कालीगण्डकी र म्याग्दी खोलाको तीरमा उत्तर र पश्चिम फैलिएको छ म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार। आध्यात्मिक नगरी बेनीमा क्षेत्री, मगर, पुन, छन्त्याल, नेवार, बाहुन, बिक, थकाली लगायत जातजातिको सुवास मग्मगाउँछ। उनीहरूका आ–आफ्नैं संस्कृति छन्। बेनीको नेवार समुदायमा प्रचलित एउटा मौलिक संस्कृति हो–नागानगिनी नाच।
वर्षका दुई दिन जनैपूर्णिमा र गाईजात्रामा नागानगिनी नाच देखाइन्छ। विशेषतः पितृको सम्झना र सम्मानस्वरुप बाजाको धुनसँगै नाचगान गरिन्छ। सापारु अर्थात गाइजात्रा निकालिने घरबाट जनैपूर्णिमाका दिन लक्ष्मीनारायण मन्दिरसम्म नाचगान टोली पुग्छ। अनि गाईजात्राका दिन मन्दिरबाट घरघरमा पु-याइन्छ।
बेनीको नेवार समुदायमा प्रचलित एउटा मौलिक संस्कृति हो–नागानगिनी नाच। वर्षका दुई दिन जनैपूर्णिमा र गाईजात्रामा नागानगिनी नाच देखाइन्छ। विशेषतः पितृको सम्झना र सम्मानस्वरूप बाजाको धुनसँगै नाचगान गरिन्छ।
यसको संयोजन नेपाल भाषा मंकाः खलले गर्छ। चार बाद्यबादकले मृदुङ्गा, झ्याली, मुजुरा र हार्मोनियम बजाउँछन्। नागा र नगिनीको भेषमा दुईजना पुरुष नाच्छन्। संगीतका बेग्लाबेग्लै ४ वटा तालमा नाचिन्छ।
बाद्यबादक र दर्शकहरू बाजाको तालमा ‘राजमति कुमती’ गीत गाउँछन्। यसमा बाद्यबादक ४ जना, नाच्नेहरू दुई जना हुन्छन् भने बाँकी दर्शक। केही दिन अघि पनि नागानगिनी नाचमा सहभागी भएका कलाकार राजेन्द्रकुमार श्रेष्ठ भन्छन्, ‘बेनीमा बाहेक अन्यत्र हामीले नागानगिनी नाच देखेका छैनौं।’
उनी नागाको भूमिकामा नाच्छन्, नगिनीको रुपमा चाहिँ विनोदकुमार श्रेष्ठ नाच्छन्। संस्कृति नहराओस् भनेर उनीहरूले नयाँ पुस्ताका एक जोडी रुविन श्रेष्ठ र जेनिश श्रेष्ठलाई पनि तयार पारिसके।
बेनीमा नागा नाचका लागि भैरबबहादुर श्रेष्ठ कहलिएका थिए। असी वर्षको उमेरमा उनी वितेपछि प्रमोद श्रेष्ठले केही वर्ष उनको बिँडो थामे। त्यसपछि राजेन्द्रले यसलाई निरन्तरता दिँदैछन्। त्यस्तै नगिनीको भेषमा विगतमा खगेन्द्र श्रेष्ठ नाच्थे। स्वास्थ्यका कारण उनले नाच्न छाडेपछि विनोद अघि बढे। कहिलेकाहिँ हिक्मत श्रेष्ठ र विश्वास श्रेष्ठले पनि नागानगिनीको रुपमा नाच्दै आएका छन्।
यस नाचलाई दर्शकले हँस्यौलीका रुपमा लिन्छन्। ‘वर्षमा दुई दिनभर नाच्दा राम्रो कसरत हुन्छ’, बेनी नगरपालिका–७ का वडाध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘पितृको सम्मानका लागि योगदान गर्दा मनमा आनन्द छाउँछ।’
त्यसो त राजेन्द्रका बुबा मुखिया गणेशलाल श्रेष्ठ पनि शिकारी नाचका गुरु थिए। अचेल शिकारी नाच लोप भैसकेको छ।
मकाः खलको तीन पटक नेतृत्व सम्हालिसकेका राजेन्द्र नेवार कला, संस्कृति र सभ्यताको संरक्षणमा क्रियाशील छन्। बैंशालु उमेरका दश वर्ष कोरिया र जापानमा विताएका उनले बाँकी जीवन बेनीमै विताउने अठोट गरेका छन्। उनी रोपाइँ नाचका पनि प्रमुख कलाकार। त्यसमा मुखियाको भूमिका निवार्ह गर्छन्। ठट्टैठट्टा गरेर हँसाउँछन्। घन्टाकर्ण चर्तुदशीदेखि सुरु गरेर तीजमा बर्खे नाच पुरा गरिन्छ।
बेनी बजारका नेवारमा सांस्कृतिक जागरण भित्रिएको छ। बर्खेनाच, हनुमान नाच, लाखे नाच सिक्ने, नेपाल भाषा सिक्ने र विभिन्न किसिमका परम्परागत नेवारी बाजा सिक्ने उत्साह थपिँदै गएको छ।
‘नाचगान सिकेका युवा अध्ययन र कमाई गर्न विदेश पुग्छन्’ सांस्कृतिक अगुवा राजेन्द्रले दुखेसो पोखे, ‘उनीहरू बाहिरिएपछि सांस्कृतिक कर्ममा असर पुगिहाल्छ।’
प्रकाशित: २५ श्रावण २०७७ ०९:३८ आइतबार