१० माघ २०७७ शनिबार
कला

सपना

कथा

‘हुर्किसकेकी छोरीलाई किन घरमा राख्ने हो र ? दुनियाँको अगाडि कुरा काट्ने बाटो,’ बा कराउँदै थिए। म आमाको काखमा घोप्टिएर रुँदै थिएँ।  

‘के गर्छेस् बा, छोरीको कर्मै यस्तो,’ मेरी आमा मलाई सान्त्वना दिँदै थिइन्।  

‘बालाई सम्झाऊ न आमा, मलाई पढ्न मन छ, म केही गर्छु,’ रुँदै गर्दा मेरो आवाज भासिएको थियो। ‘तँ जाबी आइमाईले के गर्छिस्, तात्तो न छारो कुरा नगर्, यति पढिस् पुग्यो अब ?’ बा बम्किए।  

आमा मेरो टाउको मुसार्दै रुँदै थिइन्। ‘होस् न त बालखा छ, आगुम् गर्दिउँला न,’ मसिनो स्वरमा आमाले यति भन्न के भ्याएकीथिन्, बाले आमालाई झम्टौँलाझैँ गरे, ‘तँ जाँठी बर्ता बोल्छेस् ? तैँले नै हो यसलाई उचालेको, थुतुनोमा मुतेर जान्छे, अनि खालिस् यत्रो भाग।’

कक्षा ८ मा प्रथम भएकी थिएँ। १५ वर्षकी म, नौ कक्षाको त्रैमासिक परीक्षाको तयारी गर्दै थिएँ, तर तयारी पूरा गर्न पाइनँ। बालाई परीक्षा दिनेबित्तिकै बिहे गर्छु भनेर हारगुहार गर्दा पनि मेरो केही सीप चलेन।

गाउँभरि हल्लाखल्ला भयो, ‘बेस्सरी जग्गा–जमिन भको केटो हो, दुई भाइ र एक दिदी, दिदीको ब्या गरिवरी आफ्ना घर गरेर खाइछ। घरको जेठो छोरो हो केटो। त्यस्ता घराँ परे, घिउ खाएर दूधले चुठ्छे जेठा, तेरी छोरीले,’ ठूली फुपूले बासँग कुरा गरेको सुन्दा निकै ननिको मानेकी थिएँ।  

‘केटाको उमेर ३० वर्षको भएर के भयो त, आइमाईको शरीर एउटा बच्चो पाए’सि बूढो देखिन्छ,’ फुपूको यो कुरा सुन्दा मेरो मुटुले ढ्यांग्रो पिटेको थियो, म डाँको छाडेर रोएँ।  

‘थुक्क, यो असत्ती अलच्छिनी, यस्तो राम्रो घराँ पर्दा नि कुकुरको मुत किन निकालेर मरिछे,’ फुपूले कराएपछि गोठमा भएकी आमा दगुर्दै आएर मलाई मुसार्दै फकाएकी थिइन्।  

बाले धेरै दिन अलमल नगरी मेरो बिहे गरिदिए। मेरा तीन दाजुमध्ये जेठा दाजु अरब र माइला दाजु भारत गएका थिए। सान्दाजु पाटीमा हिँड्थे– ‘देश बनाउने हो, सबै समान बनाउने’ भन्थे। मेरी दिदी ठुल्नानी बिरामी थिई, र पनि ज्वरोले काम्दै आएकी थिई, म दुलही भएको हेर्न। उसको बिहे भएकै वर्षदेखि बच्चा खेर जान्थ्यो। शरीर धान्न नसक्ने भए पनि मसँगै रुन आएकी थिई, झन्डै एक दिनको बाटो हिँडेर।  

‘सानै उमेरमा मेरो बिहे गर्देर मेरो यो हालत भएर तिमीहरूलाई पुगेन ? यसलाई पनि मार्न आट्यौँ,’ ठुल्नानी रुँदै बासँग कराई। ऊ रोएको बाहिर बजेको पञ्चेबाजाको आवाजले गर्दा कसैले सुनेनन्। अन्ततः मेरो बिहे भयो, १५ वर्षकै उमेरमा। बिहे भएपछि थाह पाएँ, म त दोस्री श्रीमती रहिछु। कलिलो उमेरमा सुत्केरी हुँदा धेरै रगत बगेर आमा र बच्चा दुवैको ज्यान गएको रहेछ, त्यसपछि मलाई बिहे गरेका।  

बिहे भएको ६ महिनापछि म माइत गएकी थिएँ, कामले फुर्सद हुन्नथ्यो। सासुआमा ‘आङ खस्छ, काम गर्न सक्दिनँ’ भनिरहन्थिन्।  

मकै गोड्न भ्याइनभ्याई थियो, बिहानदेखि कामको चटारोमा थिएँ, खबर आयो– झट्टै माइत जानुप¥यो। खबर पाउनासाथ कसैलाई नसोधी माइत हान्निएँ। नराम्रो खबर रहेछ, मेरी ठुल्नानी अब मेरा लागि कहिल्यै आँसु बगाउन नसक्ने भइछ। माइत आएकै बेला उसले सबैलाई रुवाएर गई, सदाका लागि हामीलाई छाडेर गई।  

मैले दुई वर्षसम्म ठूलीआमासँग चियापसलमै काम गर्दै आइए पास गरेँ। गाउँबाट खबर आएको थियो– गाउँको स्कुलमा पढाउने शिक्षकको खाँचो छ। मैले गाउँ फर्केर पढाउन थालेँ। गाउँबाटै नेपाली विषयमा मास्टर सकेँ। मेरो सपना थियो, पढ्न नपाएका छोरीहरूलाई पढाउने, सीपमूलक तालिम दिने।

तुलसीको मठनजिकै ठुल्नानीलाई गुन्द्रीमा राखिएको थियो, यो त्यही गुन्द्री हो, जुन मैले पहिलोपटक बुनेकी थिएँ, ठुल्नानीका लागि। ऊ सुत्केरी भएपछि घाममा बसोस् भन्ने मेरो चाहना थियो।  

‘यसरी हो के बुन्ने, कस्तो ढंग नभकी,’ ठुल्नानी कराउँथी। त्यो चर्चर बाझ्ने थुतुनो बन्द थियो, ऊ शान्त भएर निदाएकी थिई। ठुल्नानीको त्यति बिसेक र आनन्द मोहोडा मैले कहिल्यै देखेकी थिइनँ।

ठुल्नानी नजिकै आमा बेहोस थिइन्, बा सुँक्कसुँक्क गर्दैथे। ठुल्दाजु टोलाइरहेका थिए। बिहे हेर्न नपाएका ठुल्दाजुले ठूलीको लास हेरेर बसेका थिए, एकोहोरो। ‘बौसीले सर्लक्कै भ्याएछ नि ठूले, हेर त रगत एउटा छैन,’ फूपु बर्बराउँदै थिइन्। रुँदारुँदा म गलेकी थिएँ, आमालाई अँगालो हालेर रोएँ, खुब रोएँ। ठुल्नानीलाई घाट लैजाने बेला म पनि रुँदै पछि–पछि हिँडे, फुपूले कराइन्, जान दिइनन्। त्यो रात रोएरै बित्यो।  

भोलिपल्ट घरबाट मलाई लिन आए। रोइरहेकी आमाको आँसु पुछ्न समेत पाइनँ। लोग्नेको पछि लाएर घर फर्कनुप¥यो।

मेलापात, दाउराघाँस, पानीपँधेरो, घरधन्दा– घरमा कामले एकछिन हात खाली हुँदैनथ्यो।  

माइतबाट गएका दिन केही खान मन भएन। नाक–मुख बेस्सरी सुकेको थियो, एक गिलास मनतातो पानी पिएर सुत्ने कोठामा गएँ।  

‘कसलाई सोधेर गइस्, कसलाई भेट्न गैथिस् ?’ उसको बोलीले एकछिन थामिएका मेरा आँसु बरर्र खसे, चित्त दुखेर हैन, ठुल्नानीलाई सम्झेर।  

‘ठुल्नानी !’ मैले यति भन्दानभन्दै उसको जब्बर हात मेरो गालामा बज्रियो, ‘बर्ता बोल्छेस्। उता फर्की, के भिरेकी यो खास्टो, खोल छिटो।’  

मभन्दा दोब्बर उमेरको त्यो दानवरूपी लोग्ने भनाउदोले मलाई लुछ्न सुरु ग¥यो। म केही गर्न सक्दिनँथेँ, बस चुपचाप यो शरीरलाई उसको धित नमरुन्जेल लासजस्तै छाडिदिन्थेँ। ऊ मेरो शरीर ब्वाँसोले मृगलाई लुछेजस्तै लुछ्थ्यो। उसले लुछेको र कोपरेको सम्झिँदा मेरो मुटु अभैm पोल्छ। बिहे गरेपछि यो सब सहनुपर्छ भन्ने थाह भएको भए, म कहिल्यै बिहे गर्दिनँथेँ, बरु बर्खाको खोलामा पसेर मर्थें।

त्यहाँ आवाज निकाल्न वर्जित थियो, आखिर म आइमाई जो थिएँ।  

पहिले त म जब्बर केटी थिएँ, ठुल्नानीलाई स्कुलमा जिस्क्याउने केटालाई मैले कक्षाकोठामा सबैको अगाडि झापट हानेकी थिएँ।  

‘तँ कति सुरी, तँलाई डर लाग्दैन ?’ ठुल्नानीले मलाई फुर्काउँथी। त्यो जब्बर र निडर भनिने केटी म, आज लोग्ने भन्नेको कुटाइ–लुछाई सहेर बसेकी छु। त्यो रात मलाई निकै चित्त दुखेको थियो। ठुल्नानीको आत्मा कति रोयो होला !

त्यो रात धेरै सोचेँ र हिम्मत जुटाएँ, ‘यस्तो किचलो सहेर त बस्न सक्दिनँ।’ भोलिपल्ट जसोतसो भागेर माइत गएँ। माइत पनि मेरो कोही रहेनछ, गएपछि चेत पाएँ।  

‘पोइले त एक–दुई थप्पर लाउँछन् नि ! स्वास्नीले सहनपर्छ, सहनै त जन्मेको,’ आमाले मलाई रुँदै भनेको यो शब्द कहिल्यै बिर्सन्नँ। एक महिनाजसो सुनेको नसुन्यै गरेर माइतै बसेँ। घरबाट लिन पनि आएनन्।  

‘ठुल्नानी बितेको महिना दिन भको थियो, उता भिनाजुले बिहे गरेछन्। कर्ममा जे लेखेको छ, त्यही हुन्छ बा, सहेर बस्,’ आमाले हिँक्कहिँक्क रुँदै भनेको सुन्दा म छोरी भएर जन्मेकामा पछुताएँ, आफ्नै भाग्य सम्झेर फेरि रोएँ। त्यही घर फर्कनुपर्छ भनेर दिएको दबाबले म टुटेकी थिएँ। म त्यो नर्कमा फर्कन चाहन्नथेँ, तर विकल्प थिएन।  

भोलि नै घर पठाउने भनी आमाले कोसेलीपातको मेसो पार्दै थिइन्। बाले मलाई छोड्न जाने कुरा थियो। म कोठामा रुँदै बसेकी थिएँ। एक्कासि मेरो कोठामा सरे (सरिता) आई। सरे हाम्री गाउँकी दिदी, उमेरले मभन्दा जेठी भए पनि बालपनकी मेरी सखी। ऊ त कस्ती राम्री, कति मोटाएकी। उसको रंगढंग देखेर म छक्क परेँ। बोल्ने तौरतरिका कति फरक।  

‘के छ तेरो हालखबर ?’ उसले सोधी।  

मैले हतपत आँसु पुछेँ।

सरेको बाबुले २४सै घन्टा रक्सी खाने र आमालाई कुट्ने गर्थे। सरेकी आमा ज्यामी काम गरेरै छोराछोरी पढाएकी थिइन्। घरझगडा बढ्दै गएपछि एक दिन सरेकी आमाले छोरा र सरेलाई लिएर सहर पसेकी थिइन्।  

अहिले सरे गाउँमा हजुरआमालाई भेट्न आएकी रहिछे। आफू सरकारी स्कुलकी मास्टर्नी भएको, भाइ पढ्दै गरेको र आमाले चिया पसल चलाउने उसले सुनाई।

आमा र भाइसँग खुसीका साथ बसेकी रहिछे। सुखदुःख जीवनमा आउँछ–जान्छ, मुख्य कुरा ऊ खुसी छे। सरेलाई देखेर आमा भक्कानिइन्, ठुल्नानीलाई सम्झेर।  

पढे–लेखेको मान्छेको कुरै फरक, म उसलाई देखेर जिल्ल परेँ।  

‘के हो स्यान्नानी तँ त हाड र मासु छुट्टिएकी रहिछिस्, अनि सानै उमेरमा बिहे गरिछस् ?’ उसको यो कुराले म झसंग भए। उसको कुराले एक्कासि मेरो लोग्ने सम्झायो। मेरो अनुहार हेरेर उसले खोई के चाल पाई।  

‘ठूलीआमा, अहिले म जान्छु है,’ यति भनेर ऊ बाटो लागी।  

त्यो रात हामी आमाछोरी केही नबोली सुत्यौँ।  

भोलिपल्ट बिहानै म सरेकहाँ गएँ, उनीहरू चिया खाँदै रहिछिन्, मलाई पनि ल्याएर दिई।  

‘के हो, यस्तो शरीरभरि नीलडाम ! पिट्छन् हो घरकाले ?’ हातमा चिया थमाउँदै उसले सोधी। मेरा आँखामा आँसु धेरैबेर अडिन सकेनन्। उसलाई अँगालो हालेर रोएँ, केही बोल्नै सकिनँ।  

‘ल बुझेँ। तेरा बा चर्का छन्, तैँले कुरा काट्न नसक्दा नर्कको जिन्दगी बिताकी रैछेस् हैन ?’  

मैले उसका कुरा सुनिरहेँ।  

‘आमासँग कुरा गर्, मसँग सल्लाह गर्ने भनेर,’ उसले भनी। म जुरुक्क उठेर घरतिर लागेँ।  

मैले जिन्दगीको चक्र बुझिनँ। के हुँदै छ, के हुने हो केही सोच्न सकिनँ। अनपढ मैले सहर गएर पनि के गर्न सकुँला र ? बिहे भए पनि त्यो दानवसँग बस्न सक्दिनँ। दिनभरि आमासँग कुरा गर्न खोेजेँ, तर सकिनँ। रातभर छटपटिएँ।  

भोलिपल्ट बिहानै आमा र म खेतमा गएका थियौँ। त्यतिबेला मैले कुरा गरेँ।  

‘के भनेकी ?’ आमा झसंग भइन्।  

‘सरेको आमाले साथ दिएर आज त्यो मास्टर्नी भकी छ, तिमीले मलाई साथ दिन्नौँ,’ आमाको आँखामा आँखा जुधाएर बोलेँ। हातमा समातेको कुटोसँगै आमा फल्यात्तै भुइँमा बसिन्। आमालाई मैले गलाउन खोजेकी थिइन्, मात्र केही गर्छु भनेकी थिएँ। आमाले कहिल्यै सोचेकी थिइनन्, यस्तो दिन आउँला भन्ने। आमालाई मैले सरेसँगै सहर जाने र पढ्ने बताएँ। आमाको होसहवास उड्यो, तर उनका आँखामा छुट्टै चमक थिए।  

भोलिपल्ट हामी सरेको घरमा गयौँ।

‘मेरो पनि तेरोजस्तै सानै उमेरमा बिहे गरिदिने भनेका थिए, तर आमाको साथले आज म मेरो रोजाइको जिन्दगी बाँच्न पाएकी छु,’ उसले आमालाई पुलुक्क हेरी। आमाले उसको कुरा एकटकले सुनिरहिन्। म केही बोलिनँ।  

‘जिन्दगीमा संघर्षबिना केही सम्भव छैन। त्यसको लागि आँट गर्नैपर्छ’ सरेको कुरा सुनेपछि मेरो पनि आस पलायो।

‘सान्नानी, हिँड घर,’ आमा मलिन स्वरमा बोलिन्।  

सँगै भएकी सरे दिदी पनि उठ्दै बोली, ‘एकपटक विचार गर्नु म भोलि नै फर्किन्छु।’ सहर जान मसँग दुई विकल्प थिए– एक आमालाई मनाएर जाने। दोस्रो आमालाई नसोधी भागेर जाने।  

खाना पकाउने मेसो गर्दै आमा भान्छामा पसिन्। म भने सोचेर बसेँ।  

‘आमा म भोलि सरेसँगै जान्छु नि,’ आमालाई भनेँ। ‘तँलाई पठाको बाले छुस्स मात्र थाह पाए भने मलाई मार्छन्, तर तँ खुसी छस् भने...’ आमाले मलिन स्वरमा भनिन्।  

आमालाई गर्लम्म अँगालो हालेँ। खुसी थिएँ, तर मनमा डरको भारी थियो। के गर्ने, कसो गर्ने, सोच्दासोच्दै निदाएँछु। बिहानै बा नउठ्दै सरे दिदीकहाँ जाने आमासँग सल्लाह भएको थियो। आमाले एक बोरा चामल, दाल, पिठो बोकेर बाटोसम्म पु¥याउन आइन्। हातमा खर्च राखिदिइन्। आमाका आँखा आँसुले भरिएका थिए।  

सरे दिदीले सम्झाइबुझाई गरी भर पारेपछि आमा ढुक्क भइन्। छुट्नुअघि मैले आमालाई अँगालो हालेँ– बाँचे फर्कौंला, मरे माटामा भन्दै।  

केही घन्टा हिँडेपछि गाडी आउने ठाउँमा पुग्यौँ। बसको सिटमा बस्दै गर्दा घरको आँगन, आँगनमा राखेको टौवा सम्झिएँ। आमालाई छाडेर म एक्लै बजारसम्म गएकी थिइनँ। छोरीले जन्म लिएको घर माइत हुन्छ, श्रीमान्को घर उसको भन्ने समाजमा मेरो कुनै घर थिएन। थियो त, आफ्नै संसार बनाउने सपना।  

गाडी आफ्नो रफ्तारमा थियो, तर मेरो मस्तिष्कमा भने मेरी आमाको अनुहारले बिझाएको थियो। आमाको जुनी गोठ र भान्छा गर्दै सकियो। बा पनि अचेल पहिलाजस्तो जरकफरक गर्दैनन्। ठुल्नानी बितेपछि उनी चुपचाप नै बस्छन्। ठुल्दाइ कतारबाट त फर्किए, तर सुस्त मनस्थितिका भएका छन्। कसैसँग केही बोल्दैनन्, टोलाएर बस्छन्। माइला दिल्ली पसेका हुन्, म सानै हुँदा अझसम्म पत्तो छैन। पाटीमा हिँडेको कान्छो ६ महिना वा वर्ष दिनमा घर झुल्किन्छ। बा जेठा दाजुसँग मात्र बोल्छन्। अरु छोरा मरे भन्दै हिँड्छन्। सान्दाजुले मेरो बिहे हुनेबेला थाह पाएनन्। मेरो बिहे भएको दुई महिनापछि घर आएर बालाई झपारेछन्। बाझाबाझ भएपछि सान्दाजु घर नआएको भन्थिन् आमाले। घर छाडेर हिँड्दा मुटु कुँडिएको थियो।  

यति गाह्रो त बिहे भएर अन्मँदा पनि भएको थिएन। मन भारी भएको थियो, आमा–बाको याद आयो। एक मनले बसबाट ओर्लन मन लाग्यो, फेरि त्यो दानवलाई सम्झेर मन बलियो पारेँ।  

‘केही वर्ष त हो, म मेरो सपना पूरा गछु। संघर्ष गर्छु। दिन राम्रो भएपछि आमालाई नै सहरमा लैजान्छु। बा आउन मानेछन् भने बालाई नि सँगै राखौँला,’ आफैँलाई सम्झाएँ। कल्पँदाकल्पँदै भुसुक्कै भएँछु।  

‘कलंकी, कलंकी...!’ हो हल्लाले मेरो निद्रा खुल्यो।

‘तँ मज्जाले सुतिस्, यहाँ आफूलाई पटक्कै निद लागेन,’ सरे दिदी बोली, ‘उठ्, अब ट्याक्सीमा जानुपर्छ।’

काठमाडौं सहर, घरैघर, सडकमा गाडी र मान्छेको भीड, मैले कहिल्यै सोचेकी थिइनँ, म यो ठाउँ आइपुग्छु भनेर। म कहाँ आइपुगेँ ? अलमलमै थिएँ। सरेदिदीले सेतो रंगको सानो गाडी बोलाई, हामी त्यसमै बस्यौँ।  

‘पाटन रोक्नु है,’ गाडी घुइँकियो। एकछिनमा सरेदिदीको कोठा पुगियो। सरेदिदीकी आमा घरमै हुनुहुँदो रहेछ।  

‘ठूलीआमा, नमस्कार।’ मैले सरेदिदीकी आमालाई ठूूलीआमा भन्थेँ।

‘सानो छँदा देखिथेँ, कति छिटै ठूली भैसकी छ त,’ ठूलीआमाले भनिन्, ‘यस्ता बालखालाई बिहे गरिदिएछन्, अब पुराना कुरा बिर्सेर लेखपढ गर्ने।’  

मेरी आमाभन्दा पाकी उमेरकी ठूलीआमाले गरेको विद्रोहले आज सरेदिदीको जिन्दगी बनेको छ। मैले त्यहीबेला महसुस गरेँ, छोरीको सफलताको पछाडि आमाहरूको त्याग र विश्वास हुन्छ भन्ने। नत्र त छोरी मान्छेलाई निर्धारण गरिएको खोक्रो मूल्य–मान्यता र संस्कारको नाममा तोकिएको नियम बाधक नै हो। ठूलीआमाको चेतना केही फराकिलो भएको मैले महसुस गरेँ। जिन्दगीले अनेकन् पाठ सिकाउने रहेछ।

म नौ कक्षामा भर्ना भएँ। बिहानको स्कुल थियो। दिनभरि ठूलीआमासँग चिया पसलमा काम गर्थें। बिस्तारै साथीसंगी चिनजान हुन थाल्यो। मभन्दा कति दुःख पाएका साथीहरू भेटेँ। आमालाई भेट्न मन लागे पनि दुई वर्ष गाउँ नगई पढेँ र एसएलसी सकेपछि गाउँ गएँ।  

बा रिसाएका थिए, तर मनाएँ। अरु दुई वर्ष पढेर गाउँ फर्कने वाचा गर्दै पुनः सहर आएँ। सरेदिदीको बिहे भयो। आफूले रोजेको, हित्तचित्त मिलेको भिनाजुसँग, ऊ खुसी थिई, बिहेपछि पनि आमासँगै बस्थी, एउटै घरमा।  

मैले दुई वर्षसम्म ठूलीआमासँग चियापसलमै काम गर्दै आइए पास गरेँ। गाउँबाट खबर आएको थियो– गाउँको स्कुलमा पढाउने शिक्षकको खाँचो छ। मैले गाउँ फर्केर पढाउन थालेँ। गाउँबाटै नेपाली विषयमा मास्टर सकेँ। मेरो सपना थियो, पढ्न नपाएका छोरीहरूलाई पढाउने, सीपमूलक तालिम दिने।  

२९ को हाराहारीमा हिँड्दै थिएँ। घरभन्दा समाजले कुरा काट्थ्यो– उमेर जान लाग्यो, दोस्रो बिहे गरेकी छैन, यत्तिकै बस्न आँटी कि सहरतिर नाठो राखेकी छे ! जीवनको भागदौडमा मैले मेरो भुपु श्रीमान्लाई बिर्सेकी रहिछु। एक दिन आमा र म बजार गएका थियौँ, ऊ पसिना पुछ्दै सामान बोक्ने रिक्सा चलाइरहेको थियो। मैले हेरेँ, तर उसले मलाई हेरेन, सायद ऊ आफ्नै रफ्तारमा थियो।  

मैले गाउँका महिला दिदीबहिनीसँग मिलेर ‘मायाको संसार’ नामक संस्था खोलेकी छु, जसले पढ्न नसकेका छोरीलाई पढाउँछ। सिलाइबुनाइको तालिम दिन्छ, अनि सरकारी निकायलाई झकझकाउने काम पनि गर्छ।  

मैले गाउँदेखि नजिकै बिहे गरेँ। उनी सिलाउने काम गर्छन्, खासै पढेका छैनन्, तर मलाई माया गर्छन्। हाम्र्रो भेट ‘मायाको संसार’ संस्था हाँक्ने सिलसिलामै भएको हो, जहाँ उनले सिलाइकटाइको प्रशिक्षण दिन आउँथे।  

एक दिन मेरा श्रीमान्ले ‘मायाको संसार’ अफिसमा एउटी छोरी लिएर आए।  

भने, ‘मैले एउटी छोरी ल्याएकी छु, यसलाई पढाउनुप-यो।’

ऊ ६–७ वर्षकी देखिन्थी, झट्ट हेर्दा मायालाग्दी थिई, निर्दोष पनि।

मैले सोधेँ, ‘छोरीको नाम के हो ?’

‘सपना।’  

आमाको नाम ?

‘राममया।’

बुवाको नाम ?

उसले ढोकातिर हेरी।

ढोकामा मेरो पहिलो श्रीमान् उभिएको थियो।
०००

प्रकाशित: २४ श्रावण २०७७ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App