गरिन्छ।पश्चिमा संस्कृति घुसाइन्छ।तर नेपालीले भोगेको कथालाई बेवास्ता गरिन्छ।

नेपाली सिनेमा क्षेत्रको स्वभाव निकै बहकाउमा लाग्ने देखिन्छ।‘लुट’ चल्यो।त्यही शैली पछ्याउने सिनेमा बग्रेल्ती बन्छन्।कमेडी सिनेमा चल्यो, सबै त्यस्तै बनाउन थाल्छन्।म्युजिक भिडियोमा पनि यस्तै प्रवृत्ति छ।ग्ल्यामर अनि भद्दा सिन देखाउँछन्।अनि भड्खालोमा जाकिन्छन्।

नवीन आफूलाई सर्वश्रेष्ठ गरेको ठान्दैनन्। आफूले देखेको भोगेको कथालाई भिडियोमार्फत देखाउन खोजेको बताउँछन् उनी।  

नविन भन्छन्– ‘तपाईले आफ्नो परिवारको सदस्यलाई जति माया गर्नु हुन्छ।त्यस्तै ‘तीनपाते’ पनि आफ्नो परिवारको सदस्य नै हो। अरुको अनुकरण भन्दा आफ्नो माटोको कथा देखिन्छ। आफ्नोपनलाई  भन्ने छ है भन्ने सानो उदाहरण पनि हो।’  

 

 

प्रकाशित: ९ भाद्र २०७७ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App